काठमाडौं । आन्तरिक विवाद साम्य पार्न मन्त्रिपरिषद पुर्नगठनमा कस्सीएका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सञ्चारमन्त्रालयमा झमेला उत्पन्न भएको छ । पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको विषयमा अदालतमा परेको मुद्दाको किनारा लाग्नु अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी तयारी तीव्र पारेपछि प्रचण्डले सञ्चारमन्त्रालय पूर्व माओवादीलाई दिनुपर्ने माग राखेर झमेला उत्पन्न गरेका छन् ।
मन्त्रिपरिषद पुर्नगठनको विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग केहि दिनदेखि निरन्तर छलफल गरिरहेका छन । तर पार्टीका दुई प्रमुख नेताबीच सो विषयमा सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ । ‘प्रधानमन्त्री ओलीले छिट्टै मन्त्रिमण्डल पुनर्गठन गर्नेगरी तयारी तीव्र पार्नुभएको छ’, ओलीनिकट एक स्थायी समिति सदस्यले भने । अर्थ र सञ्चारलगायत महत्वपूर्ण मन्त्रालयहरु खाली रहेको र पुनर्गठनको विषय केहि समयदेखि लम्बिँदै गएका कारण यसलाई थप नतन्काउने पक्षमा प्रधानमन्त्री रहेको ती नेताको भनाइ छ । अर्का एक नेताका अनुसार वामदेव गौतमको नियुक्तिविरुद्ध अदालतमा परेको मुद्दा नटुङ्गिदै मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्रीले जोड गरेको देखिन्छ । ‘वामदेवजीको प्रकरण अदालतबाट नटुंगिँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी देखिन्छ,’ ती नेताले भने ‘पछिल्लो पटक प्रचण्डले सञ्चार मन्त्रालयमा दावी गरेपछि पनि पुर्नुगठन लम्बिएको हो ।
नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न दबाब दिएपछि भदौ २९ मा प्रधानन्त्री ओलीले उनलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । असोज १ गते शपथ लिएका गौतमलाई मन्त्री बनाउने चर्चा चलेपछि असोज ५ गते सर्वाेच्च अदालतमा रिट परेको थियो । सो रिटमाथि असोज ७ गते सुनुवाइ गर्दै न्यायाधिश आनन्दमोहन भट्टराईको इजलाशले मुद्दाको किनारा नलागेसम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो। गौतमको नियुक्तिको विषयमा असोज १४ गते संवैधानिक इजलाशमा बहस हुने तय भएको छ ।
सर्वाेच्च अदालतले गौतमको नियुक्तिबारे प्रश्न उठेका कारण अहिले उनको नियुक्तिलाई यथास्थितिमा राख्न आदेश दिएको छ । त्यतिमात्र होइन अदालतले उनलाई थप संवैधानिक अधिकार नदिनू नै भनेको छ । त्यसो हुँदा उनी सांसद रहिरहे पनि अदालतको व्याख्या नआउँदै यहि बीचमा मन्त्रिमण्डल पुनर्गठन भएमा गौतमलाई मन्त्री बनाउन मिल्दैन । संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्ने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने र मन्त्रिमण्डल पुनर्गठनको विषयमा ओली र प्रचण्डबीच छलफल भइरहेपनि अझै यसरी नै गर्ने भन्ने बारेमा ठोस् निष्कर्ष निस्कन सकेको छैन । प्रचण्डनिकट स्रोतका अनुसार अहिलेसम्म मन्त्रिमण्डल पुनर्गठनका विषयमा ओली र प्रचण्डबीच ठोस सहमति जुटेको छैन ।




