ताजा समाचार

मन्त्रीमण्डल पुर्नगठन भए नयाँले अवसर पाउछन कि पूरानै दोहोरिएलान ?

 काठमाडौं । सरकार महत्वपूर्ण मन्त्रालयहरु खाली रहेपछि प्रधानमन्त्री केपी ओलीले यसै साता मन्त्रीमण्डल पुर्नगठन गर्ने भएका छन् । अर्थ, सञ्चार, शहरी विकास जस्ता मन्त्रालयहरु मन्त्रीविहिन भएपछि प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक राखेर मन्त्रीमण्डल पुर्नगठन गर्ने भएका हुन् । राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनसँगै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

वर्तमान सरकारका कतिपय मन्त्रीहरुले राम्रो काम गर्न नसकेको, आर्थिक अनियमिततामा संलग्न भएको भन्दै पार्टीभित्रैबाट सरकार आलोचित बनेको अवस्थामा प्रधानमन्त्रीले अहिले वाहाल रहेका मन्त्रीहरु परिवर्तन नगरेपनि खाली रहेका मन्त्रालयमा भने केही मन्त्रीहरु थपेर पुर्नगठन गर्न लागेको स्रोतको दावी छ । सत्तारुढ पार्टी नेकपाको पछिल्लो स्थायी समिति बैठकमै पनि सदस्यहरुले कतिपय मन्त्रीहरुका कारण सरकार र पार्टी बदनाम भएको भन्दै मन्त्रीमण्डल पुर्नगठन गर्नुपर्ने आवाज उठाएका थिए । पार्टीको समस्या समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रीमण्डल हेरफेर गर्नुपर्ने सुझाव दिएपछि प्रम ओली मन्त्रीमण्डल पुर्नगठनको निष्कर्षमा पुगेका हुन् ।

स्थायी कमिटी बैठकले पनि त्यसलाई स्वीकृत प्रदान गरिसकेको अवस्था छ । प्रधानमन्त्री केपी ओलीले अध्यक्ष पुष्पकमल दाहालसँग यस विषयमा एकदुई चरण छलफलसमेत गरिसकेका छन् । केहीदिन भित्रै सचिवालय बैठक बस्ने र हेरफेर हुने मन्त्रीहरुको टुंगो लगाउने स्रोतको दावी छ । अबको मन्त्रीमण्डल पुर्नगठनमा दुई कार्यकाल प्रत्यक्ष निर्वाचित सांसद भएर पनि कुनै अवसर नपाएकाले प्राथमिकता दिनुपर्ने भन्दै एकथरी सांसदहरुले सचिवालयका शीर्ष नेताहरुलाई दबाब दिन थालेका छन् ।

सिन्धुलीका गणेश पहाडी, मकवानपुरका विरोध खतिवडा, ओखलढुंगाका यज्ञराज सुनुवार, तेह्रथुमका विजय सुब्बा, खोटाङका विशाल भट्टराई, डोटीका प्रेम आले, दैलेखका राजबहादुर बुढा, दार्चुलाका गणेश ठगुन्नाले दुई पटक प्रत्यक्ष निर्वाचित भएर पनि अहिलेसम्म कुनै अवसर पाएका छैनन् । उनीहरुले संसदीयको समितिको नेतृत्व समेत गर्न पाएका छैनन । राष्ट्रियसभाको कार्यकाल सकिएकाले अर्थ तथा संचार मन्त्री डा युवराज खतिवडाले राजीनामा दिइसकेका छन् । उनको राजीनामासगैं ती दुई मन्त्रालय खाली भएका छन् भने शहरी विकास मन्त्रालय पनि खाली नै छ । अहिले यी तीनै मन्त्रालय प्रधानमन्त्रीले आफैसँग राखेका छन् । सञ्चार र अर्थ दुवै महत्वपूर्ण मन्त्रालय भएकाले ओलीले खाली रहेका मन्त्रालयमा चाडै नयाँ मन्त्री ल्याउन वालुवाटार स्रोतको दावी छ । सम्भवत पहिलो लटमा मन्त्री भएका एक दुई जनालाई कार्यसम्पादनका आधारमा निरन्तरता दिएर बाँकी सबैलाई बिदा गर्ने तयारी भइरहेको भएपनि गत हप्ताको मन्त्रिपरिषद बैठकमा भने ओलीले सबैलाई राम्रोसँग काम गर्न निर्दैशन दिएका थिए ।

पहिलो लटमा मन्त्री भएकाहरूमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा ‘बादल’, डा. युवराज खतिवडा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, वर्षमान पुन, पदमा अर्याल, बिना मगर हुन् । जसमध्ये खतिवडा विदा भइसकेका छन् । नयाँ मन्त्री बनाउँदै विगतमा टेष्ट भइसकेका पुराना अनुहारलाई नै ल्याउने कि नयाँलाई अवसर दिएर सरकारलाई परिणाममुखी बनाउने भन्नेमा छलफल भइरहेको छ । पार्टीभित्रको विवाद समाधान गर्न पुरानालाई नै मन्त्री बनाउनु पर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई भएपनि सरकार सञ्चालनमा प्रभावकारी काम गर्न नसकेकोमा कतिपय मन्त्रीसँग उनको खटपट छ । स्रोतका अनुसार ओलीको चाहाना नयाँलाई अवसर दिएर सरकारलाई नतिजामुखी बनाउने भन्ने छ । तर, उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बनाउनकै लागि भनेर राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गरिएको छ ।

अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालन्ज कर्पोरेशन ( एमसीसी) को विरोध गरिरहेका भीम रावललाई चित्त बुझाउनु पर्ने अवस्था आए कसकसलाई हटाउने भन्ने समस्या ओलीमा कायमै रहेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल मन्त्री बन्ने सूचीमा अग्रपंक्तिमा पर्नेछन् । तर गौतम र श्रेष्ठबारे कानुनी व्याख्याको दोधार रहेको र पौडेलले पार्टी काममा ध्यान दिनुपर्ने भएकाले उनीहरूलाई नयाँ मन्त्रिमण्डलमा लैजाने कि नलैजाने भन्ने बारेमा ओली मौन रहेका छन् । यस्तो अवस्थामा गौतमलाई मनाउन उनकी श्रीमती तुलसा थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाउने सम्भावना रहेको स्रोतको दावी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *