नेपालले आफ्नाे विदेश नीतिमा असंलग्न परराष्ट्र नीति अवलम्वन गरेको भन्ने कुरा खड्गप्रसाद ओली नेतृत्वको वर्र्तमान सरकारलाई थाहै नभएको जस्तो व्यबहार प्रदर्शन भइरहेको छ । राष्ट्रवादी खोल ओढेका ओलीले सीमा जस्तो गम्भीर विषयमा देखाएको गरैजिम्मेवापूर्ण हर्कतले उनको असली रुप उजागर भएको छ । हरेक राष्ट्रिय मुद्धामा जनतालाई भ्रम पार्दै आएका ओली यो विषयमा भने जनता झुक्याउन असफल भएका छन । सत्ता बचाउन चीनसंग लम्पसार भइसकेका ओलीको बारेमा धेरै कुरा गरिरहनै परेन । घाम जत्तिकै छर्लङ्गै छ ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि नयाँ नक्सामा समेटेर जारी गरेपछि भूमि फिर्ता ल्याउने गृहकार्यबाट ओलीपछि हटेका छन । संसदबाट पास भएको नेपालको नयाँ नक्सा पाठ्यपुस्तकमा नराख्न प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि नयाँ भूमि फिर्ता र नयाँ नक्सा कार्यान्वयनको ढोका आलीले बन्द गरेर भारतसंग पनि घुडा टेकेका छन । तर, उनले आफूलाई भारत विरोधीको रुपमा चित्रित गर्न भने छाडेका छैनन । भारतसंग तर्सिएका ओली अहिले चीनको शरणमा छन । भारत र चीनसंगको सन्तुलित कुटनीति सम्वन्ध कायम गर्न ओली पूर्णत असफल देखिएका छन । जसका कारण वर्तमानमा मात्र होइन, दूरगामी रुपमा पनि असर पर्ने निश्चित छ । वर्तमान प्रधानमन्त्री ओलीको व्यक्तित्व र क्षमातले दुई छिमेकी मुलुक भारत–चीनबीच सुन्तुलित सम्वन्ध राख्ने ओज कायम गर्न सकेन । त्यो ल्याकत प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालले राख्नु भएको थियो । उहाँले चीनसंग कूटनीतिक पहल परेर भूमि नै फिर्ता ल्याउनु भएको ज्वलन्त उदाहरण छ । कूटनीतिक डाइलग कसरी गर्ने भन्ने कुरा वीपीबाट सिकेर वर्तमान सरकार अघि बढ्दा चीनले अक्रिमण गरेको भूमि फिर्ता ल्याउने ढोका खुल्छ । यो सरकारसंग निर्भर विषय हो ।
नेपालकोे असंलग्न परराष्ट्र नीतिको सम्वन्धमा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले पष्टरुपमा व्याख्या गर्नु भएको थियो । प्रतिनिधिसभाको जेठ २०,२०१७ को बैठकमा प्रधानमन्त्री वीपी कोइरालाको वक्तव्य मननीय छ ।
उहाँले भन्नु भएको छ तटस्थताको अर्थ भारत र चीनको विषयमा मात्र अर्थ होइन, तटस्थताको अर्थ दुई पक्षमा बाँड्ने सामरीक गुटको पक्षमा नलागेर प्रत्येक प्रश्नको गुणदोष विचार गरेर अपनाउनु हो ।
व्यापक दृष्टिमा दुवै गुटमा नलाग्ने हो । कुनै घटना भएमा सेक्युरिटी काउन्सिलमा एक गुटमा लाग्नेले सजिलै आँखा चिम्लेर समर्थन गर्छ तर दुबै गुटमा नलाग्ने अन्तर्राष्ट्रिय मैत्री, विश्वशान्ति र आफ्नो देशको प्रतिष्ठा बढ्ने काम गर्छ । चीन र भारत दुई हाम्रा छिमेकीमा नराम्रो सम्बन्ध हुनु ठीक छैन ।
यो नेपाल चीनको सीमा बिवाद अहिले कसरी आयो भने हालै हुम्ला जिल्लाको नाम्जा गाउँपालिका अन्तर्गत एक क्षेत्रमा चीनले ११ वटा भवनहरु बनाएको भन्ने सोही गाउँपालिकाका अध्यक्षले हुम्ला जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी र नाम्खा गाउँपालिकाको अध्यक्षको टोलीले नेपालको भू–भाग अतिक्रमण गर्दै ११ वटा भवन बनाएको सम्बन्धमा सार्वजनिक भएपछि हुम्लाका प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रतिनिधि समेतको टोलीलाई गृहमन्त्रालयले खटाएको मात्र के थियो,परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र पछि गृहमन्त्री रामबहादुर थापाले समेत नेपालको भू–भाग अतिक्रमण गरेको छैन, चीनले आफ्नै भूमिमा बनाएको भन्ने अभिव्यक्ति दिए । तत्कालै नेपालका लागि चिनीया राजदूतले नेपालको भूमि चीनले मिचेको छैन भनी बिज्ञप्ती जारी गरे । सरकारले खटाएको टोलीको प्रतिवेदन आउनु अगावै मन्त्रीको भनाई आएपछि टोलीको प्रतिवेदन लुकाइयो । त्यसपछि चीन सरकारको मुखपत्र ग्लोबल टाईम्समा चीनका लागि नेपालका राजदुत महेन्द्रबहादुर पाण्डेको लामो अन्तर्वार्ता प्रकाशित भयो ।
नेपाल चीनको सीमा विवादको सम्बन्धमा भारतसँगको कालापानी क्षेत्रको सीमा बिवादको बारेमा उनले भनेका छन्, ‘सन् १९६२ मा भारत र चीनको बीचमा युद्ध भएको थियो र भारत पराजित थियो, त्यतिबेला केही भारतीय सेना अस्थायी रुपमा हाम्रो भू–भागमा बसे । तर पछाडि उनीहरुले त्यो भू–भाग आफ्नो भएको दाबी गरे । त्यसैले हाम्रो समस्या यो हो । हामी सँगै बसेर समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं ।
अतिक्रमित क्षेत्रको स्थलगत अवलोकनमा पुगेका नेपाली कांग्रेस कर्णाली प्रदेशसभाका संसदीय दलका नेता जीवन बहादुर शाहीले चीनले नेपाली भूमि हडपेको दाबी गरेका छन । कांग्रेस नेता शाहीले चीनको विस्तारवादलाई सहेर बस्न नसकिने र यसलाई राष्ट्रिय मुद्धाको रुपमा उठाउने स्पष्ट पारेका छन ।
बीपी कोइरालाले नेपाल चीन वार्ताका सम्वन्धमा उल्लेख गर्दै स्पष्ट पार्नु भएको छ – चीनले सगरमाथा मात्र होइन नाम्चे बजारसम्म दावा गरेको छ भन्ने यहाँ चर्चा चलेको थियो । म चीन जाँदा त्यहाँ उनीहरुले दिएको म्याप हेर्दा माउण्ट एभरेष्टमात्र होइन त्योभन्दा दक्षिणको ४/५ माइलसम्म उनीहरूको क्षेत्र भित्र भएजस्तो लाग्यो । यहाँ आएर अध्ययन गर्दा शंका स्पष्ट भयो । पछि चाउ एन लाई यहाँ आउँदा यो कुरा भन्यौ । उहाँले तपाईले दिएको म्याप मान्छौं भनी आफ्नो म्याप फिर्ता लिएर हाम्रो म्याप स्वीकार गर्नुभएको छ । हामीले दिएको म्यापमा शिखरको ठीक बिन्दु सीमारेखामा परेको छ । यसपालिको अभियानमा पनि कुनै कुरा उठाउनु पर्ने जस्तो लागेन । हाम्रो म्यापमा सगरमाथालाई सीमा देखाइएको छ । अब चुचुरो कसको हो भन्ने मात्र हेर्नु छ । उत्तरको बाटो उनीहरूको हो । अघी उताबाट चढ्न हाम्रो अनुमति नलिई रहेकोले र पहिलेदेखिनै सरकारले विरोध नगरेकोले अहिले विरोध गर्नुपर्ने आवश्यकता जस्तो लागेको छैन । मित्रताको आधारमा समस्याको समाधान हुँदै छ ।
यस्तै प्रतिनिधिसभाको जेठ २०,२०१७ को बैठकमा चीनमा प्रकाशित सन् १९५४ को भू–गोलमा सगरमाथा उनीहरूको भन्ने जो लेखिएको छ भनियो , त्यो त कुनै किसिमको प्रमाण होइन । एकतर्फी प्रमाण हुन सक्दैन । प्रधानमन्त्री बिपीले आफ्नो चीन भ्रमणका क्रममा कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्सेतुङसँग भेट्ने इच्छा राखे पनि समय मिलिसकेको थिएन । मध्यरातमा माओ त्सेतुङसँग भेट भयो । तेहि बेला माओले सगरमाथालाई दुवै देशको साझा चुचुरो बनाउन प्रस्ताव गरे । माओले भने यसलाई मितेरी चुचुरो बनाउँ । बिपीले भनेका थिए , चिनियाँ नाम चोमोलुङ्मा र नेपाली नाम सगरमाथालाई हटाएर नेपाल चीन मैत्री स्मारक राखौं भन्ने माओको प्रस्ताव थियो । हामीले मानेनौ । चीनले पेश गरेको नक्सामा सगरमाथा चीनको सीमा भित्र परेको थियो । बीपीले असहमति जनाउँदै भने यो त हाम्रो देश भित्र छ । कसरी साझा चुचुरो बनाउने ? माओले सोधे तिम्रो देशमा पर्छ कसरी भन्ने ? नेपाली नाम त छैन । बीपीले तत्काल भने नेपाली नाम छ हामी सगरमाथा भन्छौ । चिनियाँहरूको नाम पनि त छैन, चोमलुङ्मा तिब्बती नाम हो । भ्रमणका अवसरमा दुई देशबीच सीमांकनको टुंगो लगाउन दुबै देशका बराबर सदस्य रहनेगरी संयुक्त टोली बनाउने सम्झौता भयो । चीनले सगरमाथा आफ्नो भाग भित्र परेको नक्सा पेश गरेकै थियो । टुगो लाग्नुअघि सहमतिमा भनिएको थियो नेपाल र चीन सीमाको दुवैतर्फ २ किलोमिटर इलाकासम्म सशस्त्र ब्यक्ति अब उपरान्त पठाइने छैन । सिर्फ प्रशासकीय ब्यक्ती र गैह्रसैनिक प्रहरीमात्र राखिनेछ । संयुक्त सीमा समितिबाट यसको टुंगो गाउनुपर्छ ।
सगरमाथामा चीनले दाबी गरेको विषयलाई लिएर बहस चलिरहदा चीनका प्रधानमन्त्री चाउ एनलाई नेपाल भ्रमणमा आए । फर्किने अघिल्लो दिन प्रधानमन्त्री चाउ एन लाईले पत्रकार सम्मेलन आयोजना गरे । त्यहाँ भारतीय पत्रकारहरुले नेपालसँगको सीमा समस्या समाधान भयो ? भनेर प्रश्न गरे । भारतीय पत्रकारहरूलाई चाउले भने नेपालसँग हाम्रो त्यस्तो कुनै समस्या छैन । नेपाल एउटा सानो मुलुक हो । हामीसँग त्यत्रो विशाल क्षेत्रफल छ । केही सय वर्गमाईल नेपालले लियो भने पनि हामीलाई फरक पर्दैन । चीनका प्रधानमन्त्रीले भनेका थिए हामीले आफ्नो नक्सा फिर्ता लिएर नेपालको नक्सा स्वीकार गरिसक्यौं ।
राजदूत पाण्डेले अध्यक्ष माओ त्सेतुङ र प्रधानमन्त्री चाउ एन लाइले नेपाल चीन सीमा बिवाद समाधान गरेको भनी अन्तरवार्तामा भनेका छन । पाण्डेलाई इतिहास मेट्न निम्न स्तरमा कलुषित सोचले ग्रस्त पारिएको छ । नेपालको परराष्ट्र मन्त्री भइसकेका हाल चीनका लागि राजदूतले देशको असंलग्न परराष्ट्र नीति र इतिहासले प्रमाणित गरेको नेपाल चीन सीमा विवाद चिनियाँहरुले समाधान गरी दिएको जस्तो भनाइ अन्तर्वार्तामा छ । चिनियाँको भक्तिभाव भारतसँगको सीमा विवादका सम्बन्धमा पनि बीपीको भनाईलाई कुनै अर्थ मतलब राखिएको छैन । यो राजनीतिक पूर्वाग्रहको निष्कृष्ट नमुनाबाहेक अरु के हुन्छ ?
सोही अन्तर्वार्तामा नेपाल र भारत सीमा सन् १९६२ मा भारत र चीनको बीचमा युद्ध भएको थियो र भारत पराजित थियो, त्यतिबेला केही भारतीय सेना अस्थायी रुपमा हाम्रो भू–भागमा बसे । तर पछाडि उनीहरुले त्यो भू–भाग आफ्नो भएको दाबी गरे । त्यसैले हाम्रो समस्या यो हो । हामीसँगै बसेर समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं ।’ यो भनाईले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि प्रश्न चिन्ह लाग्दैन ?
भारतले नेपालको लिपुलेख, कालापानी आफ्नाे नक्सामा समावेश गरी सडक बनाएको हो र यो भारतको विस्तारवादी नीतिको ज्वलन्त उदाहरण हो । यसरी नेपाली भू–भाग कव्जा गरेपछिको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखमा भारतीय सैनिकहरुलाई सम्वोधन गर्दै चीनले भारतको भूमि कव्जा गरेको छ र यो चीनको विस्तारवादी हर्कत हो भनेका छन । आखिर चीन र भारत दुबै बिस्तारवादी मुलुक हुन । चीनले तिव्वत आप्mनो कव्जामा लियो भने भारतले सिक्किम निल्यो । भारतले नेपालको सुस्ता र कालापानी लगायतका सीमा क्षेत्र कव्जा जमाएको बिषयमा नै नेपाल भारतको सरकारी स्तरमा प्रबुद्ध समुह गठन भएको सो समुहले प्रतिवेदन तयार गरेको भारतीय प्रधानमन्त्रीले प्रतिवेदन बुभ्mन आलटाल गरेको बिषय गम्भीर हो । प्रतिवेदन नबुझी कालापानी आप्mनो नक्सामा समावेश गर्ने कुटील चाल रहेको कुरा घाम जस्तै छर्लङ्ग छ । हुम्लामा पनि चिनियाहरुले गरेको यस्तै कर्तुत हो ।




