काठमाडौं । नेकपाभित्र सत्ता दाउपेचको खेल चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नारायणकाजी श्रेष्ठलाई काँखी च्याप्न खोजिरहेका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालले दुःख दिएको भन्दै ओलीले आफू निकटका नेताहरुलाई अघि सारेर श्रेष्ठसँगको सम्बन्ध अघि बढाउन खोजेका छन् ।
नेकपा उच्च स्रोतले दिएको जानकारी अनुसार दाहाल, गौतम र नेपाललाई किनारा लगाउन ओली पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आफ्नो पक्षमा ल्याउन लागिपरेका हुन । श्रेष्ठलाई पार्टीमा आफूपछिको दोस्रो नेता बनाउने, उपप्रधान र परराष्ट्र या अर्को कुनै महत्वपूर्ण मन्त्रालय दिने आश्वासन दिएर ओलीले फकाइरहेको बताइएको छ । श्रेष्ठले आफूलाई साथ दिएमा दाहाल, गौतम र नेपाललाई पाखा लगाउन सकिने आँकलनसहित ओलीले गृहकार्य गरिरहेको स्रोतको दाबी छ । यसका लागि उनले पटक पटक निकट नेतहरुलाई श्रेष्ठ निवासमा भेट्न पठाएका थिए । तर श्रेष्ठले भने अस्वीकार गरेको स्रोतको दावी छ । ‘पार्टी एकीकरण भएकै कारण यो उपलब्धि पाएका हौं । यसलाई बिर्सिएर अहिले नै त्यसरी जानुहुँदैन’, श्रेष्ठलाई उद्धृत गर्दै स्रोतले भन्यो,’सकेसम्म पार्टीका सबै साथीलाई समेटेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।’
श्रेष्ठका विरोधीहरूले भने भर्खरै राष्ट्रियसभामा गएका उपाध्यक्ष वामदेव गौतमलाई आइपरेको कानुनी अड्चनलाई देखाउँदै उनलाई सरकारमा समावेश गराउनु नहुने अभियानमा जुटेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनित गरेका गौतमलाई सांसद् पद यथास्थितिमा राख्दै संवैधानिक अधिकार नदिन सर्वाेच्चले अन्तरिम आदेश जारी गरेको थियो । त्यसको सुनुवाई भोली बुधबार हुने भएको छ ।




