राज्यद्धारा सूचिकृत गरिएको जातिमध्ये गुरूङ सुविधाबाट बञ्चित समूहमा पर्दछ । गुरूङलाई विशेषत मध्यपश्चिमका बासिन्दा मानिन्छ । यिनीहरूको पुरानो थलो बूढीगण्डकीको पश्चिम, कालीगण्डकीको पूर्व, दक्षिण हिमालय र उत्तरमा गण्डकी मानिन्छ । लमजुङ, पर्वत, धादिङ, स्याङ्जा, तनहुँ, कास्की, नवलपरासी, चितवन, मनाङ, रूपन्देही, रसुवा, नुवाकोट आदि जिल्लामा बसोबास गर्दै आइरहेका गुरूङ जातिको ओखलढुङ्गाको रूम्जाटारमा ठूलो बस्ती रहेको छ । गुरूङहरू रोजगारीको सन्दर्भमा जाने क्रममा भारतको आसमतिर पनि बस्ती बसालेको देखिन्छ । यिनीहरूको बस्ती एकत्रीत देखिन्छ । राष्ट्रिय जनगणना २०५८ मा गुरूङ जातिको जनसङ्ख्या ५४३५७१ देखाइएको थियो भने २०६८ले ५,२२,६४१ देखाइएको छ । नेपालको जनसङ्ख्याको प्रतिशत हेर्ने हो भने एक दशमलव ९७ प्रतिशत रहेको छ । बसोबासको स्थानलाई हेर्दा गुरूङ जाति मनाङ जिल्लामा बढी देखिन्छ । २०६८को जनगणनामा मनाङमा गुरूङको सङख्या तीन हजार चारसय २६ रहेको छ । ५२.४ प्रतिशत मनाङ जिल्लामा गुरूङहरू देखिन्छ ।

गुरूङहरूको नेपाल आगमन कसरी भयो भन्ने सन्दर्भमा तथ्यपरक प्रमाणहरू भेटिएको छैन । अनुमान मात्र गर्ने काम भएको छ । चीनबाट नेपाल पसेका हुन् कि भन्ने अनुमान छ । चीनका हुण जाति तिब्बत हुँदै भारत जाने क्रममा नेपालमा बसे, यिनीहरूनै गुरूङ भएका हुन भनिएको छ । गुरूङलाई तमु पनि भनिन्छ । त को अर्थ घोडा र मु को अर्थ राजा । यसर्थ घोडा चढी लडाई गर्नेलाई तमु भनियो । तिब्बतमा घोडा चढी लडाइ गर्ने जाति तमु अर्थात हुण जाति नै हुन भन्ने भनाई छ । गुरूङहरूलाई मंगोल जातिको एउटा बंश भएको तर्क पनि सुनिन्छ । गुरूङ वा तमू मङ्गोल जातिबाट उत्पत्ति भएको हो । गुरूङ भाषामा आफूलाई तमु भनिन्छ । मङ्गोलबाट बसाई सरेर नेपाल आएको भनिन्छ । टेकसि तमुले केर्लोमा सफुती क्ज्याल्साका पहिला राजा क्रसिरीले दिएका निर्देशनहरूलाई बाह्रमहाबौद्धहरूले तमु भनी समर्थन गरेकाले पछि तिनका सन्तानको जातीय नामथर नै तमु रहन गएको कुरा उल्लेख गर्नु भएको छ । प्राचीनकालमा तमूका पुर्खाहरू एसिया महादेशका मध्य उत्तरी चीनको क्षेत्र, मंगोलियामा ब्युत्पत्ति हुँदै त्यहाँबाट खानाको खोजीमा बसाइ सराई गर्दै पश्चिममा किर्किजस्तान, ताजीकीस्तान हुँदै पुनः दक्षिण पश्चिम मोडिएर तिब्बतका पश्चिम पहाडी क्षेत्र एवं वन, जंगल पार गर्दै चीनको कोकोनर ताल सिच्युयन प्रान्तबाट दक्षिणतिर उँईचु चुँरू हुँदै तिब्बत क्षेत्रमा प्रवेश भएको पाइन्छ । तिब्बतबाट हिमालपार गर्दै मनाङ, मुस्ताङ, जोमसोम, लक्रु, तिलिचो तालको आसपासबाट मुइँच हालामा ठूलो समूह आएको देखिन्छ । त्यहाँ निकै धेरै वर्ष बसे पश्चात तोरीबारीमा बच्चाहरूको ढुङ्गाको गोटि खेल्ने क्रममा ‘‘मुम्ईचु प्लाँप्ली कु प्याँप्ली, मुँईचु प्लाँप्ली स्यो प्लाँप्ली” अर्थात त मुइईचु हालामा ठूलो पैरो जाने संकेत बच्चाहरूले दिए पछि त्यहाँबाट पुन : सबै समूह माथि मनाङमा पर्ने ‘‘सब्जे ब्राम्ह ऊ”मा सरे । त्यहाँ खेती नहुने भनेपछि सबै शिकार गर्ने पेशामा लागे । शिकार गर्ने क्रममा शिखर सहित आफूहरू त्यहाँको ठूला शिखर (येक्रे)पार गरेर क्होला आइपुग्छन् । त्यहाँको समथर उब्जाउ भूमि पाहारिला पाखा, दक्षिण ढलपरेर रहेका भू–भाग, शिकारका लागि उपयुक्त बन जंगल, मह काट्न सकिने महभीरहरू, प्रशस्त जलस्रोत लगायत आवश्यक सामग्रीहरू युक्त ठाउँमा सर्न माथि सब्जे ब्राम्ह ऊ मा गएपछि राजालाई जानकारी गराए । उनीहरूले आफूसँग झोलामा भएका उवा, जौका गेडाहरू निकालेर समथर जग्गाको एउटा कुनामा छरेर छाडे र भने, यदि यो ठाउँमा मानिस बस्न योग्य भूमि हो भने यहाँ छरेको जौ, उवाका विउहरू छ महिनामा हात भएको बोट र वित्ता भएका बाला भै राख, यदि बस्न नहुने भए त्यही हराई रहोस् छ महिना पछि फर्केर हेर्न आउँदा भने जस्तै हात भरिको बोट र बित्तारको निस्केको देखियो । त्यहाँबाट माथि सब्जे ब्राम्ह ऊ मा गएर राजालाई भने पछि राजा सहित सबै क्होलामा आएर त्यहाँ मानव बस्ती बसाले भन्ने धार्मिक गुरूहरूको प्येमा उल्लेख भएको पाइन्छ । क्होला मानव बस्तीका लागि अति उपयोगी भएको थाहा भएपछि सब्जे ब्राम्ह ऊ छाडेर समूह–समूहमा राजा क्हयाल्वु रूजु क्ल्हेसँगै ठूलै झुप्पा तल्लो क्होलामा आएको देखिन्छ । सन्तवीर लामाका अनुसार गुरूङ र तामाङ एउटै पुर्खाका हुन । गुरूङ पश्चिमतिर र तामाङ पूर्वतिर गएर बसे भन्ने भनाई छ । त्यस्तै, गुरूङ र मगर जातिको पनि सबैखाले संस्कृति, रहनसहन, भेषभूषा, जीवन पद्धती मिल्दो जुल्दो देखिन्छ । दुबै जातिले हिन्दु, बौद्ध, क्रिश्चियन धर्म मान्दछन् । र दुबै जातिको लामागुरू हुन्छन् । गुरूङहरूलाई मंगोल जातिको एउटा बेश भएको तर्क पनि सुनिन्छ । मध्यकालमा पश्चिम नेपालमा गुरूङको अलगै राज्य थियो ।

गण्डकी प्रदेशमा सेन,खान र शाहबंशको राज्य स्थापना भएपछि पहिलेदेखि त्यहाँ विकसित मगर एवम् गुरूङ राज्यहरू त्यही ठकुरी राज्यहरूमा विलिन भए । लमजुङका ठकुरी राजा यशोव्रहम शाहको समयदेखि गुरूङ समाजमा हिन्दु गोत्रले प्रवेश पायो । राज्यसत्ताको अख्तियार सँगसँगै गुरूङ समाजमा हिन्दू गोत्रले प्रवेश पाएको हो । त्यसकारण गुरूङहरूको जात नमासेर चाक चकुई माफ गरी पश्चिम नेपालका मातावली क्षत्री र ठकुरी सरह नमासिने चोखो मतवाली जातमा राखेर राज्यको शासनमा गुरूङहरूलाई सरिक गराए । यसरी गुरूङको सहयोगबाट संरचना गरिएको सैन्यशक्ति नेपाल राष्ट्रको निर्माणमा लागि अत्यन्तै बलशक्ति र सफलीभूत प्रमाणित भयो ।
लमजुङ चारनाल (पूर्व मर्स्याङ्ग्दी) पश्चिम मदी, उत्तर उँभोखोला अर्थात् मस्र्याडादीको शिर र दक्षिण थानसिङकोटसम्मको इलाका) मा वि.सं १८७१ सम्म गुरूङहरूको सिर्तोबिर्ता कायम थियो । जगमान गुरूङले गुरूङ वंशावलीमा रागस्य राजा र भ्यागस्य राजाको उल्लेख गरेको बताउँछन् ।यी रागस्य र भ्यागस्य ब्यक्तिको नाम नभएर घले राजा र शाही राजा भनेजस्तै जातिगत नाम हुन् । यी रागस्य र भ्यागस्यहरू नै यहाँका भूमिपूत्रहरू हुन् । गुरूङ भाषाका प्राय : सबैजसो शब्दका माउशब्दहरू तिब्बती भाषामा पाइन्छन् तर तिब्बती भाषामा माउ शब्द नभएका छुट्टै शब्दहरू पनि गुरूङ भाषामा पाइन्छन् । यसरी तिब्बती भाषामा माउ शब्द नभएका मौलिक शब्दहरू यहाँका भूमिपूत्रहरूका भाषा हुन् । रागस्यलाई नेपालीमा राकसे भनेको पाइन्छ । अघि कास्कीका राजा राकसे गुरूङले आक्रमण गर्दा पर्वत, मल्लाज, माझफाँटका धर्तीहरूले पुराना गाउँको पोखरीमा आफ्ना भाडाँकुँडाहरू लुकाएको वर्णन पाइन्छ ।

डा.जगमान गुरूङ लेख्छन्–”गुरूङहरूमा म्हि (मान्छे) हराए हिमालमा जानू, पे(शास्त्र) हराए सिकलेस जानू भन्ने कहावत छ । यसबाट मानिसको सृष्टि हिमालमा भएको हो । त्यस कारण मानिसको बीउ हिमालमा पाइन्छ भन्ने गुरूङहरूको विश्वास रहेको बुझिन्छ । यस आधारमा अघि जून बेलामा स क्योजि (धर्तीको सृष्टि भयो), मु क्योजि (आकाशको सृष्टि भयो), त्यही बेलामा सई तोजि (धर्तीले थापेर) मुई उजि (आकाशले छोपेर),म्हि क्योजि (मानिसको सृष्टि भयो) । त्यस अवसरमा गण्डकी प्रदेशको अन्नपूर्ण हिमश्रृङ्खलामा सृष्टि भएका धर्तीपुत्रहरू र कालन्तरमा कैलाश मानसरोबरबाट सबुतोक्ह्याल्स (जुम्लाको सिजा), कोल्पाको थैबैक्वे (तिव्रिकोट) मुस्ताङको ठिनिक्ह्याल्स र मनाङको कोल हुँदै लमजुङको क्होलसोँप्रेट्होँ आइपुगेका यी दुई समुदायको समन्वयबाट वर्तमान गुरूङ समाजको सिर्जना भएको छ । गुरूङ हुनुमा किम्वदन्ती समेत यस्तो पाइन्छ । प्यूठानका भारद्धारा गोत्री सूर्यबंशी राजाका २ छोराहरूमध्ये जेठा लौचनले आफ्नी पत्नी सहित गर्गगोत्रका गुरू पुरोहितका छोरा बाली आचार्य ब्राम्हण, उनकी श्रीमति तथा केदरसिंह नामक खवास (कमारो) र उस्की पनि श्रीमति सहित कैलाश हिमालयको भ्रमणमा एकपटक हिडेछन् । बाटोमा ती राजपुत्र र गुरू पुत्रसँग बेश्यासँग भेट भएछन् र ती बेश्या केटीहरूले पुत्रहरूलाई जनै खोल्न लाएर रक्सी ख्वाई भोजमस्ती लगाई २/३ दिन त्यही बिताएछन् । रक्सी नशा र निन्द्राबाट बिउझिदाँ ती केटीहरू भागेछन्, र आ–आफ्ना पत्नी र कमारो साथ लिएर हिमालयतर्फ गई घोर तपस्यामा लीन भएछन् । दुबै पुत्र तपस्याले महागुरू भएछन् । साथमा जनै नभएको, रक्सी खाएको र कमारोले छोएको भात खाएकाले जातबाट च्यूत गरी महागुरू बाट महा झिकेर ङ थपेर गुरूङ भएछन् । यसरी उत्तरी खण्डमा बस्दै रहँदा राजपुत्रका लामिछाने र प्लोने लामिछाने महागुरू तथा कुमारी, मली, नारी, नामक ३ छोरी भएछन् । दासी (कमारो) पुत्र केहरसिहका १६ भाइ छोरा र १० जना छोरी भएछन् । राजपुत्रका ३छोरा र गुरूपुत्रका लामिछाने ४ जात उच्च मानिए । दस पुत्रका १६ जाते गुरूङमा पन्यु, केस्ये, घ्याव्रिङ, दोचे, पौचे, थिचै, खुलाल, तान्थै, लङै, डोरे, क्रोचे, पोचे, भयचे, कोके, कप्चे र रोप्चे गरी १६ थर भएछन् । यसरी क्षेत्री बाहुनबाट नै गुरूङ भएको देखिन्छ । आठौ शताब्दी र त्यसपछि गोत्र परिवर्तनद्धारा ठूलो सङ्ख्यामा गुरूङ, राजपुत वा क्षेत्री भए । उत्तरबाट दक्षिणी मैदानमा झरेर धर्म परिवर्तन गरी पहाड चड्ने गुरूङमा हिन्दूप्रभाव छ भने सोझै हिमाल पारिबाट यता हिमाली क्षेत्रमा आउनेहरूले बुद्धधर्म मान्ने गरेको पाइन्छ । यस जगत्मा जीवको सृष्टि भएका आदिम स्थलहरूमा नेपालको कालीगण्डकीक्षेत्र प्रसिद्ध छ । पहिले समून्द्र उत्तरतिर थियो । समुन्द्रको गर्भबाट जमिनको भाग माथि उठेपछि जमिनको होचो भाग दक्षिणतिर समुन्द्र बन्यो र उँचो भाग उत्तरतिर हिमाल बन्यो । अहिले काली गण्डकीको मूहान दामोदरकुण्डमा शालिग्राम पाइन्छन् । ती शालिग्रामहरू अघि समून्द्रको गर्भमा रहेका विभिन्न जीवहरूका जीवाश्म हुन । यस्ता जीवाश्महरू संसारमा अन्यत्र पाइएका छैनन् । चार जात र सोह्र जात भनी बिभाजित भएका यिनीहरू आ–आफ्नो जात ठूलो रहेको घमण्ड गर्छन् । चारजात अन्तर्गत घले, घोदाने, लामिछाने र लामा थरहरू हुन्छन् भने स्रोह्रजात अन्तर्गत सांगून, क्रोम्जे, थोमे, चोर्भे, कयब्जे, योज्मे, खोलाली, जङ्गे, घ्याव्रे, थोर्छे, मिगी, दार्जाली, पाइगी, रिमाले, खात्र, थोमे, थोमाजी थरहरू रहेका छन् । सोह्रजाते भनिएतापनि थरहरू चाहिँ बढी नै देखिन्छ । चारजात अन्तर्गतका घले थरका गुरूङले कुखुराको मासु खादैनन् तर महिलाले भन्ने खान्छन् ।

चार जात र सोह्र जात भनी बिभाजित भएका यिनीहरू आ–आफ्नो जात ठूलो रहेको घमण्ड गर्छन् । चारजात अन्तर्गत घले, घोदाने, लामिछाने र लामा थरहरू हुन्छन् भने स्रोह्रजात अन्तर्गत सांगून, क्रोम्जे, थोमे, चोर्भे, कयब्जे, योज्मे, खोलाली, जङ्गे, घ्याव्रे, थोर्छे, मिगी, दार्जाली, पाइगी, रिमाले, खात्र, थोमे, थोमाजी थरहरू रहेका छन् । सोह्रजाते भनिएतापनि थरहरू चाहिँ बढी नै देखिन्छ । चारजात अन्तर्गतका घले थरका गुरूङले कुखुराको मासु खादैनन् तर महिलाले भन्ने खान्छन् । चारजातेहरू लेकमा बस्छन् र भेडागोठ राख्छन् । सोह्रजातेहरू धेरैजसो अलि दक्षिणतर्फ र न्यानो धानखेती हुने ठाउँमा बस्छन् । लामाबाहेक अरू सबै गुरूङका पुरोहित हयाबे्र हुन्छन् । लामाका पुरोहितचाहिँ लामाहरू नै हुन्छन् । पुरोहितको काम खास गरी मानिस जन्मदार मर्दा पर्न आउँछ । सबै गुरूङका थरहरू अनेक पदमा विभक्त हुन्छन् । अनि प्रत्येकको एउटा चिबा भन्ने मुख्य मान्छे हुन्छ । उसको घरलाई नै मूख्य घर चिवातिँ भन्ने गर्छन् । मुख्य मुख्य चाडपर्वमा सबै जना यसै मूलघरचिवातिँमा जम्मा भएर भोज खान्छन् । दशैमा चाहिँ सबैले आ–आफ्नो घरमा काटेको भेडाको टाउको लिएर मूलघरमा जम्मा हुनु पर्दछ । भोज खान र अरू कामको लागि एउटा खेत र त्यसको आम्दानी सामूहिक तवरले छुट्याइएको हुन्छ त्यसलाई क्रामरूङ अर्थात् टाउको खेत भन्छन् । तर माथि उल्लेख भएअनुसारको मूलघरमा जम्मा हुने चलन घलेहरूमा निकै बाँकी छ तापनि अरू गुरूङहरूले छोड्दै गैसकेका छन् । दशैमा पनि भेडाको टाउको लिएर आफू जानुको सट्टा धेरैले भेडाको कान मात्र चिवाको घरमा पठाइदिने गर्छन् ।
आफ्नो थर वा पदभित्र झगडा परेमा क्रामरूङ भन्ने खेत छाडेर प्रत्येक झगडिया बथानले आफ्नै अलग चिवा रोज्ने पनि गर्छन् । तमू गुरूङहरूको वंशावलीहरू थुप्रै किसिमका भेटिन्छन् । क्ले कुगी, तथा सोगीहरूका छुट्टाछुट्टै वंशावलीहरू पाइन्छ । जस अनुसार कुगीलाई कश्यप गोत्र भनिएको छ, सोगीहरूलाई कन्नौज बुन्देलखण्डका भारद्वाज गोत्र भनिएको छ । तर यहाँ राजा यशोब्रहम शाहका पण्डित भोजराजले तयार गरी पण्डित शिखरनाथ सुवेदीले प्रकाशित गरेको थर–गोत्र प्रश्नावली नामक पुस्तकमा प्रकाशित भएको वंशावली प्रस्तुत गरिएको छ । कुनै समयमा पिउठाना भन्ने ठाउँमा गोचन नामका भारद्वाज गोत्र सूर्यवंशी राजा थिए । राजा गोचनका लोचन र रोचन नामका दुई राजकुमार थिए । राजारानीका लागि कान्छा छोरा प्यारा थिए, त्यसैले गर्दा पिउठानाको राज्यभार राजा गोचनले जेठो छोरा लोचनलाई नदिई कान्छा छोरा रोचनलाई दिए । दाजु हुँदाहुँदै भाइले राज्य पाएपछि जेठो राजकुमार दिक्क हुनु स्वभाविकै थियो । यसरी भाइ राजगद्दीमा बसेपछि जेठाले देश छाडेर बाहिर जाने निधो गरे । लोचनले देश छाडेर बाहिर जानलाग्दा काली नामकी उनकी पत्नी पनि पछि लागिन् । राजकुमारका साथमा पत्नी मात्र नभई उनका पुरोहित मुकुन्द लामिछानेका छोरा बलि लामिछाने र उनकी पत्नी काशी समेत पछि लागे । उनको आठपहरिया (अङ्गरक्षक), केहरसिंह खवास(दास वा कमारो) तथा उनकी पत्नी पनि पछि लागे । राजकुमारले पिउठाना दरबार छोर्डा राजकुमारका उनी बाहेक पाँचजना साथी भए । यसरी देश छोडेर हिँड्ने राजकुमारले कुनै नयाँ राज्य खडा गर्ने विचार नगरेर हिमालयको काखमा गएर तपस्या गर्ने विचार गरे । उनीहरू यस प्रकार प्रस्थान गरेको केही दिन पछि बाटामा अत्यन्त सुन्दरी तरूनीहरूको जमातसित भेट भयो । तरूनीहरू सोह्रदेखि बीस वर्षका भित्रका थिए । यिनीहरूबाट राजकुमार अत्यन्त मोहित भएर केही समय उनीहरूसित बिताउने कोसिस गरे । दुई रात उनीहरूसितै हाँसखेलमा बित्यो । तेस्रो रात पनि बिताउने बिचार भयो । तेस्रो रात बिताएर बिउँजिदा त्यहाँ कुनै युवती थिएनन् र आफूसित भएको धन दौलत पनि थिएन । यति मात्र होइन, राजकुमार र गुरूपुत्रको आङमा जनै पनि थिएन । जनै चोरिनुको अर्थ थियो–जात चोरिनु । सम्पत्तिका साथै जात पनि चोरी भएको हुँदा उनीहरू साह्रै खिन्न भए । त्यसपछि उनीहरू हिमालयको काखमा रहेको एउटा नदीको किनारमा पुगेर त्यहीँको एउटा गुफामा बसे । राजकुमारकी पत्नीसित बाँकी भएका गहना बिक्री गरेर उनीहरू जीवन यापन गर्न थाले । यस्तो आपत्ति पर्दा पनि केहरसिंह खवासले आफ्नो कर्तव्य नछोडी सेवा गरेको हुँदा राजकुमार र बलि लामिछाने अत्यन्त प्रसन्न भए । यी दुवैजना मिलेर केहरसिंहलाई भने, ‘‘तैले हाम्रो यस्तो अवस्थामा पनि आफ्नो कर्तव्य नछोडी सेवा गरिस् । तँ देखि हामी अत्यन्त प्रसन्न छौँ । हाम्रो जात गएको कुरा तँलाई सबै थाहा छ, त्यसकारण अबदेखि तँलाई खवास अर्थात कमारो भन्दैनौं । सबै कुरा थाहा पाएको हुँदा थापा भन्छौं । अबदेखि तँ थापा भइस् । हाम्रो पनि जात गइसकेको हुँदा तँ जस्तौ भयौँ । युवतीहरूले हाम्रो जात चोरेर लगेको हुँदा हामीसित जात छैन । हामी सबै उस्तै भएपछि तैंले पकाएको भात खान अब हामीलाई कुनै आपत्ति छैन । त्यसकारण अब उप्रान्त तैंले पकाएको भात खान्छौं, तैंले पकाएर खुवाउनू ।” राजकुमार र गुरूपुत्रको यस्तो प्रस्तावबाट केहरसिंह खवास बडो अच्चम्ममा पर्यो र स्वीकार गर्न मानेन । तर उनीहरूले धेरै सम्झाए पछि प्रस्ताव स्वीकार गरेर भात पकाएर खुवाउन थाल्यो । त्यस दिनदेखि यी सबै बराबर भए । सबै कुरा थाहा पाएको हुँदा केहरसिंह खवास (कमारो) बाट त्यसै दिनदेखि थापा भयो ।
उनीहरूका पहिला पूर्खाको नाम हो चन्द्र सिंह । चन्द्रसिंह नामका सूर्यबंशी राजा कनौजम राज्य गर्दथे भन्ने विश्वास गरिन्छ । कनौजम पछि चन्द्रसिंहकोस वंश बुदेलखण्डमा गयो । वुदेलखण्डमा राज्य गर्ने राजाको नाम हो शेरचन्द्र । शेरचन्द्र छोरा विष्णु चन्द्र थिए । यिनै विष्णु चन्द्रका सन्तानले आठ पुस्तासम्म त्यही राज्य गरे । यसै समय उनका सन्ततिमध्ये कुनै भाइका सन्तानले चन पदवी धारणा गरेर आफ्ना वंशबाट अलगं भए । यसरी वंशको नाम परिवर्तन पछि उनीहरूका सगोत्र विवाह चलाए । यस प्रकार सगोत्र विवाहपछि जन्मेका सन्तानमा वीरभद्र नामका ब्यक्ति चितौडको उजीरपुरमा बसे र चनउपाधिधारी मानिकचन नामका ब्यक्ति कुमाउमा आएर राज्य गर्न थाले (गुरूङ बंशावली अनुसार उनीहरूको कुमाउमा पच्चीस पुस्तासम्म राज्य गरे । राज्य गर्ने राजाहरू हुन मानिकचन, विक्रमचन, खारचन, तिलकचन, अर्जुनचन, वष्र्यचन,नागरचन, चन्द्रसिंह, कर्णसिंह, भोजमल्ल, वीनेसिंह, भुजासिंह, रामायन, जयचन, उदयचन, तुलाचन, ऋतुचन, नरूनामचन, शक्तिचन, आसौचन, रूद्रसिंह, षारचन, धीच्र्येपाल, सुकैचन र वीरसिंह । राजा वीरसिंहका तीन छोरा थिए । यिनका जेठा कुमाउमा राज्य गर्ने थाले । भोजराउत नामक अर्का छोरा डोटीमा राज्य गर्न थाले भने वीलचन नामक अर्का छोरा षुमरी समरभमर भन्ने ठाउँमा अर्को राज्य खडा गरेर बसे । वीलचनका पनि तीनभाइ छोरा थिए । उनीहरूको नाम थियो । मणिकचन, गोपीचन र महाचन । यिनमध्ये जेठा मणीकचनले पुर्खाको नाम राखे । माईला गोपेचन संसारदेखि विरक्त भएर जोगी भए । कान्छा महाचनले अर्घामा आफ्नो अलग राज्य खडा गरेर राज्य गर्न थाले । मोटाघाटा, कद छोटा, तेजीलो आखा र गहुगोरा रहेका गुरूङहरूका पहिरनलाई हेर्दा पुरूषहरू भोटो, कछाड, पगरी, भाङ्ग्रो, टोपी, पस्मिनाको पगरी, जुत्ता, बेरूवा सुनको औठीको साथै कम्मरमा खुकुरी भीरछन् भने महिलाहरू रातो गुनिउँ, कालो चोलो, सेतो पटुकी, पोते, शीरबन्दी, कानफूल, टीका, औठी, काचको चुरा, नौगेडी, मालाका साथै जुत्ता पनि लगाउछन् । हिमाली भेगमा बसोबास गर्ने गुरूङहरू बाक्लो ऊनको बख्खु लगाउँछन् । गुरूङहरूका परम्परागत घरमा ढुङ्गाको छानोलाई आर्थिक सम्पन्नताको चिन्ह मानिन्छ । कतै कतै गुरूङको घरको आकार गोलो र छाना पनि गोलाकार गरी गुम्वजको रूपमा चुच्याएर राखिएको पनि देखिन्छ । सम्पन्न गुरूङहरूले तला भएको घर पनि बनाएका हुन्छन् । प्रायःजसो भूइतलाको बीच भागमा अगेना राखिएको हुन्छ र अगेनामाथि बाँस अथवा निगालोबाट बुनिएको सारन (सरङ) राखिएको हुन्छ, जसमा खाधान्न तथा अन्य सामान सुकाउने गरिन्छ । अधिकांश गुरूङहरूको अगेनामा आगो रहिरहन्छ । पितृ रिसाउँछन् भनेर यिनीहरूले आफ्नो अगेना अन्य जातिका मानिसलाई छुन दिँदैन तर यो विश्वास बिस्तारै हट्दै जान लागेको छ । कसैले हिन्दु र कसैले बौद्ध धर्म मान्ने यिनीहरूको पुरानो धर्म चाहिँ वौपो झाक्री धर्म हो । गुरूङहरूमा पुरोहितहरू लेम, घ्यव्रिङ, प्वोँ च्यूँ, झाँक्री हुन्छन् । जन्म, विवाह र मृत्युको काम पुरोहितद्वारा हुन्छ । आफ्नो गाउँबस्ती नजिक रहेको नदीनाला, बनजङ्गलजस्ता प्राकृतिक सम्पदाहरूलाई आफ्नो रक्षक मानी मासु र रगत चढाउने गुरूङहरू मन्दिरमा गएर पशुपन्क्षीको बली गर्दैनन् । गुरूङ दर्शनमा महत्व राख्ने पिण्डहरूमध्ये पृथ्वी, सूर्य र चन्द्रमा । तर गुरूङको वेदना सूर्य, चन्द्र, पृथ्वी आफैले सृष्टि गरेको कथा आउँदछ । आकाश, पृथ्वी, सूर्य, हावा र पानी प्राणीमात्रको लागि महत्व राख्दछ । त्यो सम्पूर्ण प्राणीको लागि उपयुक्त वातावरण आकाशको हजारौं पिण्डमा आजसम्म पृथ्वीमा माग प्राप्त भएको छ । गुरूङको वेदले पनि त्यो नै कुरो उल्लेख गरिएको छ । आकाशको गर्भमा हजारौं पृथ्वीजस्ता अनेकौं पिण्डहरू घुमिरहेको छ तर, पृथ्वीमा बस्ने मान्छे प्राणीले अरू पिण्डबारे सोध गर्न सकेको छैन । त्यसो त पृथ्वीमा बस्ने बैज्ञानिक चुप लागेर बस्या छैनन् । धेरै प्रगति गर्न सकेका पनि छैनन् । त्यस्तै गुरूङको दर्शनमा चन्द्र, सुर्य हामी मान्छेले बनाएको डाबी गरेको छ । गुरूङको बेद पढेपछि परापूर्वकालमा प्रकृति कस्तो थियो । ती प्रकृति शक्तिले नयाँ रूप कसरी लिएर आजको स्थितिमा आउन सफन भको कथाहरू छ । तर हिन्दु दर्शन र गुरूङको दर्शनले सृष्टिको सिर्जनामा जोवर्णन गरिएको छ हिन्दू दर्शन भन्दा अलग ढंगबाट गुरूङको दर्शनमा सृष्टिको सिर्जना गरिएको बताएको छ । दशैं, तिहार, बुद्धजयन्ती, न्वागीपुजा, चैतेदशै, श्रीपञ्चमी, बैशाख पूर्णिमा, माघेसक्रान्ती, श्रावण संक्रान्ती आदि चाडपर्वहरू अन्य जातिहरूले जस्तै मनाउछन् गुरूङहरू । तिहारमा देउसी भैलो खेल्छन् । यसका अलवा यस जातिका आफ्नै चाडपर्वहरूछन् । जस्तै : ल्होछार, गाउँ बार्ने (ट्हो त्हेँ) आदि । त्यस बेला रोदिघरका समूह नाचगान गरी भरिपूर्ण रमाइलो गर्छन् । यस जातिले ल्होसार पर्व धुमधामले मनाउछन् । उक्त पर्व पौष १५ गतेसम्म मनाउँछन् । रूमजाटारमा बसोबास गर्ने गुरूङहरू बैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली चाड धुमधामले मनाउँछन् । नेवार जातिको जस्तै गुठी सञ्चालन गरिएको हुन्छ । गुठी सञ्चालन गर्न जेठो सदस्यलाई मूलिको रूपमा मान्छन् । जसलाई यिनीहरू चिवा भन्दछन् । दशैँको टीकाको दिन चिवाको हातबाट टीका थाप्दछन् । त्यसैताक घरमा काटिएको भेडा बाख्राको शीर (टाउको) चिवाको घरमा पुर्याउने गरिन्छ । गुठीको सदस्यहरूबीच आइपर्ने समस्याहरूलाई सुल्झ्याउने काम गरिन्छ । बेलाबखतमा गुठीका गुठीयारहरू मिलि भोज भतेर खाने पनि गर्छन् ।

गुरूङहरूले ल्होहारलाई नयाँवर्षको रूपमा धुमधामले मनाउँछन् । नेपाल लगायत विश्वको जुनसुकै कुनामा बस्ने गुरूङ समूदायले ल्होछार मनाउँछन् । ल्हो भन्नाले वर्ष र छार भन्नाले नयाँ । त्यसैले नयाँ वर्ष भनियो । १२ वटा पशुहरूको नाममा वर्ग ल्हो रहेको हुन्छ । पशुहरू वर्ग अनुसार जस्तै : मुसा वर्ग (च्यु–ल्हो), गाई वर्ग (ल्वोँ–ल्हो), बाघको वर्ग (तो–ल्हो), बिरालो वर्ग (हि–ल्हो), गिद्द वर्ग(मुप्री–ल्हो), सर्प वर्ग (सप्री–ल्हो), घोडा वर्ग(त–ल्हो), भेडा वर्ग(ल्हु–ल्हो), बादर वग(प्र–ल्हो), चरा वर्ग (च्हया–ल्हो), कुकुर वर्ग(खि–ल्हो) र मृग वर्ग (फो–ल्हो) । प्रत्येक १२ वर्षमा परिवर्तन हुने १२ वर्ग (जनावरहरू) प्रतिकको रूपमा लिइन्छ । वर्ग गणनामा प्रत्येक पौष १५ देखि बादर वर्गको अन्त्य भई चरा वर्गको आगमन हुन्छ । यसैलाई ल्होछार भनिन्छ । ल्होछारको समयमा पितृ देवताको पूजाआजा गर्ने, चोखोनितो गर्ने र ग्रहदशा काट्न ग्रह शान्तिको पूजाआजा गरिन्छ । अन्य जातिको जस्तै हातमा डोरो बाध्ने पनि गर्छन् । ल्होछारमा घरको आगनमा रङ्गी चङ्गी ध्वजापटङ्का टाग्नुका साथै चाङका चाङ रङ्गी विरङ्गी रोटी पकाउँछन् । ल्होसारको बेलामा गाउँले सबै मिलि सहभोजको आयोजना गर्नुको साथै नाचगरी रमाइलो गर्छन् ।
सदियौदेखि गुरूङहरूले ल्होछारलाई आफ्नो मुख्य चाडको रूपमा मनाउँदै आए पनि वर्ग (ल्हो)को आधारमा आफ्नो उमेर र शुभ–अशुभ कार्यहरू गर्दै आए पनि २०४६ सालपछि मात्र संस्थागत रूपमा ल्होछार मनाउने परम्पराको थालनी भयो । झन्दै साढे ५ लाखभन्दा बढीको सङ्ख्यामा रहेका गुरूङहरूले २०५५ / ०५४ सालदेखि ल्होछारलाई राष्ट्रिय पर्वको रूपमा मान्यता पाउनुपर्छ भन्ने माग सहित गुरूङहरूको हक र अधिकारका साथ सवाललाई पनि यो चाडसँग जोडी मनाउँदै आएका छन् । २०६२ / ०६३ को जन आन्दोलनले ल्याएको परिवर्तन तथा ऐतिहासिक संविधान सभाको निर्वाचनको सफलतापछि देशमा चर्को रूपमा उठेको समाबेशीकरणको नाराले वर्षैदेखि राष्ट्रिय पर्वको माग गर्दै आएको तमु ल्होछारले २०६४सालमा मान्यता पायो ।
सामाजिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको गुरूङहरूको महत्वपूर्ण चाड तमुल्होछारले एकताको भावना, खुशीयाली, भाइचारा, अग्रजको सम्मान तथा सामाजिक सद्भाव बोकेको छ । जोखिम मोल्ने र ठट्यौली (रमाइलो गर्ने) तमू गुरूङहरूको जातीय चरित्र नै हो । पहिले पहिले ऋतु अनुसार गीत गाउने गरेको अग्रजहरूको अनुभव छ । बैशाख बसन्त ऋतुमा ढोलकी र साउन भदौ वर्षा ऋतुमा रसप्रधान र सालैज्यू श्रृङ्गार रसप्रधान हुन्छ । बसन्त ऋतुमा वियोगी वियोगिनीको अलापनै दोलकी गीता गाउने गर्थे । यसका अतिरिक्त ठाडो भाका, तेर्सो भाका, सुनिमाया आदि तमूहरूको प्रसिद्ध लोकगीतहरू हुन् । दोहरीगीत तमूहरू बीच गाइने अत्यन्त लोकप्रिय गीतमध्येको गीत हो । सिक्लेदेखि माथि कोय भन्ने अग्लो डाडो छ, त्यहाँबाट पोखरा उपत्याका छर्लङ्ग देखिन्छ । त्यस कोयको डाँडो र दुधपोखरीमा युवक–युवती जात्रा जाँदा पनि ठाउ–ठाउँमा बिसाउँदै ती स्थानहरूको बयान तथा वर्णन गर्दै एवम् अन्य बस्तुसमेतको वर्णात्मक जात्रा–गीत गाउने चलन छ । वन जङ्गल, मेलापात, निकुञ्ज, पहाड, कन्दराबीच झरनाको कलकल र चराचुरूङ्गीको लयमा सम्बन्धित गराई छहरा–पहरामा ध्वनि प्रतिध्वनित हुँदै आकाशमण्डलमा ती लोकगीतहरू गुञ्जायामान भएको पाइन्थ्यो । आजभोलि कतिपय गीतहरू प्रचलित छन् भने कयौँ गीत आधुकिन गीतले बिस्थापित गरिसकेका छन् । तिनीहरूमध्यका तमू जातिमा छेलो लिहिवा वा छेलो हान्ने परम्परा छ । छेलो हान्ने तमू संस्कृतिको अभिन्न अङ्ग हो । परापूर्वकालदेखि शक्ति देखाउने माध्यामको रूपमा यो खेलको प्रयोग हुँदै आएको छ । तमू समाजमा पहिले–पहिले (मालिक) वा राजा छान्ने खेल केवल मनोरञ्जनका लागि मात्र नभएर तमू नेतृत्व चयन गर्ने परम्परासँग पनि गाँसिएको छ ।

तमू जातिको मेला, जात्रामा छेलो हान्ने परम्परा अहिले पनि चलनमा छ । छेलो जित्ने मानिसलाई आफन्तहरूले फूलमाला, शिरमा क्रेगी (फेटा) लगाइदिएर, अबिर जात्रा गरेर, काँधमा चढाएर गाउँ परिक्रमा गर्ने गरिन्छ । धेरै स्थानमा साँझ नाचगान पनि गर्ने गरिन्छ । सोरठी र घोडानाच प्रसिद्ध रहेको छ यस जातिमा । सोरठी नाच हराउदै गइरहेको छ । घोडा नाच श्रीपञ्चमीदेखि बैशाख पूर्णिमासम्म नाच्ने गर्दछन् । नाच्ने काम अविवाहित महिलाले गर्छ । नाच्ने काम गुरू आमाद्वारा सिकाइन्छ । गुरूआमाले गीतको माध्यमबाट नाच्ने महिलाको शरीरमा देउता प्रबेश गराउने हुँदा महिलाले चोखो नितोमा बढ्ता ध्यान दिइन्छ । त्यस्तै, रोदी नाच पनि गुरूङ समाजमा लोकप्रिय छ । उमेर पुगेका र विवाह नभएका युवायुवतीहरू रोदीघरमा जम्मा भई नाचगान गर्ने गर्छन् । लोग्ने र स्वास्नी बीच सम्बन्ध बिच्छेद भएमा पनि केटी रोदीघर जान्छे । रोदीघर एउटा क्लब घर जस्तै हो । १४/१५ जना सदस्य रहेको रोदीघर चलाउनका केटाका लागि नेवा आवा र केटीको लागि नेवा आमा हुन्छन् । नेवा आमा र नेवा आमाको निर्देशन अनुसार रोदीघर चल्दछ । रोदीघरका सदस्यहरू मेलापात, जात्रामा, विवाह हुँदा सँगै जाने गर्दछ । अविवाहित केटीहरू आफ्नो आमा बुवाको घरमा भन्दा रोदी घरमै सुत्न मन पराउछन् । त्यस्तै गुरूङमा घाँडो नाच पनि नाचिन्छ । श्री पञ्चमी देखि पूर्णिमा सम्म यो नाच नाचिन्छ । खेतबारीको काम गर्ने बखत नाचिने घाँडो नाचमा बालक देखि तन्नेरी पुस्ताले मात्र नाच्दछ । यस नाचमा पनि गुरूवा र गुरूआमाले मन्त्र उच्चारण गरी नाचको थालनी गरिन्छ । नाच्नेले चोखो नितोमा ध्यान दिइन्छ । यो नाच नाच्ने ठाउँमा लिपपोत गरिएको हुन्छ । गाउँका सबै नाच हेरेर आनन्द लिन्छन् । संस्कृतिले सम्पन्न गुरूङ जातिको पहिचान बाजागाजाले राखेको छ । बाजागाजाहरूमा जस्तै : मादल, खैजडी, तौँध, कोप्रे, छेँले, एकपाखे, ङहा, घोरलासिंगी, घउसारङ्गी, आदि हुन ।

ऐतिहासिक कथामा आधारित यस नृत्यको कथामा परशुराम राजा र पम्फावती रानी, नाबालक राजकुमार बालकृष्ण र उनीहरूको परिवेशमा आउने कटुवाल, मन्त्री, धाई, सुसारे, रक्षक गण आदि पात्रहरूको चर्चा गरिएको छ । कथा वर्णनअनुसार सुख शान्तिपूर्वक चलिरहेको परशुराम राजा र पम्फावती रानीको जीवनमा बालकृष्णको जन्म भएपछि अचानक आधी आउँछ । उनको राज्यमा चारैतिरबाट आक्रमण हुन्छ । राजाको लडाइँक्षेत्रमा मृत्यु हुन्छ । रानी यो कुरा सुनेर आकुल व्याकुल हुन्छिन् र सती जाने निर्णय गर्छिन् । परम्परा अनुसार सबैसँग विदा भएर डोली चढेर घाटतर्फ जान्छिन् । दूधेबालक भाइ सुसारेको जिम्मा लगाएर रानी राजासँगै सती जान्छिन् । कथासार यति नै हो । तर त्यसमा राजारानीको बाल्यकाल, यौवनावस्था र विवाहका कुरालाई पनि समावेश गरेर कुशलतापूर्वक वर्णन गरिएको छ । राजाले सिकार गर्दाको वर्णन धेरै दर्शकले उत्कृष्ट मानेको पाइन्छ । राजारानीको मृत्यु पश्चात् कुसुण्डी भेषमा उनीहरूको आत्माले जङ्गल विचरण गरेको पश्चात् कुसुण्डी भेषमा उनीहरूको आत्माले जङ्गल विचरण गरेको पनि कलात्मक शैलीमा वर्णन गरिएको छ । यो गितीनाटक मार्मिक र करूणा रसले पूर्ण भएको कारणले तमू संस्कृतिको सम्पदा भएको लोक संस्कृतिको पारखीहरूको राय छ । घाटुमा अनुष्ठान विधि, कुसुण्डा, सिकारी, जन्म, विवाह, लडाइँ र सती गरी जम्मा ६ अध्याय छन् । घाटुनाच गुरूङ जातिको एउटा आफ्नै विशेषताले भरिपूर्ण संस्कृति हो । हिमचुली, वरचुली, देवचुली आदिको आराधना नगरी घाट जाग्दैन । यो घाँटीबाटै एक्लै सर झिक्ने राग (गीत) भएकोले एक अर्थमा यसलाई घाटु भनिएको हो भनिन्छ । धार्मिक एवं सांस्कृतिक भावनाले ओतप्रोत रहेको घाटुनाच गुरूङ समाजको जीवन्त संस्कृति हो । यसमा तत्कालीन सामाजिकता एवं ऐतिहासिकता पनि छिपेको छ । त्यसैले यो राष्ट्रिय संस्कृतिमा दरिन योग्य छ । कुनै स्वाभिमानी नेपालीले आफ्नो राष्ट्रिय संस्कृतिमा दरिन योग्य छ । कुनै स्वाभिमानी नेपालीलेआफ्नो राष्ट्रिय संस्कृतिको नमुना कतै प्रस्तुत गर्नु परेमा घाटुनाच निर्धक्क अगाडी सार्न सक्दछ । घाटु दुई प्रकारका छन् । एउटा सती घाटु र अर्को बाह्रमासे घाटु । सती घाटुको विधि विधान अलि चर्को छ । यो जुन समयमा पनि नचाउनु हुँदैन । यसको एउटा निश्चित अवधि वा समय हुन्छ । तर बाह्रमासे घाटु जहिले पनि जहाँ पनि आयोजना गर्न सकिन्छ । सती घाटुमा खास गरी एउटी रानी सती जानु परेको कारणले साथै रानीको करूण पुकार र विलापको वर्णन गरिएको हुन्छ । अझ त्यसमा लडाइँको वा सिकारको वितरण, राजाको मृत्यु, रानीको विलाप, देवीदेवताको प्रशस्ति, पुर्खाको उखान, पितृको श्रद्धाञ्जली आदि विस्तृत रूपमा वर्णन गरिएको हुन्छ । सती घाटू प्रत्येक वर्षको वसन्त पश्चिमी अर्थात् श्री पश्चिमीदेखि प्रारम्भ गरी वैशाख पूर्णिमामा भव्यतामा साथ आयोजना गरी त्यसको दुई दिन पछि समापन गर्नु पर्ने रीतिथिति छ । रामायण कृष्ण चरित्रमा आधारित गीतिलयमा रूपान्तर गरेर नाचिने नाचलाई पाउँदूरे नाच भनिन्छ । यो नाच कार्तिक मासबाट शुरूवात गरेर फागूनको अन्तिमसम्म सरस्वती पूजा र खोइ (भोज) गरेर बिर्सजन गरिन्छ । यो नाचको नाम पाउँदूरे नाच कसरी रहन गयो भन्ने सन्दर्भमा कार्तिक मासा गाउँ गाउँमा भैलो माग्दै हिडिन्थ्यो र दानमा धेरै जसो पाउँदूरे कोदोको दान जुन जेठमा रोपेर भदौं अन्तिम अथवा असोजमा पाक्ने कोदो र दुईचार पैसा सहित दान दिने गर्दथ्यो । हालकाहीँ कहीँ अझै पनि यो प्रथा जीवन्त रहेको पाइन्छ । भैलो पश्चात् मङ्सिर, पौष, माघमा पूजाआजा चाडपर्वमा अथवा बोलाएको गाउँ ठाउँमा गएर नाँच नाचिन्छ र दान सङ्कलन गरी आफ्नो गाउँ अथवा चेलिबेटी र दान दिने पाहुनालाई सरस्वती पूजा अथवा भोज खाने दिन निर्धारण भएपछि पत्रचार गरेर बोलाइन्छ । भोजको दिनमा नाचका साथ साथै विविध कार्यक्रम गरी मनोरञ्जनका साथ समापन गरिन्छ । आफ्नै भाषा छ गुरूङहरूको । बर्मेली भाषा अन्र्तगत पर्ने गुरूङ भाषा मनाङ, मुस्ताङ, लमजुङ, कास्की आदि जिल्लामा बोलिचालीको रूपमा रहेको छ । गुरूङ भाषाको लिपी, वर्णमाला, ब्याकरण र साहित्य लेखरचना प्रकाशन भइ रहेको हुँदाले नै यो भाषा विकसित हुन गएको हो । गुरूङ भाषालाई सरल भाषाको रूपमा लिइन्छ । गुरूङहरू गण्डकी अञ्चलका रैथाने जाति भएकाले गुरूङ भाषाको मूल थलो पनि यही प्रदेश हो जहाँ ऐतिहासिक कालमा गुरूङहरूको आफ्नै स–साना नौ थुम गणराज्यहरू थिए । गुरूङ भाषामा खेब माने पढ्नु र प्हिब माने लेख्नु भन्ने शब्द छन् । तर आजसम्म लिपि भेटिएको छैन । स्याङ्जा निवासी पच्युगुरू पिमबहादुर गुरूङले खेमलिपि र कास्की निवासी जगनलाल गुरूङले तमुप्ही नामक दुई प्रकारका लिपी प्रयोगमा ल्याइनु पर्छ ।
केही शब्द बुझाउने गुरूङभाषाहरू जस्तै :
क) पशुपन्क्षी बुझाउने शब्दहरू : नेपाली भाषा गुरूङ भाषा
घोडा तह
सर्प सफि
चिल मुफि
बिरालो हि
बाघ तोह
गाई लो.आ
मुसा चिउ
मृग फोह
कुकुर किइ
चरा चअ
बादर प्रह
भेडा लियू
कुखुरा नक बोका
ख) सङ्ख्या बुझाउने शब्दहरू :
नेपाली भाषा गुरूङ भाषा
एक घ्री
दूई न्ही
तीन सोउ्
चार प्ही
पाँच ङह्
छ टूउ्
सात ईअ्
आठ प्रे
नौ कू
दश च्यू
ग) क्रिया बुझाउने शब्दहरू :
नेपाली भाषा गुरूङ भाषा
खान्छु चम्
जान्छु ह्याम्
बस्छु टिम्
पढछु खेम्
चढ्छु केम्
हेर्नु न्होब
लेख्छु भ्रीम्
घ) नातागोता बुझाउने शब्दहरू :
नेपाली भाषा गुरूङ भाषा
बुवा आ–प
छोरा च्ह
छोरी चमी
भिनाजु अउमु
ङ) शरीरका अङ्ग बुझाउने नामहरू :
नेपाली भाषा गुरूङ भाषा
मुख सु
टाउको क्र
जिभ्रो ले
छाला टिप्ली
च) गुरूङ भाषाका केही बाक्यहरू :
नेपाली भाषा गुरूङ भाषा
गुरूङ भाषा गाह्रो छैन । तमू क्योइ गाह्रो आरे ।
म जहाज चढ्न लागेको छु । ङ जहाज केबर होस्योम् ।
यो पुस्तक पढौं । चु पुस्तक खेले ।
पानी पिइरहेको थियो । क्यु थुसेन मेल ।
मसँग मोवाइल छैन । ङने मोवाइल आरे ।
तपाई कहाँ हो ? कि खनर च?
म गुरूङ हो । ङ तमु ब ।
उसको नाम के हो? चइ मि तो च ?
म कलेजमा पढिरहेको छु । ङ कलेजर् खेसिन मु ।
गुरूङ जातिको भाषा सम्बन्धि अध्ययन गर्दा सबै ठाउँमा एक रूपता देखिदैन । गुरूङ भाषालाई बोलिचालीको भाषामा प्रयोग गर्नका लागि गुरूङ समूदायसँग जोडिएका संघसंस्थाहरू लागी परेको देखिन्छ । गुरूङ समूदायमा गुरूङ भाषा पाठ्यक्रममा समाबेश गरिएको छ । तर सबै बिद्यालयमा गुरूङ भाषाका पाठ्यपुस्तकको अध्यापन गराइएको छैन । जानकारी प्राप्त भए अनुसार रूपन्देहीको देवदह मदर ट्रङ्ग एकेडेमी मात्र गुरूङ पाठ्यक्रम लागू गरिएको छ । पाठ्यक्रममा भाषा मात्र सिक्न मिल्ने खालको छ । गुरूङ जातिको परम्परा, संस्कृति, सरकारलाई पाठ्यक्रममा समाबेश गर्न सकेमा उपलब्धी मूलक रहन जानसक्छ । यस जातिको मुख्य पेशा भनेको नै कृषि हो । खेतीमा धान, मकै, गहुँ, आलु कोदो उत्पादन गर्ने यिनीहरू पशुपालन अन्तर्गत ठूलो परिणाममा भेडा पाल्छन् । भेडाको ऊन निकाली आफूलाई आवश्यक पर्ने लुगाफाटा घरेलु तानबाट बनाउँछन् । भेडाको रेखदेख प्राय : जसो महिलाले गर्छन् । भेडा बेच्नबाट प्रशस्तै आम्दानी गर्छन् । भेडाको अलवा थोरै मात्रामा गाइगोरू बाख्रा, कुखुरा आदि पनि पाल्छन् । स्थानीय जङ्गलमा प्राप्त निगालो बासको चोयाबाट डोको, नाम्लो, थुन्चे र भेडाको ऊनबाट राडीपाखी भाङ्ग्रा, बख्खु पनि बनाई बेचबिखन गर्दछन् । जसले गर्दा हारायसी खर्च गर्न थप टेवा मिलेको छ । आर्थिक सम्पन्न हुने गुरूङहरू व्यापार ब्यबसायमा लागेका पनि छन् भने कमजोर आय भएकाहरू चाहिँ ज्याला मजदुरीतिर संलग्न छन् । प्राचीन र मध्यकालीन इतिहासलाई अध्ययन गर्दा गुरूङहरू सैनिकतिर बढ्ता संलग्नता देखिन्छ ।
नेपाल एकीकरणको समयमा पनि पृथ्वीनारायण शाहलाई गुरूङहरूले बढी सहयोग गरेको देखिन्छ । अहिले पनि ठूलो सङ्ख्यामा नेपाल सेना, भारतीय सेना र ब्रिटिस सेनामा कार्यरत छन् । यिनीहरूको प्रमुख आम्दानीको स्रोत नै शैन्य सेनाबाट भएको छ । यस जातिमा सुत्केरी गराउन गाउका अनुभवी महिलाहरूले सहयोग गर्छन् । जन्मेको बच्चा र आमालाई घाममा राखेर तेल घ्यू शरिरमा दल्ने गरिन्छ । सुत्केरीलाई मासु, भात र घ्यू खाना दिइन्छ । लामा वा घ्याप्रिङले जातीय संस्कार अनुसार बालक ६ अथवा १० दिनमा न्वारान गरिन्छ । कताई बच्चा जन्मेको तीन दिनमा न्वारन गर्ने चलन पनि छ । न्वारान गर्दा दिदीबहिनीहरूलाई दक्षिणा दिनु पर्दछ । भात खुवाइ कार्य छोरा भए ६ महिनामा र छोरी भए ५ महिनामा गरिन्छ । भात खुवाइ कार्य छोरा भए भब्य र छोरी भए सामान्य रूपमा गरिन्छ । भात खुवाइ कार्य गर्दा बच्चालाई भातका साथै घिउ, दही, दूध, मह, माछा मुखमा जुठो लगाइ दिइन्छ । यस्तो कार्य गर्नु आमाको दूध बच्चालाई नपुग हुनाले बताउछन् गुरूङहरू । ३ वर्षको हुँदा ब्रतबन्ध बिजोड वर्षमा गरिन्छ । ब्रतबन्ध गर्दा कसैले गुम्बामा र कसैले गाईको गोठमा लगी टुपी राखी केश मुण्डल गरिन्छ । बच्चाको घाटीमा दाम्लो बाध्ने र नुनको ढिक्का बच्चाको मुखमा राखिन्छ । पशु सरह ब्यवहार गरेपछि शुभ–साइत जुरेको अनुभूति गरेपछि कपाल काट्ने काम शुरू हुन्छ मामाबाट । कपाल काटेको बच्चाको आमा बुवाले हेर्न हुँदैन । ब्रतबन्धनमा बच्चालाई नातागाता इष्टमित्रले टीकाटाला गरी दक्षिणा स्वरूप रूपौँया पैसा पनि दिइन्छ । छोरी ११ वर्ष भएपछि गुन्यूचोली दिने चलन छ । गून्यूचोली छोरीले लगाए पश्चात् विवाह गर्न उपर्यूक्त मानिन्छ गुरूङ समाजमा । छोरा पाएको एक–दुई वर्षमा एउटा उत्सव गर्नु पर्छ । त्यस दिन गाउँका केटाहरू जम्मा भएर आँगनमा पुतपुते नाच नाच्छन् । अनि ती नाच्ने केटाहरूलाई भोज खान भनेर औकात हेरी पचास, साट्ठी रूपैँया सम्म दिइन्छ । धेरै जसो नेपालीहरूको जस्तै छोराको टुपी राख्ने काम गुरूङहरूमा पनि पाँच वर्षको उमेर भएपछि गरिन्छ । गुरूङ जातिमा बालिकाको ७,९,११ वर्षमा अर्थात् बिजोर वर्ग जुराएर गुन्य चोली दिने गरिन्छ । गुन्य चोली दिनेलाई गुरूङ भाषामा ङयूई चोल पिबा भनिन्छ । बालिकालाई बिहानी पख नुवाई धुवाई गरी गुन्यू चोली लगाई दिइन्छ । जम्मा भएका इष्ट मित्रहरूले बालिकालाई आशीर्वाद दिइन्छ । गुन्य चोली तीन दिन सम्म लगाइन्छ । गुन्य चोली दिएपछि बालिका ब्यस्क भएको मानिन्छ । अन्य जातिको जस्तै मामाचेला र फुपुचेलाबीच विवाह हुन्छन् गुरूङ समाजमा । यदि अन्यसँग विवाह गर्न परेमा दस्तुर तिर्नु पर्दछ । चारजाते चारजातेबीच र स्रोहजाते स्रोहजातेबीच मात्र विवाह गर्ने चलन छ । अहिले फरक जातेसँग पनि विवाह हुने गरेको छ । खास गरेर प्रेमविवाह र मागीविवाह हुन्छ गुरूङ समाजमा । विवाह र यौनमा खुल्ला रहेको गुरूङ जातिमा नारीहरूलाई स्वतन्त्र हुन्छ । रोदीघरमा भेटघाट हुँदा मायाप्रिति गाँसेमा विवाह हुन्छ । प्रायश आफ्नो गाउँभित्र विवाहवारी चल्दछ । केटालाई केटी माग्न जादा दुबै पक्षबीच सरसललाह गरी चिनो हेराइन्छ । यदि मिलेको खण्डमा विवाह हुन्छ । विवाहको मिति केटी पक्षले तोक्छन् । विवाह हुने निश्चित भएपछि केटा पक्षबाट जाँडरक्सी र रोटीहरू केटीको घरमा लाने चलन छ । पञ्चे बाजाका साथमा दुलहा पक्ष दुलहीको घरमा जान्छ । दुलहीपक्षले भव्य स्वागत गरी दुलाह जन्तीहरूलाई भोजभत्तेर खान दिन्छ । दुलहीको बुवा आमाले छोरीको गोडा धोएर जल खाने र कन्यादान दिने काम हुन्छ । विवाह भएको २/४ दिन पछि दुलही माइतीगई १/२ वर्ष पछि घर फर्केन गर्छ । जब बच्चा हुँन्छ तब घरमा स्थायी रूपमा बस्छे भनी दुलहीको आमाबुवाले आफूले सकेको दाइजो दिइन्छ । बच्चा जन्मदा हर्ष उल्लासका साथ नाचगान गर्ने र भोजभत्तेर खाने गर्छन् गुरूङहरू । गुरूङ समाजमा विधुवा भाउजुलाई अविवाहित देवर र दिदी बितेको भिनाजुले शालीलाई विवाह गर्न हक लाग्छ । अहिले यस्ता चलन चल्तीमा छैन । गुरूङ जातिमा श्रीमान र श्रीमतिबीच खटपट आएमा अन्तत पारपाचुकि वा सम्बन्ध बिच्छेद जस्ता कार्यले प्रशय पाएको छ ।
पारपाचुके वा विवाहको सम्बन्ध बिच्छेद गर्ने कर्म सिन्को पाङ्ग्रो हो । यसलाई पारपाचुकीका सर्तहरू तय भएपछि श्रीमान/श्रीमती भलाध्मीहरू दोबाटोमा जान्छन् । त्यसपछि यदि श्रीमतिबाट पारपाचुके कुरा पहिले आएको भए श्रीमतिले एउटा सिन्कोलाई दूई टुक्रा पारेर भाच्दिन्छन् । र सिन्काको एउटा टुक्रा आफूले राखेर सिन्काको एउटा टुक्रा श्रीमानतिर फालिदिन्छन् । त्यसपछि श्रीमानले एउटा पाङ्ग्रो फोरेर पाङ्ग्राको एउटा दिउली आफूसँग राखेर पाङ्ग्राको एउटा दिउली, श्रीमतितिर फालिदिन्छ । यसैगरी यदि श्रीमान्बाट पारपाचुकेको कुरा पहिले आएको भए श्रीमानले एउटा पाङ्ग्रो फेरेर पाङ्ग्रोको एउटा दिउली आफूले राखी पाङ्ग्राको एउटा दिउली श्रीमतितिर फालिदिन्छ । त्यसपछि श्रीमतिले एउटा सिन्कोलाई भाँचेर दुई टुक्रा पारी सिन्काको एउटा टुक्रा आफूले राखेर सिन्काको एउटा टुक्रा श्रीमानतिर फालिदिन्छन् । सिन्को लिङ्गको प्रतीक हो । अत : लिङ्गबिच्छेदको सङ्केतका लागि श्रीमतिले सिन्कोलाई भाँचेर दुई टुक्रा पारी एक टुक्रा सिन्को श्रीमान तिर फालेर एक टुक्रा सिन्को आफूसँग राखेको हो । यसैगरी पाङ्ग्रो योनीको प्रतीक हो । अत ! योनी बिच्छेदको सङ्केतका लागि श्रीमान्ले पाङ्ग्रेलाई दूई कप्टेरा पारेर फोरी पाङ्ग्रोको एउटा दिउली आफूसँग राखेर पाङ्ग्राको एउटा दिउली श्रीमतितिर फालेको हो । अब हाम्रो बाटो छुट्टियो र आ–आफ्नो अलग अलग बाटो भयो भन्ने देखाउनका लागि दोबाटोमा गएर सिन्को पाङ्ग्रो गरी पारपाचुके गरिएको हो । यसरी गुरूङहरूको सिन्को पाङ्ग्रो परम्पराले आदिबासीहरूको आदिम प्रचलनलाई राम्ररी प्रस्तुत गर्दछ । गुरूङ बस्तीमा कोही कसैको मृत्यु भएमा तत्कालै लामा वा घ्याप्रिङलाई डाकी अन्याष्टि क्रिया गरिन्छ । नदीमा लगी जलाउने र बिहान डाँडामा लगी गाड्ने दुबै चलन छ । एक वर्षभन्दा कम उमेरको बालकलाई खाल्टो खनी गाड्छन् ।

अर्थिमा लासलाई राखिएपछि पुरूषभए सेतो र महिला भए रातो कपडाले बेरिन्छ । कपडाको ब्यवस्था मामावली खलकले गर्ने गरिन्छ । मलामी पूरूष र महिला सराबरी जान्छन् । लाश गाड्दा मृतकको मुखमा केही अंश सुन, चाँदी, मुगाका साथै खानेकुराहरू राखिदिइन्छ । छोराहरू किरिया बस्छन् । तेह्र दिन जुठो बार्ने ब्यक्तिहरूले नुनसम्म पनि खादैनन् । कसैकसैले छ महिना अथवा वर्षदिनमा ‘पाये’ भन्ने विधि गरी बरखी फुकाउने गर्दछन् । पाये गर्दा बासँको टुक्रामा सेतो कपडाको पुतला बनाएर त्यसलाई सुनको गहनाहरूले सिँगारेर ‘लानासा’ अथवा स्वर्गमा पठाउने भनी उत्तरतिर पठाइदिन्छ, तर यो विधि ज्यादै खर्चालु हुनाले धेरै परिवारहरू मिलेर मरेको धेरै वर्षपछि एकै चोटी गर्ने पनि गरिन्छ । ‘पाये’को सम्पूर्ण विधि नगरेसम्म मृत ब्यक्तिको आत्माले तर्साउन आउँछ भन्ने विश्वास गरी गाउँका डाडाँमा एउटा चैत्य बनाई सो स्थानमा मृत ब्यक्तिको आत्माको लागी खानेकुरा चढाउने गर्दछन् र पायेको विधि पुर्याएपछि उक्त चैत्य भत्काउछन् । पायेको विधि गर्दा बनाइएको पुतलालाई डोरीको एक छेउले बाँधी अर्का छेउले घर आगनको बाहिर राखिएको भेडालाई बाध्ने गरिन्छ । उक्त भेडालाई दाना दिई गाउँको दोबाटोमा लगेर बलि दिइन्छ । यस विधिमा निम्त्याइएका छिमेकीहरू तथा नातेदारहरूको कपडा अथवा गहना ल्याएर पुतलामा चढाउने गर्दछन् । उक्त पुतलालाई विधि समाप्त भएपछि लामा वा घ्याप्रिङले लिई मृत ब्यक्तिको आत्माले गाउँ अथवा घरमा फर्कन नपाओस् भनी कुखुराको बली दिने पनि गर्दछन् । केही पूरूष नातेदारहरूले मृत ब्यक्तिको आधारको रूपमा ‘स्वर्ग’ भनिने नाँच पनि नाच्ने गर्दछन् । कतैकतै मान्छे मरेको दिनमा लास बाहिर लैजानु अगाडि पनि यस्तो स्वर्ग नृत्य नाच्ने गर्दछन् । गुरूङहरूको आदिम संस्कृतिमा विद्यमान क्येक्वाँप्रथा र बैदिककार्य संस्कृतिमा प्रचलित अनुस्तरणी प्रथाको बीचमा अन्तरसम्बन्ध रहेको छ । बैदीक आर्यहरूमा मृत ब्यक्तिको मृत्यु संस्कारमा काटिने पशुलाई अनुस्तरणी भनिन्थ्यो । श्मशानमा अनुस्तरणी पशु बाख्री वा गाइलाई काटेर त्यसको प्रत्येक अङ्गको मासु मृत ब्यक्तिको त्यही–त्यही अङ्गमा राखेर त्यसैको छालाले मृतकको शवलाई माथिबाट धपक्क ढाकिदिइन्थ्यो । त्यसपछि मृत ब्यक्तिलाई सम्बोधन गरेर हे मृत ब्यक्ति । तिमीले गोचर्य (गाइको छाला)धारणा गरेका छौ । त्यसकारण तिमी नदराऊ, यो अगिलने तिमीलाई केही पनि गर्ने छैन । तिमीलाई पितृलोगमा पुर्याइदिनेछ भनेर सम्झाइन्थ्यो । त्यसपछि जातबेद अग्निलाई सम्बोधन गरेर हे अग्नि । तिमीलाई मृत ब्यक्तिको सट्टा गाइको मासु दिएको छ । त्यसकारण तिमीले यस मृत ब्यक्तिलाई नजलाऊ । तिमीले यस मृत ब्यक्तिलाई पितृलोकमा पुर्याइदेउ भनेर प्रार्थना गरी अग्नि संस्कार गरिन्थ्यो । निष्कर्ष नेपालमा गुरूङ जातिको आगमन बारेमा जस्तो सुकै भनाई रहेतापनि युगौयुग अघिदेखि नै हाम्रो देशको भूमिमा बसोबास गर्दै आएका छन् । यस जातिका धेरै जसो युवाहरू ब्रिटिस आर्मी र भारतीय सेनामा संलग्न छन् । बिदेशबाट नेपाल भित्रनै बैदेशिक मुद्रामध्ये गुरूङहरूको रेमिट्यान्समार्फत पठाउने पैसा नै हो । भाषा र संस्कृतिका धनी रहेका यिनीहरूको रोदीनाच अर्थात् रोदीघर आफ्नै एक प्रकारको मौलिकता हो । यही नक्कल गरी अहिले शहरबजारमा दोहरीसाँझ, डिस्को, जस्ता रात्री क्लबहरू सञ्चालन भएको हुन सक्छ । आफ्नै पुरानो धर्म वौपो झाक्री धर्म रहे तापनि अन्य समाजसँगको उठबसले गर्दा गुरूङहरू हिन्दु, बौद्ध र क्रिश्चियन धर्ममा विभाजित भएका छन् । यिनीहरू अन्य जातिले जस्तो मठमन्दिरमा गई पशुपन्क्षीको बली दिदैनन् । आफ्नो रक्षक भनेको देवीदेवता भन्दा पनि प्राकृतिक सम्पदा खोलानाला, वनजङ्गललाई मानी पशुपन्क्षीको बली दिई मासु समेत चढाउँछन् । यसरी हेर्दा यो अन्य जातिको भन्दा पृथक किसिमको धार्मिक कारूङहरूको मौलिक भाषा र मौलिक संस्कृति दिनप्रति दिन लोप भएर जाने संभावना बढेको देखिन्छ ।

पाद टिप्पणी
काम्छे तमू, पदमबहादुर, रजत जयन्ती स्मारिका, नेपाल बौद्ध गुम्बा, सुनसरी, २०७२ पृष्ठ, ४९,५० ।
गुरूङ, जगमान, गुरूङजाति तथा संस्कृति, २०३४, पृष्ठ–२२ ।
मेचीदेखि महाकाली, भाग ३, नेपाल सरकार, २०३१, पृष्ठ–४४५ ।
के.सी, टङ्क, आदिबासी जनजाति एक अवलोकन, लोकसङ्गीत प्रतिष्ठान, नेपाल , २०७१, पृष्ठ १४१,१४२ ।
बिष्ट, डोरबहादुर, सबै जातको फूलबारी, साझा प्रकाशन, २०७१, पृष्ठ–६६ ।
थकाली गुरूङ, होमा, तमू गुरूङ जातिको उत्पत्ति र धर्म संस्कृति, ललितपुर, २०६७, पृष्ठ–२७,२८ ।
शर्मा, जनकलाल, गरिमा, वर्ष २, अङ्क ३, पूर्णाङ्क १५, फागुन २०४०, पृष्ठ–८२ ।
शर्मा, नगेन्द्र ,र नेपाली जनजीवन, साझा प्रकाशन, २०६३, (चौथो संस्करण) पृष्ठ–१२ ।
घले, भद्रकुमारी, तमूँ गुरूङको इतिहास, भद्रकुमारी घले सदन काठमाडौं, २०७४, (डा.स) पृष्ठ–७० ।
गुरूङ, अनिता, तमुल्होछार, सयपत्री, प्रज्ञा प्रतिष्ठान, वर्ष २०६६, कार्तिक–चैत्र, पूर्णाङ्कन–२२ पृष्ठ–१३२,१३३ । थकाली, पूवर्वत, पृष्ठ–२२१ । ऐजन पृष्ठ–२१०,२११ ।
श्रेष्ठ तेजप्रकाश, नेपाली लोकसंस्कृति केही सम्पदा, केही परम्परा, सा.प्र.ललितपुर, २०६०, पृष्ठ–१०४, १०५ ।
प्हांसा, चामबहादुर, तमुसार स्मारिका, ब्यास नगर तमु सुधार सामाज, दमौली, तनहुँ, २०७३, पृष्ठ–४१ ।
लेम गुरूङ रत्नबहादुर, गुरूङ भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्यिक गोष्ठी,
ने.प्र.प्र.काठमाडौं, २०६४, पृष्ठ–७०,७२, ७३ ।
बिष्ट, पूवर्वत, पृष्ठ–६५ ।
गुरूङ पूवर्वत पृष्ठ–७६,७७ ।
शर्मा, पूवर्वत, पृष्ठ–११,१२ ।
,काँणे, पाण्डुरङ बामन, भाग–३, लखनाउ, १९७५, ३(१११९–११२६) ।




