ताजा समाचार

दुई अध्यक्षले मात्रै कार्यदलको प्रतिवेदन टुग्याउन सक्लान ?

काठमाडौं। वरिष्ठ नेता माधव नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई कोरोना संक्रमण देखिएपछि नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ । वरिष्ठ नेता नेपालका सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपनि उनी होम आइशोलेशनमा बसेका कारण वैठक अनिश्चित भएको हो । गत शनिबार पार्टी भित्रको विवाद समाधान गर्न गठित कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमाथि सुरुमा अध्यक्षद्वयले पहिला छलफल गर्ने र त्यसपछि सचिवालयमा पेश गर्ने बताइएपनि तत्कालका लागि बैठक बस्ने अवस्था नहेको एक सचिवालय सदस्यले जानकारी दिए । कार्यदलले बुझाएको प्रतिवेदनमाथि अध्यक्षद्वयले छलफल गरेपनि तत्काल सचिवालय बैठकमा भने छलफल नहुने भएको हो।

नेता नेपाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष मध्ये एक पदबाट केपी ओलीले राजीनामा दिनुपर्ने अडान राख्ने नेता हुन्। पार्टीभित्रको विवाद समाधान गर्न भन्दै गठित कार्यदलले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बुँदा उल्लेख नगरी प्रतिवेदन बुझाएको छ। आफूले उठाउँदै आएका माग सम्वोधन नहुने अवस्था उत्पन्न भएपछि कार्यदलको प्रतिवेदनप्रति नेता नेपाल असन्तुष्ट बनेका छन्।

प्रचण्डले आफ्नो स्वार्थ पूरा गर्न आफ्नो साथ खोजेको तर स्वार्थ पूरा हुने अवस्थामा धोका दिएको निष्कर्ष नेता नेपालले निकालेका छन्। यसअघि दुई अध्यक्ष मिलेर कार्यदल गठन गरेको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका थिए। पछि सविचलायबाट कार्यदललाई अनुमोदन गराइएको थियो। तर कार्यदलले दिएको प्रतिवेदनमा पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने र प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनु नपर्ने आशय प्रकट भएपछि नेता नेपाल असन्तुष्ट बनेका हुन्। कार्यदलको प्रतिवेदनमा प्रधानमन्त्रीको राजीनाको मागलाई थाँती राख्न र अन्य विवादलाई सैद्धान्तिक भन्दै महाधिवेशनबाट टुंगो लगाउन सुझाव दिइएको छ। प्रतिवेदनमा सरकारको नेतृत्व ओली र पार्टी संचालन प्रचण्डले गर्ने उल्लेख गरिएको छ।

प्रतिवेदनमा दुवै अध्यक्षले सरकार र पार्टी सहकार्य र समन्वयका आधारमा संचालन गर्ने तथा मंसिर चार गतेको सहमतिलाई स्पष्ट गर्दै दुवै अध्यक्षको कार्यविभाजनलाई ठोस रुपमा परिभाषित गरिएको छ। गत साउन ३० गते गठित कार्यदलले ८ दिन लगाएर प्रतिवेदन पेश गरेको हो। प्रतिवेदनमा पार्टीको एकता प्रक्रिया, पार्टीको संस्थागत परिचालन, दुई जना अध्यक्षको अधिकार र सीमा, पार्टीको एकताको बाँकी कामको टुंगो, एकता महाधिवेशन र त्यसले गर्नुपर्ने काम, सरकारको कामलाई प्रभावकारी बनाउने आधारका बारेमा सुझाव दिइएको छ।

यसैगरी कार्यदलले मन्त्रिपरिषद पुर्नगठन गर्न सुझाव समेत दिइएको छ। कार्यदलले प्रतिवेदन बुझाएसँगै असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा बोल्न अधिकांश सदस्यले माग गरेको प्रधानमन्त्रीको राजीनामाको विषय समाप्त भएको छ। यसअघि प्रधानमन्त्री ओलीले दुई मध्ये एक पदबाट राजीनामा दिनुपर्ने बहुमत सदस्यले धारणा राखेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्य गरेका थिए। यो बीचमा विवाद समाधानका लागि भन्दै अध्यक्षद्वयबीच विभिन्न चरणमा छलफल भएपनि निष्कर्ष निस्किने सकेको थिएन। पछि विवाद समाधानको खाका पेश गर्न भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो। कार्यदलले अध्यक्षद्वय ओली–दाहाललाई बुझाएको १७ पृष्ठ लामो प्रतिवेदनमा मन्त्रिमण्डल पुनर्गठन गर्ने, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, एमसिसीलाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने र शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सुझाव समेटिएका छन्।

कार्यदलले पार्टी विधानबमोजिम अध्यक्षद्वय र महासचिवको आपसी परामर्श र सहमतिका आधारमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तथा निर्णय प्रस्ताव तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेस गर्ने र तदनुरूप बैठक सञ्चालन गर्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सबल बनाउने, अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारको नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रित हुने, अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरू चलाउने, निर्णयहरू कार्यान्वयन गर्ने र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुनेजस्ता विषय उल्लेख छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *