कला/साहित्य

नरेन्द्रनाथ रिमाल : अठार पर्व महाभारत लेख्ने महाकवि

नूहा कोट श्रि भैरवी शिखरको, फेदी महा त्रीशुल गङ्गाातरिणि पार्क ठेरि
गिरिमा, घर हो रिमालै कुल लेफटेन् श्री कुलदीपका अति गुणी छोरा
दीनानाथ भया वेवासका दुइ फूल छोडि ति सुवास हुँदा त सर्ग गया जेठा
ता हुँ नरेन्द्रनाथ पछिको हो काशी नाथै पनि …………………………..
(नरेन्द्रनाथ रिमाल)

इतिहासको पानामा नुवाकोटको छुट्टै छाप रहेको छ । चाहे त्यो राजनीति होस् वा साहित्य नै किन नहोस । नुवाकोटले हरेक क्षेत्रमा विशेष व्यक्ति जन्माएको छ । त्यो मध्येका एक हुन् – महाकवि नरेन्द्रनाथ रिमाल । महाकवि नरेन्द्रनाथ रिमालको जन्म वि.सं. १९३७ साल अश्विन शुक्ल महाअष्टमीका दिन नुवाकोट जिल्लाको चारघरे गाविस माझकठेरीमा भएको थियो । यिनी लप्टन कुलदीप रिमालका नाति तथा प.दीनानाथ रिमाल र गुणकुमारी रिमालका जेष्ठ सुपुत्र हुन् । उनका तीन वटी बहिनी र एक भाइ पनि थिए ।

नरेन्द्रनाथ रिमालको बाल्यकाल सुखमय तरिकाले बितेको थियो । बाल्य अवस्थामा भकुण्डो ज्यादा खेल्न र खीर खान मन पराउने उनी खानेकुरा भाइसाथीलाई बाँडेर खान्थे । त्यस्तै आमासँग मामाघर जान आंँधी मन पराउँथे । बाल्यअवस्थादेखि नै कवि रिमाल प्रकृति प्रेमी थिए । खोलानाला वर्षाको मुसलधारे पानी परेको हेर्न खुबै मन पराउथे।
यिनको प्राराम्भिक शिक्षा कठेरीको घरमै भएको हो । काठमाडाैँ पकनाजोलमा बावुसँग बसी केही काल अध्ययन गरी यिनी वनारसतिर लागे । यी महाकविले प्रसिद्ध संस्कृतज्ञ श्रीधर शास्त्रीसँग अध्ययन गरे ।

उनको अक्षर आरम्भ पाँच वर्षको उमेरमा भएको थियो । तिक्ष्ण बुद्धि भएका कारणले एकपल्ट पढेपछि दोहो¥याएर पढ्न नपर्ने र लामो समयसम्म पनि आफूले पढेको कुरा सम्झन्थे । उनले बाह्रखरी पढ्न जान्ने भएपछि चण्डी, रूद्री तथा कर्मकाण्डका पुस्तकहरू पढ्न जानेका हुन् । उनले स्वअध्ययनबाट उर्दु, हिन्दी र अङ्ग्रेजी भाषामा दखल थिए ।
जेठो छोरोको रूपमा परिवारमा जन्मिएको हुनाले पिता दीनानाथ शर्माले उनलाई औंधी मन पराउथे । काठमाडौँ र अन्य स्थानमा जाँदा पनि कवि रिमाललाई पिताले सँगै लाने गर्दथे । कवि रिमाल १९ वर्षको उमेर हुँदा पिताको मृत्यु हुन गयो, त्यसपछि उनको परिवारमा आर्थिकका साथै कवि रिमालको शैक्षिक गतिविधिमा ठूलै आँच पुग्न गयो । त्यस बेला उनको उमेर १९ वर्षको थियो । पाँच वर्षसम्म उनका परिवार र उनले कष्टकर जीवन बिताउन बाध्य भए । किनकी कमाइधमाई गर्ने पिताको अन्त्य भएका कारणले घर व्यवहार चलाउन समस्या परेकाले उनी केही समय मामा घर गएर बसे । कवि रिमालको साह्रै कष्टसँग २६ वर्षको उमेर भएपछि मामाहरूले ओखलढुङ्गा कै गङ्गादेवी शर्मासँग विवाह गरिदिए ।

चार कक्षा पास गरेर सरकारी जागिर अन्र्तगत मुखिया पदमा नियूक्ति भई तौलिहवामा कार्यरत रहे । तराईको हावापानीका कारण औलाले समातेर कवि रिमाल उपचारका लागि काशी गए । श्री ३ चन्द्रशमशेरले क्याण्टोनमेन्ट इलाका नजिक दरवार किनेका हुनाले वि.सं. १९७० देखि उनले वनारसको नेपाली कोठी केसर किल्लामा मुखियामा जागिर खाए ।

श्री ३ चन्द्रशमशेरको यो विशाल दरवार उनको शेषपछि केसरशमशेरको भागमा प¥यो र यसको नाम केसर किल्ला (Kaisar castle) रहन गयो ।
खरिदारको पद दिन्छु, काठमाडौँ हिड भन्ने केशरशमशेरको हुकुमप्रति अनिच्छा जनार्ई महाकवि बनारसमै बसी मातृभाषाको सेवा गर्ने अठोट गरे । त्यसैले म्यानेजर कहलिए पनि आजीवन मुखियाको खान्ञीमा केसर किल्लामा वहाल गरे ।

महाकवि पढाइमा कुशाग्र थिए । बाल्यकालदेखि नै अध्यात्ममा रूची भएका थिए तापनि यिनले संसारभरी राजनीतिक ,सामाजिक, आर्थिक समस्याहरूले निम्त्याएका द्धन्दहरूको सुक्ष्म अध्ययन गरेका थिए । उनी नेपाली भाषा र साहित्यको विकासका लागि सधैँ चिन्तित हुन्थे । वनारसमा नै रहदा भाषा र साहित्य उत्थानका लागि नरेन्द्रनाथ–काशीनाथ प्रकाशन कम्पनी समेत खोलेर सक्रिय भए । उनी काशीमा छँदा विभिन्न साहित्यक र विद्वानहरूसँग भेटघाट बाक्लै हुन्थ्यो । प्रसस्त मात्रामा उनले साहित्यिक कृतिहरू अध्ययन गर्दथ्ये । विशेषत ः कालिदास, भारबि, माघ, श्रीहर्ष, जगन्नाथ, जस्ता महाकविका कृतिहरूका साथै बाल्मिकी, ब्यासका रचना, रामायण, महाभारत जस्ता महाकाव्य पनि अध्ययन गर्थे । भनिन्छ उनी तत्कालीन सामाजिक घटनाक्रमका अत्यन्त जनफिकार व्यक्तित्व थिए । त्यसै हुनाले पौराणिक महाभारत युद्ध तथा आधुनिक रचना गर्न महाकवि नरेन्दनाथ सफल भए ।

श्री ३ चन्द्रशमशेरको दरबारको कर्मचारीले सधैं तरवारको धारमा हिड्नुपथ्र्यो भनेर सुन्नेहरू भन्ने गर्छन् । त्यस्तो वातावरणमा आफ्नो सामयिक उत्तरदायित्व निर्वाह गरी बाँकी रहेको समयको सदुपयोग गर्दै यिनले नेपाली भाषाको ठूलो सेवा गरेका छन् । यिनले तीनवटा पुस्तक लेखी आफ्नै जीवनकालमा आफ्नै खर्चले वनारसबाट छपाएका थिए । यिनको पहिलो प्रकाशन श्रीमद्भागवत (वि.सं.१९७७) हो । यो नेपाली भाषामा छन्दमा रचना गरिएको पहिलो गीताको पुस्तक हो । संस्कृत नजाने पाठकका निम्ति यो सम्पूर्ण गीता निकै लाभदायक रहेको छ । यो पुस्तक उनले मालिक चन्द्रशमशेरलाई समर्पण गरेका थिए । समर्पण बाक्यमा प्रयुक्त अभिव्यक्तिले महाकविको नेपाली भाषाप्रति अत्याधिक मोह र सम्मान प्रदर्शित गर्दछ ।

रिमालको वि.स. १९८५ सालमा प्रकाशित महाभारत अठार पर्व लोकप्रिय बन्यो । यस पूर्व महाभारत अन्य कविले अनुवाद नगरेको भने चाहिँ होइन तर छुट्टाछुट्टै पर्वमा अनुवाद गरे । महाभारतको अठारै पर्वको अनुवाद गर्ने काम नरेन्द्रनाथ रिमालले नै गरे । यसो भएको कारणले नै गर्दा उनी चर्चित एवम् लोकप्रिय बने । तत्कालीन परिवेशमा विशेष क्षमता भएको कारणले गर्दा नै उनले नेपाली साहित्यलाई दर्बिलो बनाए । तत्कालीन अवस्थामा साहित्यबाट जीविको पार्जन गर्न सक्ने अवस्था थिएन । तैपनि उनमा रहेको अद्भूत प्रतिभाले गर्दा महाभारत जस्तो विशेष काव्यको अठार ओटै पर्वलाई अनुवाद गरिदिए । रामायणलाई विषयवस्तु बनाएर फुटकर कविता लेख्ने कविहरूको सङ्ख्या धेरै भए तापनि सिङ्गो रामायणलाई नेपाली पद्य कवितामा अनुवाद गर्ने पहिलो व्यक्ति भानुभक्त आचार्य नै हुन् भने सिङ्गो रामायणलाई अनुवाद गर्ने अगुवाको रूपमा भानुभक्त आचार्यलाई लिएझै सिङ्गो महाभारतको उद्योपान्त अनुवाद गर्ने अनुवादकको रूपमा नरेन्द्रनाथ रिमाललाई लिन सकिन्छ ।

महाकवि रिमालको महाभारत अठार पर्व अघि भोजराज शर्माले सन् १९०४ मा लेखेको कृति, कृष्णप्रसाद उपाध्यायको महाभारत आदिपर्व (१९०४), कृष्णप्रसाद रेग्मीको महाभारत उधोगपर्व (१९०५) , हरिवंशविक्रम थापाको महाभारत कर्णपर्व (१९०६), भानुभक्त आचार्यको रामायण (१९१०) प्रकाशित थिए । यी पूर्व प्रकाशित कृतिमध्ये भानुभक्त आचार्यको रामायण महत्वपूर्ण मानिन्छ । त्यस्तै पछि प्रकाशन भएका रामप्रसाद शर्माको पूरै महाभारत (२००६), केदारनाथ खतिवडाको महाभारत (१९५७) शिखरनाथ सुवेदीको महाभारत कर्णपर्व (१९६८), हेमनाथको विराटपर्व (१९६७), विश्वनाथ शर्माको समाप्त शान्तिपर्व (२०२६) प्रकाशित भए । यद्यपी अठार पर्व महाभारत पुस्तकमा नब्बे हजार भन्दा बढी श्लोक ११ वटा छन्द (शार्दुलविक्रिडित, शिखरिणी, पृथ्वी, बसन्ततिलक, द्रुतविलम्बित, इन्द्रबज्रा, शालिनी, वंशस्थ, स्वागता, इन्द्रवंशा र अनुष्टुप ) मा रचना गर्ने यिनै रिमाल हुन् ।

नेपाली साहित्यमा पृथ्वी छन्दमा बढ्ता कलम चलाउने कवि रिमाल हुन् भने थोरै मात्रामा कलम चलाउने भानुभक्त आचार्य हुन् । छन्दशास्त्रको विधिलाई कवि रिमालले पालन गरेको देखिन्छ ।

शिखरिणी छन्द
हिँडे अर्जुन जुन दिन उहि दिन श्रीभीम्सेन् पनि जसै
गए पूर्वै दीशा फउज खुव ली जीतन तसै । ।
(सभापर्व, पृष्ठ–७९)

यस कृति पनि त्यतिकै महत्वपूर्ण रहेको छ । कृतिमा भएको प्रमुख विषय नै यूरोपमा भएको लडाईको वर्णन हो । उनी वनारसमा नै बसी विभिन्न पत्रपत्रिकामा छापिएको समाचार ÷ लेखहरू पढेको भरमा वनारसमा नै बसी लडाईको इतिवृतान्त रूपमा वर्णन गर्न सक्नु भनेको चानचुने कुरा होइन । तसर्थ कविको अध्ययनशीलता र विश्लेषण गर्न सक्ने खुबी रहेको सिद्ध हुन्छ । उक्त युरोपेली महाभारत दुई खण्डमा विभाजित छन् । पहिलो खण्डमा १३५, दोस्रो खण्डमा ७० र १२० सवाई छन् ।

पृथ्वी छन्द
बलैसित ती द्रौपदी खिँचि लिएर रथमा लिँदै ।
भग्यो अधम बेगले तिति रुँदै र चिल्लाउदै । ।

(वनपर्व, पृष्ठ–१२४)

शार्दुल बिक्रडित छन्द
हाम्रो फेर तिमरो नपार अहिले हेँस्सी यि शत्रुकन ।
मैले भोलि सबै यि फौज विरली तिम्रो पनी रक्षण । ।
(व्रोणापर्व, पृष्ठ–३४७)

नारी वैश र दाश शूद्र जुन होस् पापी हुने चै पनि
मेरो आश्रय ती लिऊन् परमपद् पाऊँदछन् ठिक तिनी
श्रेत्री व्राम्हण धार्म भक्तहरूको कुन् बाट गई यहाँ
मैलाई भाज एहि दुःखमय यो बस्दै जगत् वीचमा ।।
(भीक्ष्मपर्व, पृष्ठ–७३०)
बसन्ततिलका छन्द
हे दाजु भीमसिनको पनि वात् छ साँचो ।
भूल् भो अघि अब कराउनु छन्ट काँचो । ।
(आश्रमवासिकपर्व, पृष्ठ–५८१)

उनको सिङ्गो महाभारतमा पाँच थान गजलले पनि प्रवेश पाएको छ । उक्त गजल :
क्रोधी र कामि निरबुद्धि मनुष्य कोई
गर्दैन काम उहि गर्यौ तिमी धर्मी होई
मैथुनको समय फेर अनि नीद महाँ
मार्दैन कोहि वीरले सुनबात याहाँ ।

पीठो दीए पानिमाहाँ रयाली
तेस्तो खाई गर्दछौ सेखि बोली
छिछि भन्दै पुत्रको धेर् चिढ्याई
निन्द्रा सुने दुःख लाग्यो मलाई ।

जीन् भो समर् तर युधिष्ठिर नृपलाई
मन्मा छुटेन शोक् मरि बन्धुभाई ।।
गङ्गाजिकै तिरमहाँ सन भाइलाई
भन्नूभयो जितिलियौ तिमीले लडाई ।

प्रथम विश्वयुद्धको विषयलाई लिई सवाई छन्दमा युरोपीय महाभारत(खण्डकाव्य) पूर्वाद्ध र उत्ताराद्र्ध गरी २ भाग वि.स.(१९७७) नामकरण गरी नेपाली भाषामा छपाउने पनि रिमाल नै हुन् । यिनले सवाई छन्दमा सशक्त रूपमा तयार पारेको युरोपिय महाभारत आफैँले वनारसबाट छपाएका थिए । यसै काव्यका केही पक्तिहरू :
जता हेर्यो उता ढाकी, बसेका गौरी शंकर छन् ।
गणेशलाई लिइ काखमा, सबैको मङ्गलै गर्छन् ।। जा ।।
हर्ने गर्ने सबै भर्ने, उनै ईश्वर प्रभु नै छन् ।
उनैको शर्णमा पर्दा माया जंजालमा तर्छन् ।।जा ।।

सुनसुन भाइ हो चारौतर्फ भारी ।
पृथिविमा घेरियको समुन्द्रको पारी । ।
टापुहरु यूरोपमा नाना रितका छन् ।
आधा रुस यतातिर यसिया कहन्छन् । ।
(पैल्लो खण्ड,पृष्ठ–१)
गोर्खा र व्रिटिसको रह्यो, अटुट मैत्री
महाराज चन्द्र संशेरले रह्यो अक्षे किर्ति
ऐनासरि सव भाइ, हेरुन संग्राम पनि
लेखो भुल माफ दिइ हेर्नुस् रस छ पनि ।

धेरै षर्च मिहिनतले ग्रन्थ लिइ पैले ।
निचोड पारि सकलि यो, सवाई लेख्यँ मैले ।।
युरोपको महाभारत, पूर्ण पारेँ जाहाँ ।
तत्सत् भनि शर्ण परूँ, सबै इश्वरमाहाँ ।।
(दोश्रोखण्ड, पृष्ठ–६९)

महाभारतको पहिलो छपाई कार्य वी.एल. पगावी प्रकाशन बनी हितचिन्तक प्रेस रामघाट काशीबाट भएको थियो । उक्त प्रेसबाटै पछि इ.स. १९.६० तिर उक्त महाभारतमा कृष्णप्रसाद रेग्मीका तीन पर्व समाबेश गरी रेग्मीको नामबाट प्रकाशित भए । सबै ठाउँमा छ्यापछ्याप्ती छरिए । कविपुत्र द्वय शिवरत्न उपाध्याय रिमाल र रामरत्न उपाध्याय रिमालले इलाहवाद उच्च न्यायलयमा मुद्दा दायर गरियो । मुद्दाको फैसला अदालतले रिमालको पक्षमा ग¥यो । ५० वर्षको अन्तरालमा पुन : प.नरेनद्रनाथ वाङ्मय निधिबाट प्रकाशन गरेर तमाम नेपाली साहित्य अनुरागीको हातहातमा पुग्न सफल भएको छ ।

यी तीनवटा कृति बाहेक अन्य कृति पनि लेखेका थिए । एकदिन वनारसमा बारूणा पुलमा आएको भीषण बाढीले घरमा पानी पसी कवि रिमालका अप्रकाशित सबै पाण्डुलिपी बगाएको थियो ।
त्यसैले महाकवि नरेन्द्रनाथ प्राचीन र आधुनिक विश्व इतिहासका अध्येता र ज्ञाता थिए । उनले लेखिएका कृतिहरू मकैपर्व काल (१९७५–१९९०) का बीचमा भेटिएको हुनाले कवि रिमाल माध्यमिक कालमा होइनन् , मकै पर्व कालका महाकवि हुन् ।

भानुभक्त आचार्यले नेपाली भाषामा सबैभन्दा पहिला कविता लेखेका हुनाले उनलाई आदिकवि भनिएको हो । नेपाली साहित्यको अनुसन्धानमा नरेन्द्रनाथ रिमालको चर्चामा कमी नै देखिन्छ । त्यसैले सवैभन्दा पहिले महाकाव्य लेख्दा समेत कयौं साहित्यकारलाई यस बारेमा जानकारी नै छैन । तसर्थ नेपाली साहित्य जगतमा उनका कृतिहरू आफैं प्रमाणका रूपमा दरिएका छन् । भावी पुस्ताका लागि खोज अनुसन्धानको एक उत्कृष्ट विषय बनेका छन् नरेन्द्रनाथ रिमाल ।

अन्ततः वि.सं. २००८ साल कृष्ण दशमीको दिन महाकवि नरेन्द्रनाथ रिमालको मृत्यु हुन गयो ।
नेपाली भाषा र साहित्यको क्रमवद्ध इतिहास केलाउनेहरूका लागि पनि महाकवि नरेन्द्रनाथ रिमालद्वारा लिखित श्रीमद्भागवत, महाभारत अठार पर्व र युरोपेली महाभारत सधैँ नै पठनीय र सङ्ग्रहनीय छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *