ताजा समाचार

मन्त्रीपरिषद पुनर्गठनमा बाधक ओली कि प्रचण्ड ?

 ? काठमाडौं । दुई सातादेखि मन्त्रीपरिषद पुनर्गठन गर्ने विषयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपनि कुरा नमिल्दा अड्किएर बसेको छ । विहिबार पनि एक आपसमा कुरा नमिल्दा मन्त्रिपरिषद पुर्नगठन लम्बिने संकेत देखिएको छ ।
मन्त्रीमण्डलमा नयाँ भित्रिने र बाहिरिनेहरुका बारेमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको अर्का अध्यक्ष प्रचण्डसँग कुरा नमिल्दा पुर्नगठनमा ढिलाई भइरहेको हो । ओली र दाहाल दुबैले आआफ्नै स्वार्थ खोजिरहेको नेकपा स्रोतले जानकारी दियो । ओली तत्काल खालि रहेका तीनवटा मन्त्रालयमा मात्रै मन्त्री थप्ने पक्षमा रहेका छन भने दाहाल अरु मन्त्रालयहरुमा पनि नयाँ अनुहार पठाउन चाहिरहेका छन । नेकपा स्रोतका अनुसार ओली र दाहालका बीच बिहीवार भएको वार्ता पनि खासै निष्कर्षमा पुग्न सकेको छैन ।
अध्यक्ष दाहालले गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री बर्षमान पुन र उनकै बुहारी तथा खानेपानी मन्त्री बीना मगर बाहेक पूर्व माओवादीका सवै मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरेको स्रोतले जनाएको छ। दाहालको यो प्रस्तावअनुसार मन्त्रिपरिषद हेरफेर भए शिक्षामन्त्री गिरिराजमणि पोखरेल, बनमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव सरकारबाट बाहिरिने छन् । प्रधानमन्त्री ओलीसँगको छलफलमा अध्यक्ष दाहालले पम्फा भुषाल, जनार्दन शर्मा, देव गुरुङ, मातृका यादवलाई मन्त्री बनाउनै पर्ने अडान लिएको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद पुर्नगठनमा दुई नेता बीच सहमति नभएका कारण प्रधानमन्त्री ओली रिक्त रहेका तीन मन्त्री मात्रै थप्ने योजनामा छन्। सञ्चारमा प्रधानमन्त्री ओलीले जनार्दन शर्मा, अर्थमा बिष्णु पौडेल र सहरी बिकासमा सुरेन्द्र पाण्डेलाई ल्याउने तयारी गरेका छन । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी एकता भन्दा पनि पहिला मन्त्रिपरिषद पुनर्गठन गर्न चाहन्छन् । प्रधानमन्त्री ओलीले हाल रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने र मन्त्रिपरिषद पुनर्गठन दशैं पछि गर्ने गरी सहमति जुटाउने प्रयास गरिरहेका छन् । तर यो विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा रिक्त मन्त्रालयमा मन्त्री नियुक्ती गर्ने कामसमेत प्रभावित बनेको छ । विहिबारको भेटले एकताको कामलाई असोज महिनाभित्रै सक्ने सहमति गरेर मन्त्रिपरिषद पुर्नगठनलाई केही परे धकेलेका छन् ।
छलफलमा पार्टीको सांगठनिक एकिकरणका बाँकी कामलाई असोज महिनाभित्रै सक्ने सहमति भएपछि पुर्नगठनको काम केही पर धकेलिएको स्रोतको दावी छ । अध्यक्षद्वयबीच सचिवालय बैठकमा भएका निर्णयहरुलाई कार्यान्वयन गर्ने र संगठन विभागले तयार पारेको कार्ययोजनालाई कार्यान्वयनमा लैजाने सहमति बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *