काठमाडौं । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागको प्रथम बैठक जुम प्रविधिमार्फत शनिबार र आइतबार बस्यो । बैठकले जिम्मेवारी बाँडफाँडका साथै विभिन्न ९ निर्णय गरेको थियो । न्यूनतम योजना तर दीर्घकालीन उपयोगिताको नीति लिंदै सोही अनुरुप कार्य गर्नेदेखि लिएर नेपाल पुकारको प्रिन्ट र डिजिटल प्रकाशन गर्नेसम्मका निर्णयहरु गरेका छन् । विभागीय प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु यस्ता छन् ।
सांगठनिक निर्णयहरु
१) विभागलाई कार्य गर्न प्राप्त छोटो समयलाई दृष्टिगत गरेर ‘न्यूनतम योजना तर दीर्घकालीन उपयोगिता’ को नीति लिंदै सोही अनुरुप कार्य गर्ने ।
२) निर्णय नं. १ ले तय गरेको नीति बमोजिम नेपाली कांग्रेसलाई सूचना, संचार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधि मैत्री (डिजिट्लाइज्ड) बनाउंदै अघि बढ्ने अभियान शुरूवात गर्ने ।
३) निर्णय नं २ मा तय गरिए बमोजिम ‘प्रविधि मैत्री अभियान’ को शुरूवातमा पार्टीको वेबसाईटलाई यथासिध्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने ।
४) प्रविधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेसको बिधानको धारा ३७ को (ज) बमोजिम विभिन्न उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ । सो अनुरुप निम्न उपसमितिमा विभागका निम्न साथीहरूलाई संयोजकको जिम्मेवारी बैठकले सुम्पिएको छ ।
वेबसाईट संयोजन उपसमिति : गोवर्धन राना मगर, छ्हारी संवाद संयोजन उपसमिति : डा. सुरेश आचार्य, प्रविधि संयोजन उपसमिति: ई. दिपेश विष्ट, टेलिभिजन नेटवर्क सूचना संयोजन उपसमिति : नीर शाह , रेडियो नेटवर्क सूचना संयोजन उपसमिति : गोपाल झा, नियमित सूचना सम्प्रेषण संयोजन उपसमिति :दिनेश थापा मगर ।
५) विभाग सार्वजनिक हुनु पूर्व देखि आन्तरिक रूपमा कृयाशिल रहेको ‘कांग्रेस सूचना नेटवर्क’ मा बिषयगत योग्यताका साथीहरू थप समाविष्ट गर्दै विभागमा रहेका साथीहरूको प्रदेश स्तरीय एवं बिषयगत जिम्मेवारी ब्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।
६) बिषयगत अध्ययन र अवधारणा निर्माण उपसमिति एवं सामाजिक सञ्जाल केन्द्रित उपसमिति गठन गरेर सामाजिक सञ्जालमा अभिब्यक्त हुने भावना र विचार समेतलाई आत्मसात गर्दै विभागको सार्वजनिक प्रस्तुतिलाई सैद्धान्तिक र ब्यवहारिक दुबै कोणबाट सबल बनाउने निर्णय बैठकले गरेको छ ।
७) कोरोना संक्रमणको वृद्धिदर र मृत्युदर दुवै तिब्रतर ढंगले बढ्दै गएको स्थितिमा सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक प्रस्तुतिमा थप अध्ययन र विश्लेषणको गहनता राख्नुपर्ने टड्कारो आवश्यकता दृष्टिगत गर्दै बैठकले जनचेतनामा निर्वाह गर्नुपर्ने भूमिका एवं सरकारलाई दिने सुझाव र दबाबमा बढ्दो चुनौती अनुरुपको अवधारणा निर्माण गर्न ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ । नेपाल मेडिकल एसोसिएसनका पूर्व राष्ट्रिय अध्यक्ष एवं विभागका सदस्य डा.अन्जनी झालाई बैठकले संयोजकको अभिभारा सुम्पिएको छ ।
८) दुई कार्यदल गठन गर्ने निर्णय
क) भिन्न समुदायका मुद्दा र मानसिकताको पछिल्लो स्थितिको सूचना र तथ्य अध्ययन गरेर आवश्यक संवाद रणनीति निर्माण गर्न श्री बजरंग नेपालीलाई अध्ययन कार्यदल संयोजकको अभिभारा बैठकले सुम्पिएको छ ।
ख) पछिल्लो पुस्तामा पार्टीको विचार र सिद्धान्त सम्प्रेषण गर्ने सम्बन्धमा प्रविधि मार्फतको बिशेष अभियान अघि बढाउन आवश्यक रणनीति र योजना निर्माण गरि प्रस्तुत गर्न विभागका सदस्य श्री विकल राईलाई कार्यदल संयोजकका रूपमा बैठकले जिम्मेवारी सुम्पिएको छ ।
९) नेपाली कांग्रेसको केन्द्रीय मुखपत्र “नेपाल पुकार” प्रीन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ ।




