ताजा समाचार

बाबुरामलाई प्रमाण सार्वजनिक गर्न कांग्रेस प्रवक्ता शर्माले दिए चुनौति

बाबुरामको अभिव्यक्तिमा कांग्रेसको गम्भीर ध्यानाकर्षण

काठमाडौं । बुढिगण्डकी जलविद्युत परियोजनाको कमिसनका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतको संलग्नता रहेकोे भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएकोे अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘म संग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न डा. भट्टराईलाई चुनौती दिएका छन । प्रवक्ता शर्माले भनेका छन तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित ब्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं ।

भट्टराईले बुढीगण्डकी बारे ज्वलन्त प्रश्न सम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा परेको कांग्रेसको प्रवक्ता शर्माको आरोप छ । यस विषयमा कांग्रेसले प्रमाणको दाबा पुष्टि गर्न चुनौति सहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील गरेको छ ।

वर्तमान सरकार बनेपछि बुढिगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणप्रति नेपाली कांग्रेसले सार्वजनिक रूपमा निरन्तर रुपले कडा विरोध गर्दै आएको प्रवक्ता शर्माले जनाएका छन । उनले ०७५ असोज २१ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले बुढिगण्डकी परियोजना प्रकरण बारे गरेको निर्णय नं ४ मा भनिएको कुरा समेत सप्रमाण पेश गरेका छन ।

निर्णय नं ४, (क)
बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले गरेको थियो । त्यसका लागि नेपाली जनताको लगानी सहभागिताको प्रकृया समेत आरम्भ भई अरबौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय तर्फ अघि बढ्नुलाई नेपाली कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको छ ।

निर्णय नं ४, (ख)
कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रकृया हुन्छन् र छन् । तर कुनै प्रकृया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ ।

निर्णय नं ४, (ग)
नेपाली कांग्रेसको यो बैठक बुढी गण्डकी परियोजनाका बारेमा सरकारले लिएको अपरिपक्व निर्णयले यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षडयन्त्रप्रति आम जनसमुदायमा सुसूचित गर्दै सजग रहन अपील गर्दछ ।

निर्णय नं ४, (घ)
स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाइनु पर्छ भन्ने नेपाली कांग्रेसको माग रहेको छ ।

केन्द्रीय कार्यसमितिको निर्णयकै जगमा पार्टीको पछिल्लो महासमिति बैठकले पनि ‘बुढिगण्डकी परियोजना स्वदेशी लगानीमै बन्नुपर्ने’ पार्टीको अडान दोहो¥याएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *