ताजा समाचार

कोरोनाको सामना संयम, एकता र दृढता साथका गर्न सभापति देउवाको अपील

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीको सामना संयम, एकता र दृढता साथ पालना अपील गरेका छन । महामारीका कारण उत्पन्न यस्तो प्रतिकुल समयमा सभापति देउवाले सरकार, स्वास्थ्यकर्मी र समस्त नेपाली दिदिबहिनी दाजुभाइमा ४ बुँदे अपील गरेका हुन ।

प्रतिकुल वातावरण र सामग्री अभावका बीच ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेका वास्थ्यकर्मीहरुको सभापति देउवाले प्रशंसा गरेका छन । उनले स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्ने बातावरणको निर्माण गर्न सरकारलाई आग्रह गरेका छन ।

यस्तो छ देउवाको ४ बुँदे अपील

सरकार, स्वास्थ्यकर्मी र समस्त नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक अपील !

देशका कयौं भागमा लक डाउन र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको छ । कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकुल समयमा म समस्त दिदिबहिनी दाजुभाइलाई संयम र एकता साथ आजको परिस्थिति सामना गर्न हार्दिक अपील गर्दछु ।

‘फ्रन्ट लाइन’ मा कार्य गरिरहेकाहरुको उच्च सह्राहना

प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहनु भएको छ । म हृदय देखिनै उहाँहरुको प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोबैज्ञानिक वातावरणमा खलल हुन नदिन बिशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गर्दछु ।

कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ । स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराउन चाहन्छु । आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्र्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो । यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु ।

आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरु संगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भुमिका निरन्तर निभाइरहेका संचारकर्मी एवं हाम्रा गाउँ–शहर देखि अस्पताल सम्मको सफाइमा खटिएका सफाईकर्मीहरुलाई हृदय देखि सम्मान गर्दै यो प्रतिकूलतामा निर्वाह गरेकोको भूमिकाको उच्च सह्राहना गर्दछु ।

समयको सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपील

लक डाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न म सरकारलाई अपील गर्दछु । पीसिआर परिक्षण ७७ जिल्लामै गर्ने गरि अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परिक्षण व्यापक रुपले पु¥याउन माग गर्दछु । कोभिड अस्पतालहरु निश्चित र ब्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड ब्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु । खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु ।

क्वारेन्टाइनहरु ब्यवस्थित नहुंदा कोरोनाको विस्तारमा योगदान पुगेको घटनाहरु स्मरण गर्दै मापदण्डयुक्त क्वारेन्टाइनहरुको ब्यवस्थापनमा अविलम्ब ध्यान पुरर्याउन सरकारको ध्यानाकर्षण गराउंदछु ।

बिदेशमा रहेका नेपालीहरु बारे

लाखौंको संख्यामा बिदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइलाई कोरोना संक्रमणबाट आफू र आफ्नो परिवारलाई सतर्कतापूर्वक जोगाउन अपील गर्दछु । नेपाली जनसम्पर्क समितिहरु तथा देश बाहिर रहेका सबै संघसंस्था र नेपाली दूतावासहरुलाई यो प्रतिकूलताका घडी डायस्पोराका नेपालीहरुको हितमा ऐक्यवद्ध ढंगले कार्य गर्न आग्रह गर्दछु ।

बिदेशमा अप्ठ््यारोमा परेर देश फर्कन चाहने नेपालीलाई उद्वार गर्न नेपाली कांग्रेसले शुरुआत देखि नै सरकारलाई आग्रह र माग गर्दै आएको छ । नीति र ब्यवहार दुवैमा अस्पष्ट रहेर सरकारले देखाएको ढिलासुस्ती र अन्यौलताले प्रवासी नेपालीको पीडा माथि पीडा थपिएको छ । बिदेशमा रोजगार गुमाएर बेखर्ची समेत भएका युवाहरूलाई कल्याण कोषको रकम प्रयोग गरेर निःशुल्क उद्वार गर्न म सरकारसंग माग गर्दछु ।

पार्टीका सबै तहका साथीहरू र स्थानीय तहको नेतृत्वलाई

कोरोनाको संक्रमणबाट जनताको जीवन रक्षामा समर्पित हुनु आज हामी सबै राजनैतिक दल एवं संघसंस्थाहरुको साझा कर्तव्य भएको छ । आपसी एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा उच्चतम मानवीय भावना साथ थप कृयाशिल रहन म नेपाली कांग्रेसका साथीहरू संगै सबै दल, संघसंस्थामा आवद्ध मित्रहरूलाई आग्रह गर्द्छु ।

प्रत्यक्ष जनतासँग सम्पर्कमा रहेर कार्य गरिरहेका देशभरिका स्थानीय तहका सबै थरी नेतृत्वको सह्राहना गर्दै कोरोना विरुद्धको संघर्षका स्थानीय कमजोरीको पहिचान एवं सबै थरि एक भएर कार्य गर्ने इच्छाशक्तिका साथ निदान गर्दै अघि बढ्न हार्दिक अपील गर्दछु ।

जय नेपाल !

शेरबहादुर देउवा
सभापति
नेपाली कांग्रेस

भाद्र ७, २०७७

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *