प्रदेश राजधानी नरहेपछि अब बुटवलको हालत के होला ? भन्ने चिन्ता सुरु भएको छ । मुलुक संघीय संरचनामा गए सँगै प्रदेश ५ को अस्थायी राजधानी कायम गरिए पछि बुटवलको आकर्षण ह्वात्तै बढेको थियो । स्थायी राजधानी बुटबलमै हुने अनुमानका साथ घर घडेरी किन्न मानिसहरुको ओहिरो लागेको थियो । जग्गाको भाउ ह्वात्तै बढेको थियो । तर प्रदेश सरकारले भौगोलिक रुपमा पायक पर्ने स्थान राप्ती उपत्यकामा स्थायी राजधानी बनाउने निर्णय गर्यो । यो निर्णय पछि बुटवलको आकर्षण घट्ने त होइन ? भन्ने चिन्ता एक थरीको छ भने अर्काथरीले राजधानी नरहँदैमा बुटवललाई केही फरक नपर्ने तर्क राखेका छन् । बास्तवमा यी दुवै तर्क आफ्नो ठाउँमा सही छन् ।
मुलुकका अधिकांश बजारहरु सरकारी कार्यालय रहेकै कारण शहरमा परिणत भएका हुन् तर बुटवलमा भने व्यापार व्यवसाय तथा धेरै मानिसलाई पायक पर्ने बजार भएका कारण शहरीकरण सुरु भएको हो । बुटवल भन्दा भैरहवा पुरानो शहर पनि हो । व्यापारिक नाका पनि हो । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा हो । विमानस्थल पनि भैरहवामै छ । तर भैरहवालाई शहरीकरणमा बुटवलले उछिन्यो । यसको कारण धेरैको पायक पर्ने व्यापारिक जक्सन भएर नै हो । जिल्ला सदरमुकाम नभए पनि लुम्विनी अञ्चल सदरमुकामका कारण बुटवलमा शहरीकरण भएको तर्क पनि आफ्नो ठाउँमा छ । तर अञ्चल सदरमुकामका सर्वसाधरण जनताको सरोकार हुँदैनथ्यो ।
राणाकालको अन्तिम समयसम्म पनि राजधानी काठमाडौं पछिको दोस्रो ठूलो शहर थियो पाल्पाको तानसेन । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको निर्माण पछि पाल्पाको तानसेनलाई वुटवलले आँफूतिर तानिदियो । नेपालमा शहरीकरणको चरित्र हेर्दा के देखिन्छ भने जसरी शक्तिशाली (ठूलो) चुम्वकले सानो चुम्बकलाई आँफुतिर तानिदिन्छ त्यसै गरी ठूलो शहरले नजिकको सानो शहरलाई आँफुतिर तानिदिन्छ । त्यसरी नै बुटवलले तानसेन , परासी , भैरहवा, तौलिहवालाई आँफूतिर तानिदियो । अर्थात तानसेन , परासी , भैरहवा, तौलिहवा सुक्दै गए बुटवल फुक्दै गयो ।
जबसम्म नजिकै अर्को बलियो शहरको विकास हुँदैन तबसम्म बुटवल कमजोर हुँदैन । जबसम्म त्यस भेगका १० –१२ जिल्लाको आर्थिक केन्द्रका रुपमा रहन्छ तबसम्म बुटवल कमजोर हुँदैन । जबसम्म पश्चिम नेपालको सडक यातायातको जक्सन यथावत रहन्छ तबसम्म बुटवल कमजोर हुँदैन ।
वुटवल औद्योगिक नगर हो । यो नगर अर्थात वजारक्षेत्र बाटनै पूर्व–पश्चिम राजमार्ग बनेको छ । सुनौली पोखरा जुन राजमार्ग लाई सिद्धार्थ राजमार्ग नाम राखिएको छ । त्यो मार्ग समेत वुटवल वजार बाटनै पाल्पा र पोखरा तर्फ गएको छ । जसको लम्वाई १८१.२२ कि.मि. रहेको छ । बुटवल ऐतिहासिक ब्यापारी केन्द्र पनि हो । यातायातको विकास नहुदा पनि बुटवल प्युठान, अर्घाखाची, पाल्पा, स्याङ्जा जस्ता जिल्लाहरुको ब्यापारीक केन्द्र थियो । धेरै ठाउका मानिस बटुलिएर बसोबास गर्ने कारणले यसको नाम पनि बटौली रहन गएको हो भन्ने भनाइ रहेको छ । बुटवलको पुरानो बजार तिनाउखोला पश्चिम तिरको भाग मात्र हो । सिद्धार्थ राजमार्ग निर्माण भएपछि अहिलेको बजार क्षेत्र क्रमिकरुपमा बिस्तार हुदै गएको छ । वि.सं.२०१६ मा बुटवल खस्यौली नगरपालिका स्थापना भएको हो । बुटवल नगर पालिका भए देखिनै यहाका धार्मीक र ऐतिहासिक स्थलहरु संरक्षण हुन थालेको हो । यहाका महत्वपूर्ण धार्मिक स्थलहरु मध्ये सिद्धबाबा प्रख्यात स्थलको रुपमा लिने गरिन्छ । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबाको मन्दिर आजभोलि धार्मीक स्थल मात्र नभएर बुटवल पुग्ने पर्यटकहरको लागी समेत गनतव्य स्थलबनेको छ । बुटवलका ऐतिहासिक स्थलमा रामपिथेकस अवशेषस्थल, जीतगढी किल्ला, मणिमुकुन्द सेन दरवार र पर्यटकीय स्थलमा मणिमुकुन्द सेन उद्यान, हिल पार्क, सिद्धबाबा धाम र पद्म चैत्य विहार रहेका छन् ।
सन् १८१४ ताका तत्कालिन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेज फौजसंगको युद्धमा पाल्पालाई विजयी गराउन युद्ध गरेको यो स्थान अहिले बटवलमा पर्यटनस्थको रुपमा विकास हुन थालेको छ । १६ औ शताब्दीमा निर्माण गरिएको यो गढी किल्ला वीर कर्णेल उजिरसिंह थापाको नेतृत्वमा अंग्रेज फौजका विरुद्ध विजय प्राप्त गरेपछि जितगढीमा परिणत भएको इतिहास छ । बाइसी र चौबीसे राज्यको उदयपछि १६ औ शताब्दीतिर यस क्षेत्रमा सेनहरुको विशाल राज्यको स्थापना भयो । यो राज्यलाई नै नेपालको इतिहासमा पाल्पाको समृद्ध सेन राज्य भनेर प्रसिद्ध मानिन्छ । सेन वंशीय प्रथम राजा मुकुन्द सेनले राज्य विस्तार गर्नेक्रममा बुटवललाई समेत विस्तार गरेका थिए । यसैबेला उनले बुटवल क्षेत्रमा अन्य थुप्रै भौतिक संरचनासगै यो गढी पनि निर्माण गरे । विसं १९६३ मा पृथ्वीपाल सेनको राज्यकालमा भीमसेन थापाले अमरिसंह थापाको नेतृत्वमा पठाएको फौजको सहायताले पाल्पा राज्य विजय गरेर लिने क्रममा सेन राजाको अधिनमा रहेको बुटवल क्षेत्र पनि एकीकृत नेपाल राज्यमा गासिएको इतिहास छ ।
बुटवलको भविष्य मापन गर्न मुख्य रुपमा तीन प्रश्नको उत्तर खोज्नु पर्छ ।
१. बुटबल नजिकै अर्को ठूलो र सशक्त शहरको विकास हुन्छ कि हुन्न ?
लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सँगै भैरहवामा ठूलो चहल पहल सुरु भइसकेको छ । एक दर्जन तारे होटल सहित पर्यटकीय प्रयोजनका करिव पाँच सय होटल भैरहवा क्षेत्रमा खुलिसकेका छन् । लुम्विनी विश्वविद्यालय भैरहवामा बन्दैछ । हुलाकी राजमार्गको निर्माण सम्पन्न भए सँगै नवलपरासी जिल्ला सदरमुकाम परासी र कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा फराकिलो सडकले भैरहवा सँग जोडिएको छ । यसैगरी पूर्वपश्चिम राजमार्गको भुमहीबाट भैरहवासम्म ३४ किलोमिटर लामो र गोरुसिंगेबाट ५३ किलोमिटर लामो सडकले भैरहवा जाडिसकेको छ । हिँजो जसरी भैरहवालाई बुटवलले तानेको थियो , अब त्यसरी नै भैरहवाले बुटवललाई तान्ने संभावना बढेको छ ।
२. अहिले जस्तै सडक यातायातको जक्सन रहन्छ कि रहन्न ?
बुटवलको मुख्य राज भनेको पुर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको जक्सन हो । मेचिदेखि महाकाली जाने आउने सवारी साधन र सुनौलीदेखि पोखरा जाने आउने सवारी साधन भेट हुने ठाउँ भनेको बुटवल हो । उदाहरणका लागि नेपालको जुनसुकै ठाउँबाट भैरहवा जानु पर्दा बुटवल नपुगी हुँदैन । पश्चिम नेपालको जुनसुकै ठाउँबाट पोखरा, भैरहवा तथा त्यस पूर्वका ठाउँमा जान वुटवल नपुगी हुँदैन । त्यसैगरी प्रदेश १ , २ , वाग्मती र गण्डकी प्रदेशबाट कर्णाली , सुदुरपश्चिम र लुम्विनी प्रदेश जानु पर्दा बुटवल नटेकी हुँदैन । नेपालको कुनै पनि ठाउँबाट भगवान गौतमवुद्धको जन्मस्थल लुम्विनी जानु पर्याे भने बुटवल नटेकी हुँदैन, तर यो अवस्था कति वर्ष रहला ? विकासको गति अहिलेकै ढंगले अघि बढ्ने हो भने बुटवल कुनै पनि राजमार्गको जक्सन रहँदैन । बुटवललाई नै गन्तव्य बनाउने यात्रु बाहेक अरु ठाउँमा जानका लागि अब पाँच वर्ष पछि बुटवल टेक्नु पर्दैन । उदाहरणका लागि पूर्व पश्चिम राजमार्गमा पर्ने नवलपरासीको भूमहीबाट भैरहवा, तौलिहवा हुँदै चन्द्रौटा सम्म चारलेनको सुविधासम्पन्न सडक सम्पन्न हुनै लागेको छ । भूमहीबाट बुटवल भएर चन्द्रौटा पुग्नु भन्दा भैरहवा–तौलिहवा भएर चन्द्रौटा पुग्न २० किलोमिटर छोटो हुन्छ । त्यसैले पूर्वपश्चिम राजमार्गका यात्रुले अब बुटबल टेक्नु पर्दैन । यसैगरी पश्चिम पाल्पा बाहेक मुलुकका कुनै पनि ठाउँबाट भैरहवा तथा लुम्विनी जाने यात्रुले बुटवल टेक्नु पर्दैन । अन्य भरपर्दा र छोटा विकल्प तयार भएका कारण घुम्ती नै घुम्ती भएको सिद्धार्थ राजमार्गको सान्दर्भिकता खुम्चेर अब बुटवल तानसेनमा मात्रै सीमित भएको छ ।
३. अहिले जस्तै त्यस भेगका १० –१२ वटा जिल्लाको केन्द्र रहन्छ कि रहन्न ?
लुम्विनी, धवलागिरि र राप्ती अञ्चलको करिव करिव पुरै क्षेत्र तथा गण्डकी अञ्चलको आधा क्षेत्रको आर्थिक जक्सन रहेको छ अहिलेसम्म बुटवल । तर प्रदेश ५ को राजधानी भालुवाङ तोकिए सँगै बुटवलको यो हैसियत समाप्त हुन्छ । अब सडक यातायात भालुवाङ केन्द्रित हुन्छन् । आज सम्म पूर्व पश्चिम छिचोल्ने एक मात्रै राजमार्ग छ, जसको मध्य विन्दु भनेको बुटवल हो । तर अब पहाडमा पनि मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्ग पूर्व पश्चिम छिचोल्ने गरी बन्दैछन् । जसले बुटवललाई चिन्दैनन् तर भालुवाङलाई भने मज्जाले चिन्छन् । भालुवाङबाट अर्घाखाँचीको जलुके, सितापुर हुँदै गुल्मी, पाल्पा र स्यांजाको संगम स्थल (कालीगण्डकी किनार) मा रहेको रिडी सम्म जम्मा ४० किलोमिटर दुरीको सडकले जोड्न सकिन्छ । रिडी भनेको काली गण्डकी कोरिडोर सडकको ज्यादै महत्वपूर्ण जक्सन विन्दु हो । यो ४० किलोमिटर सडक जोड्ना साथ स्याङ्जाको दक्षिणी क्षेत्रका लागि समेत अर्कोद्धार खुल्छ । यति मात्रै होइन सिंगो धवलागिरि अञ्चलका लागि बैकल्पिकद्धार निर्माण हुन्छ । दाङ भन्दा पश्चिमका जनतालाई पोखरा तथा काठमाडौं आवत जावत गर्न बैकल्पिक सडक तयार हुन्छ । पूर्वपश्चिम राजमार्ग ,मदन भण्डारी लोकमार्ग र पुष्पलालमध्यपहाडी लोकमार्गलाई छोटो दुरीमा जोडिदिने विन्दु भनेकै राप्ती उपत्याका हो । भालुवाङ विकास हुनासाथ बुटवल त्यस भेगका पहाडी जिल्लाको जक्सन पनि रहँदैन ।




