ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक शुरु, अध्यक्षद्वय प्रस्तावमाथि छलफल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । साउन १३ गतेदेखि स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो ।

बैठकमा पार्टीभित्रको विवाद समाधना गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार गरेको प्रस्तावमाथि छलफल हुने बताइएको छ । यस्तै, दुई अध्यक्षको जिम्मेवारीलाई प्रस्ट पार्ने तथा आगामी चैतमा महाधिवेशन गर्न प्रस्ताव गर्नेलगायतका विषयहरूमा पनि छलफल गरिनेछ । यसैगरी मन्त्रिपरिषद् पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाई थप प्रभावकारी बनाउने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्नेसहितका विषयमा समेत छलफल हुने बताइएको छ । यस्तै, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थायी कमिटीको बैठक आजै टुङ्ग्याउने विषयम अध्यक्षद्वयबीच सहमति भएको बताइएको छ ।

कोभिड- १९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि नेकपा स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको छ । यसअघि स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टीभित्र चर्को विवाद भएको थियो । यी सबै विषयहरूलाई कार्यदलले आफ्नो प्रतिवेदनमा समावेश गरेको छ । प्रतिवेदनमाथि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असहमति जनाउँदै आएको छ । स्रोतका अनुसार आजको स्थायी कमिटी बैठकमा नेपालले अध्यक्षद्वयको प्रस्तावमाथि आलोचनात्मक टिप्पणी गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *