काठमाडौं । नेकपाको संगठन विभागको बैठक सकिए लगत्तै दुई अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच आइतबार बेलुका भेटघाट भएको छ । बेलुका ५ बजेदेखि ७ बजेसम्म ओली प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।
आइतबार पार्टीका उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा भएको संगठन विभागको बैठकले सदस्यता नविकरण गर्ने निर्णय गरे लगत्तै दुई अध्यक्षबीच भेटघाट भएको हो । भेटमा स्थायी कमिटी बैठकका निर्णयहरु दुई अध्यक्षले सर्कुलरको रुपमा जारी गर्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्कुलर एकरदुई दिनमा पार्टीका निर्णयहरुसहित सार्वजनिक गर्ने तयारी गरिएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारै सकिएको र आइतबार साँझ नै दुवै अध्यक्षहरूबीच भेट पनि भएकाले भेटमा उनको पुनः नियुक्तिका विषयमा छलफल हुने अनुमान गरिएको थियो । कुलमानलाई पुनः नियुक्ति दिन सार्वजनिक दवाब भएपनि दुई अध्यक्षहरूबीचको भेटमा सो विषयमा कुनै छलफल नभएको स्रोतले जनाएको छ ।
‘स्थायी कमिटी बैठकले कार्यदलले दिएका निर्णयहरु पारित गरेको छ । ती निर्णयहरु दुई अध्यक्षले हस्ताक्षर गरी सर्कुर्लर जारी गर्ने सहमती भयो,’ स्रोतले भन्यो, ‘पार्टी निर्णयका विषयमा छलफल भएकाले कुलमानको पुनर्नियुक्तिको विषयमा छलफल भएन।’ स्थायी कमिटी बैठकले पार्टीलाई महाधिवेशनमा केन्द्रित गर्ने निर्णय गरेको छ । बैठकले बाँकी एकताको कामलाई असोजभित्र पूरा गर्ने निर्णय गरेको छ । पार्टीको सदस्यता नवीरकणको कार्यलाई मंसिरभित्रै पूरा गर्नेसमेत बताइएको छ । कात्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनका लागि कार्ययोजना पारित गर्ने निर्णय भएको छ। प्रदेश र संघीय सरकारको मन्त्रीमण्डल पुनर्गठन गर्ने बैठकले पारित गरेको छ ।
आइतबारको संगठन विभागको बैठकले महाधिवेशनमा केन्द्रित रहेर सदस्यहरुको तत्काल नवीकरण गर्ने निर्णय भएसँगै पूर्व माओवादीहरुले ३ लाख सदस्यहरुको नविकरण गर्नुपर्ने जनाएका थिए । पूर्व एमालेहरुको व्यवस्थित रुपले सदस्यहरुको विवरण राखिएको तर पूर्व माओवादीहरुले कागाजात विनै नविकरण गर्नुपर्ने भन्न थालेपछि विवाद शुरु भएको बैठक निकट स्रोतले जनाएको छ । संगठन विभागमा उपाध्यक्ष गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहेका छन् । सो विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको स्रोतको दावी छ ।




