ताजा समाचार

लुकीछिपी लभ गर्ने समय गइसक्यो

कला, गला र सौन्दर्यले भरिपूर्ण उदीयमान डेउडा गायिका हुन् रेखा जोशी । कञ्चनपुरको ग्रामीण भेकमा जन्मिएकी जोशीका सात  सय डेउडा गीत नेपाली सांगीतिक बजारमा चलिरहेका छन् । उनी माया पिरतीका भन्दा स्थान विशेष खाँटी श्रृंगार शृगारिएका संस्कार, संस्कृति र त्यहाँका जीवनसँग जोडिएका गीत बढी गाउँछिन् । उनै जोशीसँग संकल्प खबरका लागि कालिका महतले गरेको कुराकानी : 

तपाईंको थातथलो र पठनपाठन कहाँ भयो ?
कञ्चनपुरको महेन्द्रनगरमा जन्मिएकी हुँ । ब्याचलरसम्मको पढाइ पनि महेन्द्रनगरमै भयो । मास्टर डिग्री काठमाडौंस्थित शंकरदेव क्याम्पसबाट गरेँ । म मेनेजमेन्टको विद्यार्थी हुँ ।

मेनेजमेन्टको विद्यार्थी ख्याति प्राप्त गायिका बन्न कसरी सम्भव भयो ?
कला, संगीत भनेको सिकेर आउनुपर्ने क्षेत्र हो । मलाई पनि भविष्यमा ठूलो गायिका बन्छु भन्ने ब्याचलर पढ्दैसम्म पनि थाहा थिएन । गीत पहिलादेखि गाउँथे । सबैले तिम्रो स्वर मीठो छ भन्थे ।

कहाँ  गाउनु हुन्थ्यो ?

त्यसरी औपचारिक ढंगले होइन, घरैमा रमाइलाको लागि । मेरो ममी पनि घरमै गाउनुहुन्थ्यो, उहाँको पनि स्वर मीठो थियो । ममीले मीठो स्वरले गीत गाएको सुनेर म पनि गाउथें । त्यो सुनेर साथीहरु तिम्रो स्वर मीठो छ भन्नुहुन्थ्यो ।

अनि गायिका बन्ने प्रेरणा कहाँबाट पाउनुभयो ?
ब्याचलर पढ्दा म रेडियो कञ्चनपुरमा काम गर्थें, रिसेम्पसन र एकाउन्टेन्टको । पछि मैले समाचार वाचन गर्ने र लोक दोहोरी कार्यक्रम चलाउने जिम्मेवारी पाएँ । त्यो कार्यक्रमको नाम ‘झन्कार’ थियो । त्यो फोनइन कार्यक्रम थियो । त्यसमा कार्यक्रम चलाउनेले कलर्सहरुसँग दोहोरी खेल्नुपथ्र्यो । पहिला एक टुक्का मैले गाउथेँ । अर्को टुक्टा कलर्सहरु फर्काउँथे ।

लोकदोहोरी कार्यक्रम चलाएर गायिका बन्नुभएको हो ?
त्यो कार्यक्रममा मेरो स्वर एकजना दाइले सुन्नु भएको रहेछ । उहाँ आफ्नो गीतको लागि राम्रो गाउने मान्छेको खोजीमा हुनुहुँदो रहेछ । त्यही मेसोमा हाम्रो अफिस आएर मीठो गाउने मान्छे चाहियो भन्नुभयो । अफिसको स्टाफले रेखाजीको स्वर मीठो छ तपाईंको एउटा गीत गाउन दिनु भन्नुभयो । त्यसपछि उहाँले सक्छौं सक्दैनौं एक पटक ट्राई गरन भन्नुभयो । त्यो गीतको नाम ‘घुटुक्क बाडुली लाग्यो’ थियो । गाउने अवसर पाएँ । त्यहीं गीतबाट म हिट भएकी हुँ ।

पछिल्लो हिट गीत कुन हो ?
मरो पछिल्लो गीत हिट ‘कलह’ भन्ने छ । यो भर्खरै आएको हो ।

यसको एक टुक्का भन्नुस् न ?
हो… सललल.. चट्
लकडाउनको बेला, कस्तो छ मेला,
को हुर्कियो एक्लै थिएँ डेरामा,
हे… बाली मास्यो सलहले, माया मास्यो कलहले..,
जहिले’नि बरै भिडियो कलै ..
बाहै्रमास संकाको घेरामा
हे… बाली मास्यो सलहले, माया मास्यो कलहले..,

तपाईं व्यवसायिक गायिका बनेको कति भयो ?
ट्राएल गीत गाउँदै हिट भएपछि यो क्षेत्रतिर व्यवसायिक ढंगले लागेको पाँच वर्ष भयो ।

बिनासिकाइ चर्चित गायिका बन्नुभयो ?
म संगीत सिक्न भनेर अहिलेसम्म कुनै इन्टिच्युट धाएकी छैन । मेरो गला र कला प्राकृतिक देन र ईस्वरीय वरदान हो । स्वर सुन्ने दर्सक, स्रोताहरुले पनि मन पराइदिनुभयो । अग्रज कलाकारहरुले पनि तिम्री गायकी राम्रो छ भन्नुभयो । स्रोताहरुको प्रतिक्रिया पनि सबैतिरबाटै राम्रो आयो । त्यसैबाट पुलकित भएर सांगीतिक फाँटतिर होमिएकी हुँ ।

अहिलेसम्म कति गीतमा स्वर दिनुभयो ?
मैले व्यवसायिक ढंगले गाउन थालेको पाँच वर्ष भयो । अहिलेसम्म लगभग सात सयमाथि गीत गाइसकेकी छु ।

लकडाउनपछि कतिवटा गीत गाउनुभयो ?
मैले लकडाउनपछि २५ वटा गति गाइसकेँ ।

डेउडा बाहेक अरु गीत गाउनुभयो ?
मेरा सबै गीत डेउडा नै हुन् । डेउडाबाहेकका ६, ७ वटा गीत आएकी छु ।

तपाईं गीत लेख्नुहुन्छ ?
म आफैले गीत लेखेकी छैन । गाउनु अघि शब्दहरु चाही छनोट गर्छु । आफूलाई लागेको शब्दमा यसको ठाउँमा यो राखौं भन्छु ।

सात सयभन्दा बढी गीत गाइसक्नुभयो आफ्नै एल्ब कति छन् ?
आफ्नै एल्बम चाहीं दुई, तीवटा मात्रै छन् । अरुकै गीत गाइदिन्छु ।

पुराना कलाकारहरुले दिएको गीत गाउने मौका पाउनुभएको छ ?
आफू पुरानो भइहालेँ । तर, मलाई गीत दिने साथीहरु नयाँ–नयाँ हुनुहुन्छ । पुरानासँग गाउने मौका पाएको छैन ।

खासगरी डेउडा गीतहरु कस्ता हुन्छन् ?
मेरा डेउडा गीतहरु प्रायः यहाँका परम्परागत खाँटी शब्दले शृंगारिएको हुन्छ । ती गीतका शब्द कि ठ्याक्कै वास्तविक जनजीवनमा आधारित हुन्छ, कि देवीदेवताको हुन्छ, कि ठाउँविशेषको हुन्छन् ।

एउटा डेउडा गीत सुनाउनु न ?
यो गीत स्थान विशेषलाई महत्व दिएर बनाइएको छ । एक टुक्का मात्रै भन्छु ।

केटाः पूर्व बग्दो भेरी, पश्चिम बग्दो बग्दो कर्णाली…., पूर्व बग्दो भेरी…
केटी : पूर्व बग्दो धेरी, पश्चिम बग्दो कर्णाली… पूर्व बग्दो भेरी…, 

माया पिरतीका भन्दा कालजयी गीत गाउनुहुन्छ ?
हो, मेरा माया पिरतीका भन्दा दुःख, पीडा, विछोडका गीतहरु बढी हुन्छन् । घरको दुःखले धन कमाउन गएको, साहुँले दुःख दिएको यस्तै छन् ।

अरु गायिका त मोड्लिङ पनि गर्छन् तपाईं गर्नुहुन्न ?

म मोडलिङ गर्दिन्, मेरो त्यो सोख पनि छैन ।

विदेश जाने अवर पाउनुभयो ?
सुदूरपश्चि समाजले गरेको कार्यक्रमबाट दुबई, कतार र कोरिया तीनवटा देश जाने अवर पाएकी छु ।

गायन तपाईंको लागि के हो ?
गायन मेरो लागि जन्मसिद्ध प्रकृतिजन्य उपहार हो ।

यति धेरै गीत गाउनुभएको छ, पढाइमा पनि डिग्री, बिहे गर्नुभयो ?
गरेको छैन ।

कला, गला र सौन्दर्यलाई त मन पराए, बिहे गर्न हुरुक्क हुनेहरु कत्तिको छन् ?
भित्रभित्रै मन पराउने त होलान् । उनीहरु हुरुक्क भए भन्दैमा पछि लाग्ने मान्छे म होइन । धेरै कुरा आफूमा पनि भर पर्छ । तिमीलाई म बिहे गर्छु भन्नेहरु धेरै थिए । तर, मैले वास्ता गरिँन । कतिपय त मेरो स्वर, प्रतिभा देखेर पनि आकर्षित हुन सक्छन् । हरेक कुरालाई विवाहसँग जोड्न मिल्दैन ।

अहिलेसम्म पटक्कै लभ परेको छैन ?
अहिलेसम्म परेको छैन र मैले त्यो सोच गरेको पनि छैन । यदि आफूलाई मनले खाएकोसँग लभ परेछ भने बिहे पनि आँट्न सकिन्छ ।

यदि लभ परिहाल्यो भने नि ?
लुकीछिपी लभ गर्ने समय गइसक्यो । अब परिहाले छ भने सहमतिमा लभ हुन सक्छ । त्यो बिहेमा पनि परिणात हुन सक्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *