रिबन

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त

नयाँ दिल्ली । भारत चीनको सिमा पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच फेरि झडप भएको छ । भारत सरकारले सोमबार दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको छ । चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ ।

उसले चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको दाबी पनि गरेको छ । चिनियाँ सेनाले सीमामा यथास्थितिको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतीय अधिकारीहरुले बताएका छन् । भारतले चिनियाँ सेनासँग झडप भएको बताएपनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ । साथै यस झडपमा भएको हताहतीको विषयमा पनि कुनै जानकारी दिइएको छैन ।

गत जुन १५ मा पनि भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो । साढे २ महिनापछि पुनः दुई देशका सेनाबीच सीमाको विषयमा झडप भएको हो । गत जुनमा लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएको थियो। उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो । चीन पक्षले भने आफ्ना सेनाको अवस्थाको बारेमा जानकारी दिएको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *