ताजा समाचार

सेवा रोकिएका सबै कार्यालय खुलाउने सिसिएमसीको तयारी

काठमाडौं । उपप्रधानमन्त्री इश्वर पोखरेलको कमाण्डमा रहेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्ने प्रस्ताव गरेको छ । मंगलबार साँझ बसेको बैठकले सेवा सञ्चालनमा बाँकी रहेका कार्यालयहरु सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गरी खोल्ने प्रस्ताव गरेको हो ।
समितिको बैठकले कोभिड १९ का कारण रोकिएका बाँकी सेवाहरु पुनः सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि र मन्त्रिपरिषदबाट सो निर्णय गराउने निष्कर्षमा पुगेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको बताए । ‘खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि लिएर आउने र फेरि त्यसमा पुनः छलफल गरेर निर्णयमा पुग्ने भन्ने निर्णय भएको छ ,’ सचिव गुरागाइले भने ।
बैठकले तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा उद्धार कार्यलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ । ‘तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा थप व्यवस्थित गरी थप उडानको व्यवस्था गरेर शीघ्र उद्धार गर्न बाँकी नेपाली नागरिकहरुको उद्धार गर्ने भन्ने निर्णय भएको छ ,’सचिव गुरागाईंले भने । बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णयसमेत गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामूूलक सन्देशहरु तयार गरेर विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने व्यवस्था गर्ने सम्बन्धमा समेत निर्णय भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *