कला/साहित्य

भीमनिधि तिवारी : ब्यङ्यात्मक साहित्यकार

भीमनिधि तिवारी नेपाली साहित्यमा बिर्सनै नसक्ने प्रतिभा हुन् । उनको जन्म वि.सं.१९६८ फागुन मसान्तमा डिल्लीबजार काठमाडौँमा भएको हो । बाल्यअबस्थामा बालकको संसार नै उसलाई जन्म दिने आमा हुन् । आमा बिनाको संसार बालकलाई परिकल्पना गर्न कठिनता हुन्छ नै । यस्तै यस्तै परिस्थितिबाट गुज्रियो कवि तिवारीका दिनदैनिकी । मातृत्व स्नेहबाट बन्चित उनको लालन पालन समुचित रूपमा नहुँदा स्वास्थ्य बिग्रियो । पढ्न पनि पाएनन् । रोग भोगसँगै लड्दै भिड्दै अगाडि बढ्ने क्रममा कवि तिवारीको उमेर १६-१७ मा स्वास्थ्यमा अलि सुधार आए पछि पठनपाठन तिर मन लगाए । उनले काशी विश्व विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरे । लामो अन्तराल अर्थात् २००७ सालपछि स्नातकसम्मको अधुरो अध्ययन गरे । पढाईलाई बीचमै छाडे । यिनले जीवन व्यतित गर्ने क्रममा विभिन्न ठाउँमा जागिरे थिए । जस्तै :वि.स.१९९६ मा घरेलु इलम प्रचारक अड्डामा जागिरे, सोही अड्डाको प्रकाशनमा निस्कने घरेलु इलम पत्रिकाका सम्पादक, नेपाली भाषानुवाद परिषदका मास्टर, नेपाली भाषा प्रकाशिनी समितिमा ग्रन्थकार, शिक्षा विभागका शाखा अधिकृत, शिक्षा मन्त्रालयमा रजिष्ट्रार तथा प्रचार प्रसार विभागका उपनिर्देशक र गृहमन्त्रालयमा उपसचिव ।

वि.स. १९९१ पछि शारदा पत्रिकामा सूर्यघाट गद्य कविता छपाएर भीमनिधि तिवारीको नेपाली साहित्यमा प्रवेशको ढोका खोलेको देखिन्छ । तसर्थ, गद्य कविता लेखनको श्रेय उनलाई जानै पर्ने हो । तर नेपाली साहित्यमा समीक्षक÷समालोचक उक्त कुरा स्वीकार्दैनन् । वि.स.१९९२ मा गोरखापत्रमा कवि गोपालप्रसाद रिमालको कविको गायनलाई स्वीकार गर्न सक्ने तर्क समालोचक ताना शर्माले लेखेका छन् । भीमनिधि तिवारीको ‘प्रेमको परिणाम’ भन्ने गद्य पद्य शारदा पत्रिकामा १९९४ सालतिर छापिएको भन्ने भनाई छ ।

भीमनिधि तिवारीले नेपाली साहित्यका कविता, काव्य, कथा, निबन्ध, नाटक आदिमा कलम चलाई ४५ वटा कृति प्रकाशित गरे । ती हुन् : सहनशीला सुशीला (१९९५), काशीबास(१९९८), पुतली(१९९९), किसान (२००३), नैनीका राम(२००४), आदर्श जीवन (२००८), पाँच ऐतिहासिक एकाङ्की(२००८), विवाह(२०१०), एकाङ्कीपल्लव(२०११), सत्य हरिचन्द्र(२०१३), नोकर(२०१४), एकाङ्कीकली(२०२४), माटोको माया(२०२७), इन्द« धनुष(२०२७), महाराज भूपतीन्द्र(२०२८), आत्महत्या(२०३२), कवितातर्फ बयासी र बीस गजल मेरी(१९९३), कवितानन्द(२००७), बयासी भजन(२०१०), बिस्फोट(२०१८), कविताकुञ्ज(२०२०), सिंहदरवार(२०२५), तितौरा र मस्यौरा(२०२६), तिवारी सूक्ति सङ्ग्रह(२०२६), बत्तीस पुतली(२०२७), चाडपर्व(२०२७), तिवारीका अप्रकाशित कविता(२०४३), खण्डकाब्यतर्फ तर्पण(१९९४), वदूशिक्षा (२०१२), यशस्वी शव(२०१३), कथातर्फ नेपाली सामाजिक कहानी (जेठोदेखि मन्तरेसम्म दश भाग २००६–२०२५), उपन्यासतर्फ इन्साफ(२०२७) र निबन्धतर्फ पन्ध्र प्रवन्ध (२००४) ।

कवि तिवारीले नेपाली भाषा– साहित्यको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सरकारी स्तरका प्रशस्त पुरस्कारबाट सम्मानित भएका थिए । वि.स.२०१७ सालमा बिष्फोट कविता सङ्ग्रहले मदन पुरस्कार, प्रवल गोरखा दक्षिण बाहु, प्रख्यात त्रिशक्ति पट्ट, जनपद दीर्घ सेवा पदक, नेदरल्याण्डकी महारानी जुलियानबाट अफिसर अफ द अर्डर अफ अरेन्ज नासो सम्मान आदि ।

यिनले नेपाली समाजमा देखिएको सामाजिक कुरीति तथा अन्याय अत्याचारको विरूद्धमा लेखिएका नाटक, कथा र कवितामा प्रयोग भएका शब्द प्रहार निकै चोटिला देखिन्छ । त्यस्तै यिनीले लेखिएका रचनामा आगन्तुक शब्दको प्रयोग नगरी मात्र ठेट नेपाली शब्दको प्रयोग गरेको देखिन्छ । तसर्थ सर्वसाधारणको नजरमा भीमनिधि तिवारी अाँखाको नानी बन्न सके ।

नेपाली साहित्यको विविध विधामध्ये नाटक विधामा उनले धेरै कलम चलाए, त्यही अनुरूप कृति पनि प्रकाशन गरे । वि.स.१९९५ सालमा सहनशीला सुशीला पहिलो कृति हो नाटक विधाको । उनले लेखेका एकाङ्की र पूर्णाङ्की नाटकमा पौराणिक, ऐतिहासिकता झल्केका छन् । नाट्य कृतिको मुख्य विषयवस्तु सामाजिक गतिविधिको सेरोफेरो नै हुन् । नाटकको प्रारम्भदेखि अन्त्यसम्म सामाजिक कुरीति र अन्यायको उजागर गर्न नै नाटककार तिवारीको खुबी हो । विशेष गरेर ऐतिहासिक उनका सबै खाले नाटकमा अभिनय गर्न पनि सकिने देखिन्छ ।

भीमनिधि तिवारीले लामा कविता मात्रै लेखेनन् । बयासी र बीस गजल अनि बयासी भजन जस्ता थोरै शब्द भएका रचना पनि उनले लेखे । रचना लेख्ने सन्दर्भमा उनले यसो भनेका छन् । ‘‘इन्द्रायणीको, मजुरको, गुलाफको फूलको, पुतलीको कविता लेख्न मन लाग्दैन । समाज भित्र पसेर, त्यहाँको विश्लेषण गरेर जनताको मर्मस्थललाई कम्प गराउने कविता रचना गर्न सके हुन्थ्यो जस्तो लाग्छ । छन्द नहोस्, अलङ्कार नहोस्, परवाहरू नगरू, किन्तु जनजीवनको आर्तनाद होस् ।’’

आधा आकाश ढाक्ने महिलालाई दोस्रो दर्जाको रूपमा लिइन्छ हाम्रो नेपाली समाजमा । पत्नीले पतिलाई ईश्वर मान्नु पर्ने तर पतिले पत्नीलाई ईश्वरी मान्न नहुने । पत्नीको मृत्यु भएमा पतिले अर्को पत्नी ल्याउन हुने तर पति मरेमा पत्नीले अर्को पति ल्याउन नहुने ? पितृसतात्माक हाम्रो समाजमा महिलामाथि हुने व्यवहार अत्यचार भएको तर निरीह महिलाहरू आत्मासाथ गरी विवशताको जञ्जिरमा जीवन व्यतित गर्न बाध्य भएका छन् । जबसम्म पुरूष र महिलाको अधिकार समान हुँदैन, तबसम्म देशले सम्मुनत बाटोतर्फ लम्कन नसक्ने भाव कवि तिवारीले गीतको माध्यमबाट यसरी व्यक्त गरेका छन् :

हा !! संसार घोर अत्याचार !
घोर घोर अत्याचार !
पत्नीले पतिलाई निरन्तर ईश्वर सम्झनुपर्ने ।
पत्नी ईश्वरी नहुने उसकी दासी सरि घिन गर्ने ।
कस्तो यो व्यवहार !
हा !! संसार……………………..
पतिले स्त्री परलोक भएपछि नव विवाह गर्नु हुने ।
पत्नीले पति स्वर्ग भएपछि नव विवाह गर्न नहुने ।
कस्तो न्याय विचार
हा !! संसार …………
‘‘पती भक्ति’’ र ‘सतीत्व महत्व’ कैयौँ पुस्तक छन्
‘‘एक पत्नीव्रत’’ ‘‘नारी महिमा’’ पुस्तिका पनि छैनन्
कस्तो देश सुधार !
हा !! संसार……………

उक्त गीत सहनशीला सुशीला नाटकमा राखिएको तर राणा सरकारका सेन्सरवोर्डबाट कटाइएको थियो । यसको विषयमा कवि भीमनिधि तिवारी यस्तो लेख्छन् –‘‘स.२००१ मा यसको द्धितीय संस्करण हुन लाग्यो । त्यस बेला मैले फेरि नयाँ विरोधको सामना गर्नु प¥यो–प्रथम अङ्क, सप्तम दृश्यको अन्त्यमा राखिएको गीत ‘‘हा ! संसार…’’ झिक्नु पर्ने भयो । यही समितिले यो गीत प्रथम संस्करणमा पास गरिदियो, अभिनयमा त्यत्रो जनताको सम्मुख गाइयो पनि, एैले दोस्रो संस्करणमा झिकिनुपर्ने ? मैले प्रश्न गरे । कारण उही थियो । नारी–जातिमा क्रान्तिको चेतना आउने, वास्तवमा कुरो हो पनि, त्यो गीतले अभिनय कै समयमा यो नाटक हेर्न आएका सयौ नारीको ह्रदयमा दीप बलियो ।’’
अत नेपाली साहित्यमा भीमनिधि तिवारीले मात्र होइन, अन्यले पनि नाटक विधामा कलम चलाएका छन् । यद्यपि, नाटकमा मौलिक र लेखन परिपाटीको विकास आफैले नै सुरूवाती गरेको दाबी गर्दै उनले यसो भनेका छन्–‘‘ नेपाली भाषामा नाटकहरू कि त कालिदासको परिपाटीमा लेखिएका थिए कि त शेक्सपियरको अनुकरणमा । नेपाली वातावरण, नेपाली परिस्थिति, नेपाली बोलचाल, नेपाली समाज र नेपाली जीवनलाई स्पष्ट देखाएर नेपाली शैलीको मौलिकतामा कुनै पनि नाटक कसैबाट लेखिएको थिएन । अत ः यस नाटकले ती कुराको आभाव पूर्ति गरिदियो मात्र होइन नाटक लेख्ने परिपाटीकको परम्परालाई तोडेर परिवर्तन समेत गरिदियो जस्तो मलाई लाग्छ ।’’
पृथ्वीमा मानव सृष्टिको बारेमा एकै खाले स्वर गुज्जित छैन् । फरक फरक किम्वन्ती रहेका छन् । यस्तो अन्योलको भूमरीमा कवि तिवारी पनि घोत्लिन्छन् । संसारिक जीवनमा अदृश्य शक्तिको समर्थन गर्दै उनले कवितामा जीवनवादी भाव यसरी व्यक्त गरेका छन् :

पासा पल्ट्यो, निठुर विधि भो , आज यस्तो खिलाफ
सारा नानी सहन नसकी भै गए शक्ति अस्त
च्च : च्च : गर्ने, शिव ! शिव कठै ! हाय ! भन्ने समस्त
त्यत्रा रानी ! धन, जन कुरा के न पुग्दा थियो र ?
देख्दा देख्दै हविगत हरे ! (कर्मको हेरफेर !)
के छोड्थ्यो रे ! नियति वलवान, पर्न गो तारताम्य
(यशस्वी शव)

सहनशीला सुशीला नाटकमा सेते नामक पात्रको घर नुवाकोट जिल्लाको कुनै एक गाउँमा हुन्छ । संवादको क्रममा सेतेले असारे गीतको भाकामा यसरी गुनगुनाउछन् :

दर्वारबाट बिजुली मोटर आयो, आयो, गुडेर
नुवाकोट ढुक्कर नुवाकोटकै पुग्यो भुरूरू उडेर

त्रिशूली गङ्गा भएर नङ्गग पारितिर तरूँला
विरह मेरो तीन बास मुरी म त मुर्छा परूँला
जान त जाउँला एकलासे वनमा कसुँला दिनभरि
पीरति लाउन वर्ष दिन लाग्छ छुट्टिन छिन घडी
दउरी कैलो पटुकी मैले धूँ भने कति धूँ
हिर्दय रेटी देखाऊँ कल्लाई भने कति रू ।
(जान्छु नभन कान्छी)

भीमनिधि तिवारीले गजल विधामा पनि कलम चलाए । गजललाई केन्द्रित गरेर सङ्ग्रह त निकालेनन् । तर नाटकमा पात्र पात्र बीचको संवादमा भने गजल राखेका छन् नमूना :

धोका सबै पुर्याऊ जाँदोछ जिन्दगानी
गङ्गाजीमा बहेको मालसरि जवानी

योगी, कवि, गवैया औ चित्रका, वैदे
आशिक मरे हजारौ आखिर भए खराबी

ऐश्वर्यशालीका शव देख्यो यही नजरले
कात्रो थियो बदनमा उही बाँसुको सिरानी

लौ जन्मियो, तरूनो बुढो भयौँ, म¥यो ऊ
सुन्छौँ यहाँ अनेकौँ किस्सा, कथा, कहानी

संसार धर्मशाला हो, हामी पाहुना हवौँ,
हिड्छौँ सधै सबेरै भरराको बसानी
भोलि अवश्य भोलि, यो बोलि भो हटाऊ
आजै कुरा पूरा होस् है ? मेरी महारानी ।
(सहनशीला सुशीला)

उनले अन्य विधामा जस्तै कथामा पनि सामाजिक परिबेशको सेरोफेरामा केन्द्रित भएर लेखेको देखिन्छ । वि.स. २००६ देखि २०२५ सालसम्म उनले दशवटा कथा सङ्ग्रह निकाले । प्रत्येक सङ्ग्रहमा १६÷१६ वटा कथा समावेश छन् । नेपाली सामाजिक कहानी जेठोदेखि मन्तरे भाग १० वटा कृति प्रकाशित छन् । सबै कथामा नेपाली समाजमा घट्ने र घट्न सक्ने संम्भावनाको चिरफार गरेका छन् । कुनै कथामा व्यङ्ग्यात्मक शैली प्रस्तुत गरेका छन् । कथालाई हेर्दा भाषाशैलीका दृष्टिले तद्भव नेपाली शब्दहरू बढी भेटिन्छ । उनको इन्साफ (२०२७) मा पनि सामाजिक विषयवस्तु रहेको देखिन्छ ।

पृथ्वी मानिसको बस्ने घर । सबै मिलेर बस्नु सिक्नु पर्दछ । यदि कोही कसैप्रति थिचोमिचो, अन्याय अत्याचार हुन्छ भने उसले विद्रोह गर्नु पर्दछ अर्थात् आई लाग्ने माथि जाई लाग्नु पर्दछ । डर, त्रास लिएर बाँच्ने मानिसको जीवन मरितुल्य हुन जान्छ । कलम, आधी, तुफान, झरी, खहरे, सिन्धु, हाइड्रोजन, ज्वालामुखी, मेघ, भूकम्प, बम, विजुली जस्ता शब्द प्रयोग गरी कवि तिवारीले कविताको माध्यमबाट असन्तोषपूर्ण व्यङ्ग्य प्रहार यसरी गरेका छन् ः

म मेघको गर्जन मात्र होइन
विजुलीको पनि चड्कन हुँ
भयानक भूकम्प गराउने
ज्वालामूखीको धड्कन हुँ ।
(म महादेश चीन हुँ)

भीमनिधि तिवारीले नेपाली साहित्यमा गद्य र पद्य दुवै लयमा कविता लेखे । उनी– भन्दा अगाडि यी दुवै लयमा कविता लेख्ने मोतीराम भट्ट र शम्भुप्रसाद ढुङ्गेल हुन् । चालिसको दशकसम्म निरन्तर भीमनिधि तिवारीले गद्य–पद्य कवितामा कलम चलाएकोले नै यिनलाई नेपाली साहित्यमा प्रर्वधकको रूपमा लिइन्छ । गद्य र पद्य कविता लेखनमा उनका आफ्नै शैली देखिन्छ । कवि तिवारीद्वारा लेखिएका गद्य कविताका एक अंश :

कैले बस्तछ छेउमा सडकको खुम्चाइ छाती अनि
कैले हेर्दछ पूर्वतर्फ नभमा लाली चढ्यो की भनी
काखीमान्तिर जोडले कर दुबै छोपेर ‘स्यू : स्यू : गरी
काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यस्मा दया गर्छको ।

उनीद्वारा लेखिएका तर्पण खण्डकाव्य चर्चा योग्य छ । वि.स.१९९२मा लेखिएको उक्त काव्य उनले १९९४मा प्रकाशन गरेका थिए । आफ्नो पिताको देहान्त पछि लेखिएको शोककाव्यमा जम्मा तीन अञ्जुली भित्र एक सय छन्दोवृद्ध वंशस्थ छन्दमा लेखिएको छ । कवितामा अन्त्यानुप्रासको विशेष जोड दिएका छन् । तर्पण खण्डकाव्य पितृ विभोग हुँदा उब्जिएको भावनाका अभिव्यक्ति हुन् । आमाबुवाको स्नेह आकाश भन्दा विशाल र धर्ती भन्दा महान हुन्छ । कवि तिवारीले संसार अन्धकार तथा मानिसको व्यवहारमा स्वार्थीपन देख्छन् । एउटा छोरो आफ्नो बुवा गुमाउँदाको पीडालाई उनले यस खण्डकाव्यमा कविताको माध्यमबाट यसरी पोखेका छन् :

पछाडि उस्को अलमल्ल घाम छ
अगाडि उस्को घनघोर रात छ
रहन्छ झोक्रेर ववूर वृक्षमा
भएँ म पक्षीसरी साँझँकी कठै ।

१०४ वर्षे जहानिया राणातन्त्रलाई फ्याँकी देशमा प्रजातन्त्र स्थापना गर्नु तत्कालीन राजा त्रिभुवनको योगदान अविस्मरणीय छ । त्रिभुवनका जीवन लीला २०११ सालमा समाप्ति भयो । यिनै राजा त्रिभूवन केन्द्रित यशस्वी शव शोककाव्य हुन् । ३६५ श्लोक समावेश मन्दव्रmान्त छन्दमा लेखिएको उक्त काव्य अनुसन्धान र ऐतिहासिक तथ्यपूर्ण रहेको हुँदा सफल रहेको देखिन्छ । यशस्वी शव शोककाव्य लेखेर राष्ट्रकविको दायित्व पूरा गरेका छन् कवि तिवारीले । यसरी राजा त्रिभूवनको देहावसान पश्चात् शोकमा भावविह्ल भएका नेपाली जनता र नेपालको चित्रण यसरी गरेका छन् ।

बाजा रन्क्यो, स्वर छ अलिनो, चल्छ शाही सलाम
बोकेका छन्, विमल अरधी, दिक्क सारा मलामी
गोडा कामी लग लग, हात मूच्र्छा समान
छाती चक्र्यो, मुटु बयलियो, ठप्प भो जोर कान ।

अन्तत नेपाली साहित्यका बहुप्रतिभाशाली भीमनिधि तिवारीको मृत्यु वि.स. २०३० जेष्ठ १९गते ६२ वर्षको उमेरमा रक्त क्यान्सर रोगबाट हुन गयो । बाल्य अवस्थादेखि मृत्युपरान्त रोगसँगै भीड्दै बाँचेको बीच समयमा नेपाली साहित्यमा यिनले छाडेर गएका कृतिहरू ओजपूर्ण छन् । यी कृति नै हाम्रा साझा सम्पत्ती हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *