काठमाडौं । सत्तारुढ दलभित्रको विवाद साम्य पार्ने खेलोफड्को अझै सकिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले विवाद समाधान गर्नु विषयमा आन्तरिक रुपमा कार्यदल बनाएर सुझाव प्रतिवेदन लिएपनि उनीहरुबीच खटपट भने कायमै रहेको छ ।
ओली दाहालबीच समान्य भन्दा समान्य कुरामा खटपट हुन थालेपछि भने शनिवार दिउसो पार्टीका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए। पौडेल र पोखरेल दुई अध्यक्षले गत साउन ३० मा गठन गरेको समस्या समाधान सुझाव कार्यदलका संयोजक र सदस्य पनि हुन् । उनीहरु सहित पम्फा भुषाल, जर्नादन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे रहेको कार्यदल नेकपाले बनाएको थियो । उनीहरुले भदौं ६ मा दुई अध्यक्षलाई बुझाएको प्रतिवेदनमा १८ भदौंमा सचिवालय बैठकमा नेताहरुले प्रारम्भिक छलफल गर्दा अर्का वरिष्ठ नेता माधव नेपालले अहसमति प्रकट गरेका थिए । प्रतिवेदनमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक १५ बुँदे टिप्पणी गरेपछि भने ओली दाहाललाई पसिना आएको थियो । त्यसपछि भने दाहाल फेरी भट्किन सक्ने भन्दै उनलाई फकाउन पौडेल र पोखरेल खुमलटार पुगेको स्रोतको दावी छ । सरकारको काम प्रभावकारी बनाउन सरकार पूर्नगठन देखि महाधिवशेन सम्मको कार्ययोजना सम्मका विषय समेटिने छन् । यो विषयमा ओलीले मूर्त खाका बनाउन आफ्ना तर्फबाट प्रचण्डसँग छलफल गर्न विवाद समाधानको पहलमा ओलीका तर्फबाट विशेष भूमिका निर्वाह गर्दै आएका महासचिव पौडेल र पोखरेललाई पठाएका हुन् ।
प्रारम्भिक रुपमा पौडेल र पोखरेलले प्रचण्डसँग छलफल गरेपछि के के विषय कसरी समेटन सकिन्छ भन्नेमा धारणा बनाउन सहज हुने ठानी ओलीले पौडेल र पोखरेललाई खुमलटार पठाएको प्रचण्ड निकट नेताहरुको बुझाई छ । उनीहरुले अध्यक्ष दाहालसँग कुन कुन विषयमा के कसरी प्रस्ताव तयार पार्ने भन्नेमा केन्द्रीत रहेर छलफल गरेको स्रोतको दावी छ । उनीहरु त्यहाँ दुई घण्टा बसेर निस्केका थिए ।




