काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै गएपछि उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने सुझाव दिएको छ । फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको हो ।
फोरमका सचिव मदसुन्दुर श्रेष्ठले केही दिन अत्यावस्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यू आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने भन्दै त्यस्तो सुझाव दिएको बताए । उनले अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यू नै उत्तम विकल्प भएको बताए । कोभिड १९ संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरिकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए ।
उपत्यकामा भदौ ३ गते मध्यरातदेखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज (बुधबार) मध्यरात देखि सकिँदै छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ । उनीहरुले रायका लागि गृहमन्त्रालयमा लेखी पठाएका छन् । मन्त्रालयले केही केही स्थान खोलेर निषेधाज्ञालाई खुकुलो बनाउनु पर्ने जनाएको छ ।




