काठमाडौं । पार्टी एकतापछि गठन भएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सम्पन्न भएकाे छ । पार्टी कार्यालय धुम्वाराहीमा बसेकाे बैठकले तीनवटा महत्वपूर्ण निर्णय गरेकाे छ ।
राप्रपाको झण्डामा गाई र चुनाव चिन्ह हलो हुने भएकाे छ । यसअघि तत्कालिन राप्रपा र राप्रपा संयुक्तको सोमबार भएको छुट्टा–छुट्टै र संयुक्त छलफल पछि पार्टीको चुनाव चिह्न हलो राख्ने सहमति भएको थियो ।कमल थापा नेतृत्वको राप्रपाले चुनाव चिह्न गाई राख्नु पर्ने अडान राख्दै आएका कारण सहमति जुट्न सकेको थिएन ।
राप्रपाले पार्टीको एकता महाधिवेशन आगामी बैशाख २५-२८ गते गर्ने निर्णय गरेकाे छ । यसै गरी बैठकले राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने निर्णय गरेकाे छ ।
२०७६ साल फागुन २४ गते कमल थापा नेतृत्वको तत्कालीन राप्रपा र पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहन नेतृत्वको राप्रपा संयुक्तबीच पार्टी एकताको घोषणा भएको थियो ।




