काठमाडौं । सरकारले बिहिबार बसेको मन्त्रीपरिषद् बैठकबाट मुख्यसचिवमा शंकरदास वैरागी, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूतमा गरेको सिफारिसले नेकपाको दुई अध्यक्षमा विवाद भएपछि प्रचण्डले माधव नेपालसँग भेट गरेका छन् ।
पार्टीमा देखिएको विवादलाई साम्य पार्नका लागि हरेक बिषयमा छलफल र भागबण्डा गर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिको साझा प्रस्ताव आएको महिना दिन पनि वित्न नपाउँदै ओलीले एकलौटी रुपमा महत्वपूर्ण निर्णय गरे पछि दाहाल संशकित हुँदै नेपालसँग भेटघाट गरेका हुन् । बिहिबार करिब ११ः ३० तिर सरकारका यी निर्णय सार्वजनिक भए पछि दाहालले नेपालसँग भेट गरेको स्रोतको दावी छ । उनीहरु बिहिबार साँझ पाटन स्थित नेकपाका नेता कृष्णलाल महर्जनको घरमा भेटघाट गरेका थिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बल मिच्याँई गर्दै गत भदौ २६ को स्थायी कमिटी बैठकमा प्रस्तुत गरिएको साझा प्रस्तावलाई बेवास्ता गरेको दाहालको निष्कर्ष छ । स्रोतका अनुसार डा.खतिवडा र रेग्मीलाई राजदूतमा सिफारिस गर्ने अनि बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने काम पूर्णतय गलत भएको भन्दै निर्णय सच्याउन सरकारलाई बाध्य पार्ने पक्षमा दाहाल रहेपनि त्यसमा नेपालले साथ दिने पक्षमा नहरेको स्रोतको दावी छ ।
कात्तिक ३ गते अवकाश पाउने रेग्मीले राजदूतको लोभमा नियम विपरित राजीनामा दिएका कारण यसले गलत संस्कार बस्ने उनीहरुको दावी छ । यस्तै वैरागीले लामो समय देखि राजदूतका लागि अनेकन प्रयास गर्दै आएका र लेनदेनमा मुख्यसचिव सकारेको प्रति पनि दाहालको आक्रोस छ । भेटमा बैठकमा नेपालले डा. खतिवडाका कारण नेकपाको राजनीतिक जीवन नै समाप्त बन्ने परिस्थिति बन्न थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘तीन जना व्यक्तिका नाममा गरिएका निर्णयहरु पार्टी विधान र साझा प्रस्ताव विपरित भएको,’ दाहालले जिकिर गरेका थिए ।
बिहिबार साँझ बसेको दाहाल नेपाल भेटघाटपछि सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीलाई दावाव दिएका कारण असोज १७ गते शनिबारका लागि नेकपाको सचिवालय बैठक डाकिएको छ ।




