काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले अनियमितता गर्ने गुल्मपतिहरुलाई मूख्यालयमा फिर्ता गर्ने तयारी गरेको छ । सीमा क्षेत्रमा कडा निगरानी बढाएको बताएपनि विभिन्न कार्यालयमा अनियमितता नरोकिएको र अनियमिततामा संलग्न रहेको आरोपमा गुल्मपतिहरुलाई फिर्ता बोलाउने तयारी गरेको हो ।
सशस्त्र प्रहरी बलको केही जिल्लामा कमान्ड फितलो भएको र राशनमा समेत अनियमितता हुने गरेको रिपोर्ट मुख्यालय सम्म पुगेको थियो । नम्बर ४ गण सुनसरीका गणपति माधब पौडेलले कमाण्ड गर्न नसकेको , कर्मचारीको पिर मर्का तथा काल्याणकारी काममा ध्यान दिन नसकेको , मातहत बिओपीबाट मासिक रकम उठाएको उजुरी मुख्यालयमा पुगेपछि अहिले हल्लीखल्ली भएको छ । स्टाफ कलेज गरेको, लामो समय स्टाफ कलेजमा प्रशिक्षक बनेको गणपति पौडेल फिल्डमा भने असफल देखिएका छन् । दुई हप्ता अघि सुनसरीको भन्टाबारी हुँदै एक किशारीलाई भारत पु¥याउँदासम्म सशस्त्र प्रहरीले जानकारी पाएको थिएन ।
भारतीय एसएसबीले पक्राउ गरेर बुझाइदिए पछि एसपि पौडेलले आफैँले पक्रेको जसरी हल्ला गरेका थिए । यसैगरी पाँचथरमा कार्यरत डिएसपी किशोरकुमार श्रेष्ठले संगठनको नीतिविपरीत अधिक मात्रामा बिदा छोडेर राशनमा अनियमितता गरेको श्रोत बताउंछ । उनीसमेत कमान्ड क्षमता नभएका अधिकृत हुन् । १८ नम्बर गुल्म दोलखाका डिएसपी बुद्धिनारायण महर्जनसमेत राशनमा अनियमितता गरेको उजुरी परेको छ । उनी पनि कमान्ड क्षमता नभएका अधिकृत मानिन्छन् ।
मनाङ गुल्ममा समेत अनियमितताको उजुरी परेको छ । मनाङमा डिएसपी होमनाथ पन्थी कार्यरत छन् । गफाडी र कमान्ड क्षमता नभएका पन्थीमाथि पनि छानबिन भइरहेको छ । फौजी अनुशासनसमेत नभएका उनले ठूलो संख्यामा कर्मचारी बिदामा छोडेर राशनमा अनियमितता गर्दै आएको स्रोत बताउँछ । लकडाउनको मौका छोपेर पहाडी गुल्मबाट व्यापक मात्रामा बिदा छोडिएको र जागिर सकिन लागेका बाहिनीपतिहरु मातहतबाट आर्थिकलाभ लिन तल्लिन देखिएका छन् ।




