ताजा समाचार

कुमाल जाति र तिनको सामाजिक संस्कार

नेपालमा बसोबास गर्ने जनजाति यति नै रहेको छ भनी विद्वान्हरूको भनाइमा मतैक्य नभए तापनि करिब पचहत्तर हजारभन्दा बढी नै पारिवारिक समूह रहेको अनुमान भने गरिँदै आएको छ । ती पारिवारिक जनजातिहरूमा अति सरल, पारिश्रमिक र पिछडिएका जातिहरूमध्ये कुमाल पनि एक हो । यो जाति सरल, सोझा र श्यामल वर्णका हुन्छन् । यिनको लगाइखवाइ, जीवनशैली पश्चिम नेपालमा बसोबास गर्दै आइरहेका थारू जातिहरूसँग मिल्दोजुल्दो देखिन्छ । राजनीतिक, निजामती, सैनिक, प्रहरी सेवा आदि क्षेत्रमा ज्यादै न्यून हुनाले यस जातिलाई अल्पसङ्ख्यकका रूपमा लिइएको छ ।

उत्पत्ति-परिचय
कुमालहरू को हुन् ? उनीहरूको उत्पत्ति कसरी भएको हो ? भन्नेबारेमा विभिन्न कथनहरू रहेको पाइन्छ । जसमध्ये प्रचलिन कथन यस्तो छ – एक जना बाहुनका छोराछोरी हाडनाता यौन दुराचारमा फसे र तिनीहरूलाई घरगाउँ छाडेर जङ्गलमा बस्न बाध्य बनाइयो । उनीहरूको जीवनयापनको कुनै आधार नभएको कारणले गर्दा उनीहरूले माटाका तेलबत्तीहरू बनाउन थाले, जसलाई कुमा भनियो । उनीहरूको प्रतिभा देखेर एक राजाले विशेष धार्मिक पर्वका लागि धेरै बत्तीहरू बनाउने आदेश दिए । उनीहरूको जन्मसिद्ध हाडनाता यौन दुराचारले गर्दा उनीहरूलाई अछुत जातको स्तरमा झारिएको थियो तर धार्मिक संस्कारमा प्रयोग गरिने बत्तीहरू कुँदेको कारणले फेरि उनीहरू शुद्धीकृत भए र उनीहरूलाई कुमाल भनियो ।

वैदिक भगवान् प्रजापतिको नाम उपयोग गर्ने क्रममा हिन्दू कुमालका एक वर्ग आफूलाई प्रजापति भन्छन् । भनिन्छ कि भगवान् प्रजापतिले नै सम्पूर्ण पृथ्वीको रचना गरेका हुन् । तसर्थ कुमाल जातिका बारेमा एउटा दन्त्यकथा यस्तो छ–एक दिन भगवान् ब्रह्माले आफ्ना छोराहरूलाई उखु वितरण गरे । सबै छोराहरूले आफ्नो भागमा परेको उखु खाए । तर आफ्नो काममा व्यस्त हुनाका कारण कुमालले माटाको थुप्रोमा उखुको गिट्का राखे । माटाको सम्पर्कले गर्दा उखु उम्रन गई (बिरुवा) मा परिणत हुन गयो । केही समयपश्चात् ब्रह्माले आफ्ना छोराहरूसँग उखु माग्दा कुनै पनि छोराले फिर्ता गर्न सकेनन् । तर कुमालले ब्रह्माजीलाई उखुको बिरुवा नै देखाए । कुमालको काम देखेर ब्रह्माले प्रजापति नाम नै उपहारस्वरूप प्रदान गरे ।

कुमालहरूको उत्पत्तिसम्बन्धी अर्को कथनानुसार उनीहरूको उत्पत्तिकालको यौन दुराचारको उल्लेख गर्दैन तर यसले पनि उसै गरी धार्मिक संस्कारमा प्रयोग गरिने कलात्मक पानसहरू कुँद्ने गरेको ऐतिहासिक तथ्यलाई भने बढी जोड दिन्छ, जसबाट कुमालहरू अछुतको स्तरबाट उठाएर शुद्ध जात भएको दाबी गर्नलाई मद्दत पु¥याउँछ । यसरी यो पौराणिक कथनले कुमालहरूको परम्परागत पक्षलाई सांस्कृतिक धरातलमा प्रमाणित गर्दछ । हिन्दू समुदायको जातीय मान्यताको बाहुल्य रहेको नेपालमा कुमालहरूको जातीय उत्पत्तिको आख्यान एउटा आश्चर्यको विषय बन्न सक्दैन । यसरी परिभाषित गरिएका कुमालहरूको पेसाले उनीहरूलाई अछुतबाट शुद्ध जातिमा प्रवेश गर्नुका साथै समाज बहिष्कृत अवस्थाबाट सामाजिक सम्मिलनका अवस्थामा जान अनुमति प्रदान गर्छ । छिमेकी राष्ट्र भारतमा कुमालहरूको जातीय स्तर क्षेत्रीय आधारमा फरक छ । त्यहाँ कुमालहरूलाई यस्तो उपवर्गमा विभाजित गरिएको छैन । उनीहरू सबैको एकै जातीय वर्ग छ र वंश विभाजन पनि छैन । नेपाली समाजमा रहेको माझी जातिलाई भन्दा आफूलाई उच्च जातिमा गणना गर्छन् –कुमालहरू ।

कुमाल शब्दको उत्पत्ति संस्कृत भाषाको ‘कुम्भ’ शब्दको अर्थ माटाको भाँडा र कार निर्माणको पदयोगमा कुम्भकार पछि अपभ्रंश एवम् प्राकृत हुँदै कुम्हार, कुम्हाल हुँदै मौखिक र मौलिक रूपमा सरलीकृत भई कुमाल बनेको पाइन्छ । यस प्रकार कुमा भनिन्छ । यस अर्थ कुमाल र सीपको दृष्टिकोणमा ऐतिहासिक जाति हो । लाखौँलाख वर्षदेखि अर्थात् रामायण महाभारत जस्ता धार्मिक ग्रन्थहरूमा कुमाल जातिको उच्चारण गरिएको छ । भारतमा कुमाललाई कुम्हार भन्ने गरेको पाइन्छ । कुमालका बारेमा प्रमाणित इतिहास भने हालसम्म खोजको विषय बनेको छ भने प्रकाशित पुस्तक साहित्यिक कृति निकै कम छन् ।

हिन्दूधर्मको इतिहासमा उल्लिखित चार युग सत्य, त्रेता, द्वापर र कलियुगमध्ये देवताको युग सत्ययुगदेखि लोकप्रिय एवम् प्रसिद्ध कथाको पुस्तक श्रीस्वस्थानीको कथामा समेत कुमाल र कुमाले पेसाको वर्णन गरिएको छ । इसाई धर्मका धर्मग्रन्थ बाइबलमा पनि कुमालेको विविध प्रसङ्गमा उदाहरणीय रूपमा उल्लेख र वर्णन गरेको पाइन्छ । यस सन्दर्भबाट पनि धरतीमा कुमालको बसोबास, कुमालको जातीय नामकरण र पेसा सत्ययुगदेखि नै प्रचलित पाइन्छ । (तिलकबहादुर कुमाल)

जनसङ्ख्या र बसोबास
कुमाल जातिको मुख्य बसोबास क्षेत्र कुमाउँ र गढवाल रहेको अड्कलबाजी गरिएको छ तर कुनै ऐतिहासिक तथ्यपूर्ण अभिलेख भने आजसम्म भेटिएको छैन । आजभन्दा एक हजार वर्षअगाडिदेखि देशका विभिन्न भागमा कुमाउँ र गढवालबाट छरिँदै आएको यो जाति नेपालको सल्यान, प्युठान, नुवाकोट, गुल्मी, पाल्पा, कास्की, वाग्लुङ, अर्घाखाँची, धादिङ जिल्लाका साथै अन्य जिल्लाहरूमा पनि बसोबास गर्दै आएको छ । विविध घटनाक्रमले गर्दा भारतको कुमाउँ गढवालबाट बसाइँ सरी नेपाल प्रवेश गरेको हुन सक्ने विश्वास गर्न सकिन्छ । कुमाल जाति नेपालका अलावा भारत, बङ्गलादेश, भुटान र पाकिस्तानमा पनि बसोबास गरेको देखिन्छ । कुमाल जाति नेपालका कुमालहरू प्रायः एउटै समुदायमा बसोबास गर्न रुचाउँछन् । वि.सं. २०५८ सालको जनगणनाअनुसार कुमालहरूको ९९२९० छ भने २०६८ को जनगणनाअनुसार १२११९६ रहेको देखिन्छ ।

कुमालहरू तराई खण्डका थारू जातिका समुदायबाट अलग्गिएर नदीकिनार हुँदै पहाडका कछाड खण्डमा बसोबास गर्न आइपुगेको मानिन्छ । तिनको जातिगत सम्बन्ध पनि थारूसँगै भयो । तर कुमालहरू मङ्गोलियन आकृतिको देखिए तापनि मूलतः यिनीहरू आर्य नै हुन् र यिनले भाषासंस्कृति र धर्म पनि आर्यहरूको ग्रहण गरेको पाइन्छ । पहाडी जातिको सम्मिश्रणबाट तिनमा मङ्गोलियन रक्त आएको हुनु सम्भव छ । भाषासंस्कृति र धार्मिक परम्पराका आधारमा विचार गर्दा कुमालहरू तराईका आदिवासी मानिने थारू जातिकै संसर्गमा बस्ने जाति हो र तराईबाट बसाइँ सर्दै पहाडको कछाड खण्डमा त्यहाँबाट पुनः विस्थापित भई भित्री मधेसमा बसोबास गर्न आएको हुन सक्तछन् भनी हीरामणि शर्माको भनाइ छ । त्यस्तै डोरबहादुर बिष्ट लेख्छन्– नेपाल एकीकरणमा गोरखाका कुमालहरूले निकै ठूलो योगदान रहेको कुरा ऐतिहासिक जानकारीबाट पाइन्छ । कुमालहरू यहीँका आदिवासी भएका कारणबाट यिनीहरू यहाँका हावापानीसँग परिचित थिए । यिनीहरू शारीरिक रूपमा हृष्टपुष्ट पनि थिए । त्यसैले यिनीहरू कतिपयले प्रत्यक्ष रूपमा लडाइँमा सहभागिता भए भने कतिपयले समाचारवाहकका रूपमा काम गरेको थाहा पाइन्छ जो त्यस समयमा डौडाहा भनेर परिचित थिए ।

शिक्षा
मुलुकको विकासका लागि शिक्षा अपरिहार्य नै छ । व्यक्तित्व विकासका लागि शिक्षाले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । कुमाल समुदायमा शिक्षाको स्तर हेर्दा त्यति सन्तोषजनक देखिन्न । विद्यालयमा पढ्दापढ्दै बीचमा नै पढाइ छाड्ने गरेको सङ्ख्या बढी नै छ । उच्चशिक्षा हासिल गर्ने सङ्ख्या औँलामा गन्न सक्ने स्थिति छ । गरिबीका कारणले गर्दा कुमालहरूले पढाइतिर अग्रसरता दिन सकेको छैन । तसर्थ यो जातिको शिक्षामा पहुँच बढाउनका लागि राज्यले ध्यान दिनुपर्ने देखिन्छ ।

घरबास
कुमाल जातिका घरहरू प्रायः एउटै ठाउँमा झुपुक्क हुन्छन् । कतैकतै भने चारपाँच घरका बस्तीहरू पनि छन् । यिनीहरूका घर काठ, माटो र ढुङ्गाले बनेका दुई तलाका हुन्छन् भने घरको छाना खरले छाएको हुन्छ । कतैकतै नगण्य रूपमा ढुङ्गा (टायल) ले पनि छाएका हुन्छन् । आर्थिक स्थीतिमा सुदृढ हुने कुमालहरू जस्तापाताले छाना छाउन पनि थालिसकेका छन् । दुई तल्ला भएको घरको अगाडि र पछाडि भित्तामा गोबर माटाले पोतिएको हुन्छ । घरको भुइँतलामा भान्छा, सुत्ने ठाउँ र भ¥याङको कुनामा कुखुरा पाल्ने खोर हुन्छ । कसैले त भुइँतलामा नै बाख्रा, भेडा, गाइगोरु पनि बाँध्ने गरेका हुन्छन् । घरको माथिल्लो कोठा (पहिलो तल्ला) मा भकारी र भण्डारका रूपमा प्रयोग गर्ने गर्दछन् भने दुवै तलाको भित्ताको कुनामा खटप्वाल बनाई देवीदेवताको मूर्तिहरू राखिएको हुन्छन् । घरको अगाडि प्रशस्त मात्रामा आँगन छाडिएको हुन्छ । तल्लो तलाको देब्रे दिशामा ढिकीजाँतो राखिएको हुन्छ । झ्यालढोका ससाना हुने हुँदा घरभित्र अँध्यारो हुन्छ । घरको नजिकै सुँगुरका खोरहरू हुन्छन् । यस जातिमा व्यवस्थित चर्पी प्रयोग गर्ने चलन छैन । दिसापिसाब गर्नका लागि घरनजिकैको खोल्साको प्रयोग गर्छन् । यद्यपि वर्तमान अवस्थालाई नियाल्दा अलि आर्थिक सम्पन्न हुनेहरूले चर्पी प्रयोग गर्न थालेका छन् ।

शारीरिक बनावट
कुमालहरूको शारीरिक बनावटलाई हेर्दा तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूसँग मिल्दोजुल्दो देखिन्छ । यिनीहरूको शरीर कसिला, मोटाघाटा, थेप्चा नाक, खैरा, दारीजँुगा कम आउने, आँखा गहुँगोरो वर्णका हुन्छन् । मङ्गोलियन आकृतिका देखिने कुमालहरू अति मिलनसार र सहयोगी भावनाका हुन्छन् । अतिथि सत्कारमा अगाडि नै छन् । बचाएर राख्ने स्वभावमा यिनीहरू हँुदैन । जति छ त्यही समयका लागि सिद्ध्याउँछन् ।

पहिरन
कुमाल समुदायमा पुरुषहरू सेतो कोराको टोपी, सेतो लँगौटी र तीन हात बराबरको कछाड, टाउकोमा फेटा बाँधी, पछाडि कम्मरमा खुर्पेटो भिरी, गाईबस्तु चराउन, गोरु जोत्न, नदीमा माछा मार्न जान्छन् भने महिलाहरू गुन्यूचोली नाकमा बुलाकी कानमा ढुङ्ग्री र गलामा विभिन्न किसिमका माला पहिरिन्छन् । अहिले कुमाल जातिका बालबालिका र युवायुवतीहरू आधुनिक पहिरन लगाउने गर्दछन् ।

मनोरञ्जन
कुमालहरूलाई आफ्नो मन बहलाउनका लागि नाचगान गरी मनोरञ्जन लिने काम गरिन्छ । यस जातिमा विशेषतः झाम्रे नाच, कौरा नाच, मारुनी नाच र हेम्फै नाच प्रसिद्ध छन् ।

झाम्रे नाच :
कुमाल जातिमा झाम्रे नाचलाई ज्यादै महŒवपूर्ण मनोरञ्जन पर्वका रूपमा लिइन्छ । यस नाचमा एकै ठाउँमा जम्मा भई सामूहिक नाचगान गरिन्छ । झाम्रे गीतमा युवा र युवतीबीच दोहोरी गीत गाइन्छ । यस गीत लगाउने व्यक्तिले भेला भएका सबैलाई जाडँरक्सी खान दिइन्छ । झाम्रे गीतको बोलमा कुनै विषयवस्तु हुँदैन । स्वतन्त्र हुन्छ । विशेषतः यो झामे्र विवाह उत्सवमा प्रदर्शन गर्ने गरिन्छ । त्यस्तै कुमालहरूमा मारुनी नाच पनि चल्दै आएको छ । यो नाचका पुरुष नै महिलाको पहिरनमा नाच्ने काम गरिन्छ । यस नाचमा दर्शकहरूलाई हँसाउने काम गरिन्छ । यो नाच पनि विवाह र अन्य चाडपर्वमा समेत प्रदर्शन गरिन्छ ।

कौरा नाच :
कौरानाच लोकगीति नाटकमा आधारित छ । रामायण, महाभारतमा घटेका घटनाक्रमलाई विषयवस्तु बनाउनुका साथै प्रेमप्रणयका शब्दसंयोजन गरी नाचगान गरिन्छ । यो नाचगान शिवरात्रि, वसन्तपञ्चमीबाट नाच सुरु गरी दशहरामा गएर अन्त्य गरिन्छ भने कतै माघे सङ्क्रान्तिमा सुरु गरी असारमा टुङ्ग्याउने गर्दछ । पहिले कौरा नाचमा अविवाहित युवती मात्र नाच्ने गर्दथे भने अहिले युवायुवती दुवै नाच्ने गर्दछ । खैँचडी बजाएर नाचगान गरिने कौरानाच गोरखा, गुल्मी, नवलपरासी, तनहुँ आदि जिल्लामा निरन्तता दिँदै आएको छ । पहाडी बस्तीमा पानीको दुःख हुने र पानी लिन जाने क्रममा, समय बिताउनका लागि कौरा नाचको थालनी गरेको स्थानीय भनाइ छ ।

सोरठी नाच :
सोरठी नाचले यस जातिको मौलिकता झल्काएको छ । विशेषतः यो परम्परा पाल्पा, गोरखा, स्याङ्जा र तनहुँ जिल्लामा मात्र जीवन्त रहेको छ । कुमालहरूको यो नाच पुरानो हो । कुमाल भाषा सोह्रथीबाट सोरठी भएको भनिन्छ । १६ ताल र १६ हाँगा भएको सोरठी नाचमा सत्ययुगका रानीको गर्भ रहेदेखि बच्चाको जन्म नहँुदासम्मका घटना क्रमलाई गीतको भाकामा लयबद्ध गरिन्छ । यो नाच अहिले विवाह, व्रतबन्ध, तिहार र जात्राहरूमा नचाइन्छ । जोर मादल र झ्याली प्रयोग गरिने वाद्य सामग्रीको नाचमा पुरुष मात्र नाच्ने गरिन्छ ।

हेम्फै नाच :
चिटिक्क सजिएकी युवती, सानो टाउको तर ठूलो शरीर । होचो तर छमछमी नाच्ने । पछिपछि लाहुरेले पछ्याइरहेको । झट्ट हेर्दा अनौठो लाग्ने । दर्शकमाझ खास खुस । अनि बीचैमा प्रश्न सोधिन्छ–कहाँबाट ल्याएको ? कस्ती डल्ली ? के काम गर्ली ? हामीकहाँ काम आउला कि नआउला यस्ता सबै प्रश्नको गीतबाट उत्तर दिँदै काम गरी देखाउने कुमाल जातिको नाच हो हेम्फै । वाग्लुङ जिल्लाको पश्चिम क्षेत्र तथा गुल्मीको मुसिकोट नपामा परापूर्वकालदेखि कुमाल जातिमा देखाइँदै र नाचिइँदै आइएको लोपोन्मुख हेम्फै नाच हिजोआज फेरि देखाउन थालिएको छ । हेम्फैको खास अर्थ पत्ता नलागे पनि केटा र केटीबीचको सम्बन्ध हो भन्ने नाचबाट बुझ्न सकिन्छ । विशेष गरी पहिले रोदी बस्ने चलनसँग यसको सम्बन्ध देखिन्छ । रोदीघरमा मलायाको लाहुरेले उतैबाट विवाह गरी घरमा ल्याएको प्रेमिकालाई रोदीमा पु¥याउने र रोदीमा जम्मा भएका सबैले प्रश्न सोध्ने गरिन्छ । नयाँ नानीलाई कसरी ? किन ? कहाँबाट ? लिएर आएका भनी सोध्ने र आफ्नो समाजमा हुने सबै काम जाने नजानेको परीक्षा लिने विषयसँग यो नाच जोडिएको छ ।
यो नाच भाद्र कृष्णपक्षको औँसीका दिन सुरु गरिन्छ र शुक्ल पक्षको पूर्णिमाका दिन विशेष पूजा–आराधनासहित सम्पन्न गरिन्छ ।
मानिसहरू रोदीघरमा जम्मा भई घरभित्र रहेकी हेम्फैलाई बोलाउने हेम्फै लिएर सँगै लाहुरे आउने क्रमसँगै गाइने सुरुको

टुक्का यस्तो हुन्छ :
हा हा हो………………
माला र मुग्लानैबाट,         आयो मेरो हेम्फै
माला र मुग्लानैबाट,         आयो मेरो हेम्फै
माला र मुग्लानैबाट,          ढोका खोल हेम्फै
माला र मुग्लानैबाट,           बाटो खोल हेम्फै
गीतका भाव र कर्म हेर्दा यो पहाडी भूगोलमा नाचिने नाच हो भन्न सकिन्छ । खास गरी वाग्लुङ, गुल्मी, गोरखा, तनहुँ र लमजुङमा हेम्फै नाच गरिन्छ । नयाँ पुस्ता यसप्रति आकर्षित नभएकाले पुस्तान्तरण नभए लोप हुने खतरा बढेको छ । (सुवास गौतम)

चाडपर्व
कुमालहरू हिन्दूधर्म मान्ने हुँदा अन्य हिन्दूधर्म मान्ने जातिहरूले जस्तै चाडपर्व मनाउँदै आएका छन् । यसका अलावा यिनीहरू माघे सङ्क्रन्ति भव्य रूपले मान्ने गर्दछन् । खेतबारीको काम सकी फोहोरमैला फाली नजिकका आफ्ना नातेदारहरूलाई डाकी जाँड, रक्सी खान दिन्छन् – सत्कारपूर्वक र आफूहरू पनि खान्छन् । यो चाड मान्नुको अर्थ घाउ, खटिरा र रोगव्याधि नहोस् भन्नु नै हो ।

कुमालहरूमा एकै बस्तीमा बसोबास गर्ने एकै वंशका परिवारहरू सबैभन्दा बुढ्यौलीहरूले वर्षको दुई पटक कुलायनको पूजा गर्नुपर्ने हुन्छ । यस्तो धार्मिक कार्य वैशाख पूर्णिमा र कात्तिक पूर्णिमामा गरिन्छ । माथिल्लो कोठाको उत्तरपूर्वी कुनामा एउटा वेदी हुन्छ । त्यस ठाउँमा आफूहरूले दैनिक प्रयोग गरिने धारिला हातहतियारहरू राखिएको हुन्छ । त्यस हतियारको वरिपरि धान, मकै, गहुँ आदि अन्नहरूका फलहरूलाई भित्तामा झुन्ड्याइन्छ । वेदीचाहिँ पितृहरूको नाममा समर्पित हुन्छ ।

पूजाअर्चनाको समयबाहेक अन्य समयमा प्रायजसो सुकुल गुन्द्रीले छोपिन्छ । परिवारका बूढापाका वा कुनै एक जना नजिकको नदीमा नुहाएर धोतीकछाड फेरेर पूजास्थललाई गाईको गोबरले लिपपोत गरिन्छ । लिपपोतको कार्य सकिएपछि हतियार राखिएको अग्र भागमा धातुहरूद्वारा निर्मित एउटा त्रिशूल गाडिन्छ । त्रिशूलनजिक एउटा तेलको दीप प्रज्वलन गरिन्छ । बत्तीको सामुन्ने एउटा केराको पात फिँजाएर त्यसमाथि चामलले भरिएका बाइसओटा टपरीहरू राखिन्छ र भातद्वारा बनाइएका पिण्डहरू प्रत्येक टपरीमा राखिन्छ । पूजापाठ गर्ने व्यक्तिले चोखो थाल र बटुका राखी त्रिशूललाई समाई पितृहरूलाई नबुझ्ने गरी गुनगुनाउँछन् । त्यसपछि उक्त पुजारी काम्दै पूजास्थलका बीच भागमा गएर पुनः काम्न थाल्छ । त्यस व्यक्तिलाई देवता चढेको थाहा हुन्छ । त्यस समयमा पुजारीले कपडाका टुक्राहरू र तीनओटा कुखुराका भालेहरू बलि चढाउने काम गरिन्छ । त्यसै दिन घरको नजिक कुनै रूखमुनि स्त्रीका लागि पोथी र पुरुषका लागि भाले कुखुरा बलि चढाइन्छ । बलि चढाएको रूखमुनि विभिन्न किसिमका कपडाहरू टाँग्ने कार्य गरिन्छ । यस जातिलाई धार्मिक प्रकृतिका सोझा जातिका रूपमा लिइन्छ । धर्म, पाप जस्ता धार्मिक आस्थालाई बढी विश्वास गर्ने, कुमालहरू तन्त्रमन्त्र र धामीझाँक्रीको बढी नै विश्वास गर्छन् ।

पहाडमा बस्ने कुमालभन्दा तराईमा बसोबास गर्नेहरूको चाडपर्व धेरै नै छ । राष्ट्रिय पर्वहरू मान्ने तरिका एउटै छ । तराईमा मानिने भिन्न चाडपर्वहरू जस्तै चौरचन, सिरुवा, जितिया आदि हुन् ।

चौरचन भदौ शुक्लपक्ष तिथिमा यो पर्व मनाउँछन् । यो पर्वमा केरा, दही, चिनी, खीर, मिठाई, चामलको पीठोबाट बनाइएका पुरी पकाएर काली बन्दी गारैया हनुमानजी र चन्द्रमालाई पूजाआजा गरिसकेपछि सबै मिलेर रमाइलो गरी प्रसाद र अन्य परिकारहरू खान्छन् । चौरचन पर्वलाई चन्द्रमा पर्व पनि भन्न सकिन्छ । यो पर्वको मुख्य उद्देश्य हो कुमाल जातिको जीवनमा चन्द्रमा जस्तै उज्यालो र शीतल छाओस् र जीवनभरि खुसी र शान्ति होस् ।

सिरुवा पर्व नयाँ वर्ष वैशाख महिना एक गते मनाउँछन् । यस पर्वलाई मैथिली समाजमा सिरुवा वा जुडशक्ति पनि भनिन्छ । यस पर्वमा चैत महिनाको अन्तिम पहरमा पकाएका परिकारहरू नयाँ वर्षको दिनमा खान्छन् । यस पर्वमा खास गरी विभिन्न परिकारहरू खाने र खुवाउने गर्दछन् । एकआपसमा खुसी र आशीर्वाद साटासाट गर्दछन् । हजुरबा, हजुरआमा, दाजु, दिदीहरूले आफूभन्दा ससाना केटाकेटीहरूलाई बिहानै नुहाएर चिसो निर्मल जल टाउकोमा छर्किई आशीर्वाद दिन्छन् र साना केटाकेटीहरू गोडामा ढोग्ने गर्दछन् । यस प्रक्रियालाई जुडशीतल भनिन्छ । त्यसका साथै बूढापाकाहरूले रूख, बिरुवा, बागबगैँचा, खली खरिहान र अन्य ठाउँमा गएर पानी छर्केर जुराउने काम गर्दछ । यस पर्वको मुख्य उद्देश्य एकआपसमा मित्रता गर्नु हो ।

त्यस्तै यस जातिले मनाउने अर्को महत्वपूर्ण पर्व जितिया हो । महिलाहरूले सन्तानको मुख र लामो आयुका लागि महान् देवताको पूजाआजा गर्दछन् । विशेषतः यस पर्वमा दही, चिउरा, चिनी, केरा खान्छन् । परिवारमा सुख, शान्ति होस् भन्ने कामनाका साथ यो पर्व मनाउने गर्दछन् । सङ्कट परेको परिवारका सदस्यहरूलाई बचाउनु नै यो पर्वको उद्देश्य हो ।

धर्म
धर्म गरेअनुसार मान्छेको भाग्य निर्धारण हुने कुरामा विश्वास राख्ने कुमालहरू नदीनालामा माछा मार्ने, पानीबाट खेतीपाति गर्ने र माटोबाट भाँडाकँुडा बनाउने हुँदा पानी र माटोलाई ईश्वरको वरदान मान्दछन् । तसर्थ प्रकृतिलाई पूजाआजा गर्ने हुँदा यस जातिलाई प्रकृतिपूजक मानिन्छ । समाजमा जीवन व्यतीत गर्ने क्रममा अन्य जातिको प्रभावले गर्दा हिन्दूधर्मप्रति आकर्षित हुन पुगे कुमालहरू । विभिन्न देवीदेवताको पूजाआजा गर्ने कुमालहरू भाकल गरी बोका, सुँगुर, कुखुरा, परेवा आदिको बलि दिने गर्छन् । पितृलाई आत्मादेखि नै सम्मान गर्दछन् । पितृकार्यलाई यिनी कुलपूजा गरेको भन्दछन् । धामीझाँक्रीमा बढी विश्वास राख्ने कुमालहरू बिरामी परेको खण्डमा झारफुकका तर्फ लागेको देखिन्छ ।

पूजाआजा
कुमालहरू धर्ममा विश्वास राख्ने हुँदा प्रायजसो चाडपर्व तथा अन्य धार्मिक कार्य गर्दा पूजाआजा गर्ने गर्छन् । पूजाआजा गर्ने कार्य पृथक्पृथक् छन् । जस्तै  प्रकृति पूजा, पितृपूजा, कुलायन पूजा, सिकारी पूजा, आाइतबारे पूजा, समाई पूजा, जावेद पूजा, पूर्वेली पूजा, समय पूजा, नागनागिनी पूजा, बाजे पूजा, चण्डी पूजा, सत्यनारायण पूजा, फिरन्तीमाई पूजा, मण्डलीमाई पूजा आदि ।
लमजुङ जिल्ला र यसका वरपर रहेका कुमालहरूले परम्परागत रूपमा मनाउँदै आएका पूजाहरूमा कुलदेवता (इष्टदेवता, कुलायनको पूजा) वायु पूजा, वीर पूजा, सिकारी पूजा (पचभैया पूजा), नागनागिनी पूजा, भँगेर (आइतबारे) पूजा र तीनकुखुरे पूजा छन् । उनीहरू कुलायन केटाकेटी, पशुधन र प्रकृतिको शुभ प्राप्त गर्न पूजा गर्दछन् । यी पूजामध्ये तीनकुखुरे पूजाको चलनमा एकदमै कमी आएको छ । यो पूजा केटाकेटीको स्वास्थ्य राम्रो होस् भनी गरिन्छ, जसका लागि एक भाले र दुई पोथी कुखुरा चाहिन्छ । यस पूजा गरेका दिनमा भूतप्रेत आउँछ भनी अन्य जातजातिले आगोपानी लान–ल्याउन बन्द गर्ने चलन छ । (बद्रीनाथ भट्ट)

कुमाल पुरोहितहरू
कुमाल जातिका आफ्नै पुरोहितहरू हुन्छन् । पुरोहितलाई दुई वर्गमा विभाजन गरिएको हुन्छ । एक वर्गलाई जोखना आएको समय देउता चढेको भनिन्छ र उसलाई विभिन्न विपत्ति, भूतपिचास तथा तथा बोक्सी लागेका बिरामीहरूलाई उपचार गर्न गाउँघरमा बोलाइन्छ । दोस्रो वर्गमा जन्मसिद्ध पुरोहितहरू पर्दछन् । यसमा गाउँलेहरूले सामूहिक पूजाअर्चनामा पुजारीका रूपमा कार्य गर्दछन् । यी दुई किसिमका आधिकारिक पुरोहितहरूका अतिरिक्त एकै व्यक्तिले पनि यी दुई प्रकारको उत्तरदायित्व लिन सक्छन् ।
कुमाल समाजमा प्रत्येक परिवारका बूढापाका व्यक्तिहरूले पितृश्राद्ध र मृतात्मा वायुपिचासहरूलाई पुकार्नेजस्ता मुख्य दुई कार्यहरूका साथै अन्य घरायसी पूजापाठको जिम्मा लिन्छन् । घरमा कोही बिरामी भएमा बूढापाका व्यक्तिले हातमा अक्षता लिई विभिन्न देवीदेवताका नाम लिई पन्छाउने काम गरिन्छ ।

खानपान
कुमाल समुदायमा खानामा माछा र मासु नै बढी हुन्छ । आर्थिक विपन्नताको कारणले ढिँडो, गुन्दु्रक, पिँडालु, तरुल, घुँगी, गङ्गटो, गिट्ठा, भ्याकुर, जङ्गली च्याउ, कन्दमूल खान्छन् । अन्य किसिमको खानेकुरामा विभिन्न जनजातिले जस्तै खाना खान्छन् । यिनीहरू विभिन्न चाडपर्व संस्कार, पूजापाठ आदि कार्यमा जाँडरक्सी खाने गर्दछन् । वृद्ध, युवा, बालक सबै डटेर जाँडरक्सी खाने हुँदा यो जातिलाई मतवाली भनिन्छ । धूम्रपान झन् ज्यादै सेवन गर्छन् ।

स्वास्थ्य
कुमाल जाति अदृश्य शक्तिमा विश्वास राख्ने हुँदा बिरामी पर्दा धामीझाँक्रीमा बढी विश्वास गर्छन् । परम्परागत स्वास्थ्योपचार गराइने कुमाल भूतप्रेत, पिचास, पितृ रिसाएर नै मान्छे बिरामी पर्ने गरेको अन्धविश्वासले गाँजेको छ । स्थानीय स्तरमा पाइने जडीबुटीलाई औषधीका रूपमा प्रयोग गर्छन् । मादक पदार्थ र सूर्तिजन्य वस्तुहरू सेवन गर्नेहरूको सङ्ख्या कुमाल समुदायमा बढी देखिन्छ । सरसफाइमा त्यति चासो दिने गरेको देखिँदैन । अकालमा मृत्यु हुनेको डर बढी देखिन्छ । समाजमा अन्य जातिको प्रभावले गर्दा बिरामी परेको बेलामा अहिले स्वास्थ्य उपचारका लागि स्वास्थ्य केन्द्रतिर धाउने गरेको देख्रिन्छ ।

भाषा
यस जातिको आफ्नै भाषा छ । जसलाई कुमाले भाषा अर्थात् कुमाले कुरो पनि भन्ने गरिन्छ । कुमाल भाषा लिखित नभएको तर नेपाली भाषाको बढी प्रयोग भएको छ । कुमाल भाषा ठाउँअनुसार फरकफरक रहेको छ । आफ्नो परिवार र समुदायमा कुमालहरू प्रायजसो आफ्नै भाषामा बोल्छन् भने अन्य समुदायका व्यक्तिहरूसँग बोल्नुपर्दा नेपाली भाषा नै प्रयोग गर्छन् । तनहुँ, गोरखा, नवलपरासी र गुल्मी जिल्लामा बसोबास गर्ने धेरैजसोले अहिलेसम्म आफ्नै भाषा बोल्दै आएका छन् । २०६८को जनसङ्ख्या तथ्याङ्कलाई हेर्दा यस जातिको भाषा बोल्न सक्ने १२ हजार २ सय २२ जना देखाएको छ । यसरी कुल जनसङ्ख्याको अनुपातमा यस भाषा बोल्न सक्नेको सङ्ख्या कम देखिन आउँछ । कुमाल भाषालाई डोरबहादुर बिष्टले बर्मेली समूहको हो भनी भनेका छन् । यो भाषा भारोपेली भाषाको शतम वर्गअन्तर्गत अन्य इरानेली शाखाको संस्कृतिबाट विकसित भएको हुन सक्ने कुरा तिलबहादुर कुमालको भनाइ छ ।
त्यस्तै हीरामणि पौडेलले कुमाल भाषाका कालवाची प्रत्ययहरूको संरचनाशैली कतिपय अंशमा भोजपुरीसँग भन्दा मागधी शाखासँग बढी सम्बन्धित रहेको प्रतीत हुन्छ र कुमाल भाषा मागधेली शाखाकै सन्तान हुन सक्तछ र पछि कुमालहरू थारू जातिको संसर्गमा रहँदा थारू भाषाका कतिपय शब्दहरू प्रवेश गरेका हुन सक्छन् भनेका छन् । अहिले कुमाल समुदायका बालबालिकाहरूका साथै युवायुवतीहरूले नेपाली भाषा नै बोलीचालीको क्रममा प्रयोग गरिँदै आएको हुँदा अन्ततोगत्वा कुमाल भाषा नै लोप भएर जान सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

केही कुमाल भाषाका शब्द तथा वाक्यहरू :
नेपाली भाषा                                 कुमाल भाषा
माछा                                               मछरि
गँगटा                                             गङ्गटा
उठ्यो                                              उठल
योनि                                                 बुरी
बन्चरो                                            बन्चरा
ठूलो भ्यागुतो                                     पाह
मान्छे                                             मन्छे
मकै                                                मकाई
सर्प                                                  सर्पो
दिउँसो                                            दिउँस
आकाश                                           सरक
अम्बा                                             बेलौती
माटो                                               माटी
सबै                                                  सप्पै
आफ्नै                                             आफन्
पाइन्छ                                            पाएला
थाल्यो                                             थलल्
मान्दछन्                                        मानैल
पुज्दछन्                                         पुजैल
गरिन्छ क                                        रैल
फर्कनु                                            फिकई
गरेर                                              केरेर

मेरो नाम सीता हो ?                      मोर नाम सीता हकै ।
यो कुरा कसैलाई नभन्नू है ?             यो कुरा कसकै झिन्कउ है ।
भनिदिन्छु ।                                    कैदिमु ।
म पढ्न जान्दिनँ ।                           मुइ पढकै नजान्तु ।
मलाई यो कुरा थाहा छैन ।                मुके ये कुरा थाहा नाखै ।
तँ कहाँ गएर आइस् ?                      तुई कहाँ गएर आईलक ।
तिमी बिदामा कहाँ जान्छौ ?            तहरे छुट्टीमा काहाँ जालाई र ?
म सिनेमा हेर्छु ।                            मई फिल्महेरई जाईन् ।
मलाई एउटा ट्याक्सी चाहियो            माइके एउटा ट्याक्सी चायल तनि ।
अहिले तिमी कसलाई पर्खेको ?           अखनी केक्रई पर्खलक ।
तिम्रो दाजु के गर्दै हुनुहुन्छ ?             तोर दाजी के कत्तोम तानी ।
भोलि त घरमा बसोस् है ।                  काहालि तइ घरइ बसेस् हई ।
तैँले राम्ररी काम गरेस् ।                   तइले नावर्के काम करेस् ।
मलाई धेरै नकराउनुस् ।                   मुके धेरै झिन्कराव
भात खाइस् कि खाइनस् ?                भात खैले किन खैले ?
दसैँ आयो ।                                    दसैँ आला
भात खाएँ ।                                    भात खैनु
कहाँ जान्छौ ?                                 कहाँ जाल ?
भोग लाग्यो ।                                  भोग लागल ।
चामल छैन ।                                  चामल नाक ।
घास काँट्न जा ।                               घाँस काटे जा ।
भनिदिन्छु ।                                        कैदिन ।
स्रोत : स्थानीय भाषी

थर तथा गोत्रहरू
कुमालहरूका थरहरू विभिन्न प्रकारमा हुन्छन् । कतिपय थरहरू पुरानो बासस्थान र पेसाको आधारमा निर्धारित गरिएको प्रतीत हुन्छन् । केही मुख्य थर यी हुन् :
१) खत्री २) ठिन्ठिने खत्री ३) वगाले ४) अर्घाली ५) खिस्रली ६) प्युठानी ७) सप्लङे ८) कइर ९) पोख्रेल १०) ओग्रेली ११) लाहुरे खत्री १२) राना १३) मगराने १४) गोहुङ्गे १५) पोस्थरे १६) साप्कोटे १७) बढघरे १८) हर्दिया १९) राङ्ग डो¥याउने २०) बाझकोटे २१) सबिङ्गे २२) राजपुत २३) बोसखरे २४) हदौली बोरखोर २५) चप्कोटे २६) गोर्सते २७) मसुके २८) अइमइया मुसके २९) पाल्पाली ३०) पर्वते ३१) स्याङ्जाली ३२) नयाँ चाउतारे राना आदि थरहरू हुन्छन् भनी हिरामणि शर्माले आफ्नो पुस्तक ‘कुमाल भाषाको अध्ययनमा उल्लेख गरेका छन् ।
गौतम र थापामगरका अनुसार नेपालका अन्य जातिहरू जस्तै कुमालहरूका पनि विभिन्न थरहरू हुन्छन् । यिनीहरूको शताब्दीदेखिको बासस्थान तथा पेसाको आधारमा थरको विभाजन गरिएको हुन्छ । कुमालहरूका थरहरू १) खत्री २) थिमथिमे ३) बगाले ४) अर्घाली ५) सिरब्राली ६) प्युठानी ७) सप्लुङ्गे ८) निरन ९) पोख्रली १०) गोचुङे ११) पोस्थरे १२) साप्कोटा १३) बढघरे १४) हर्दियम १५) रनगुजे १६) बाङबोटे १७) सवाङजे १८) राजपूत १९) गारस्थे २०) मसुके २१) बोस्कर २२) हरदैली २३) चाप्कोटे २४) अठमैया २५) पाल्पाली २६) पर्वते २७) स्याङ्जाली २८ं) नयाँ चितउर २९) राना ३०) चोल ३१) वास ३२) बोटे ३३) दूधपान ३४) हलिसे ३५) डले ३६) मुडुके ३७) पाठक ३८) भट्टराई ३९) स्यान ४०) शान्था जस्ता थरहरू हुन्छन् ।
कुमालहरू पूर्वीय ७ थरे, पश्चिमेली १४ थरे हुन्छन् तर त्यसको पहिचान कसरी गर्ने भन्ने कुरा भने स्पष्ट पार्न सकिँदैन ।
जितबहादुर कुमालका अनुसार विभिन्न ठाउँका बूढापाका र वृद्धहरूका अनुसार कुमाल दुई मुख्य थरका रहेको पाइन्छ ।
१) आठथरे (पूर्वीया)
२) बाह्रथरे (पश्चिमे)
यी दुवै थर एकआपसमा यिनीहरूको पहिरनका आधारमा र खानेकुराका आधारमा आफूलाई ठूलो मान्ने प्रचलन छ ।
१) आठथरे : आठथरे कुमालहरूलाई पूर्वीय पनि भनिन्छ । यिनीहरू सुँगुरको मासु खानमा आफूलाई गौरवशाली ठान्दछन् । ती थरका मानिसहरूको बिहेबारी बाह्रथरेसँग चल्दैन ।
२) बाह्रथरे : यस थरका कुमालहरूलाई पश्चिमेली भनेर चिन्ने पनि गरिन्छ । यिनीहरू भैँसी र राँगाको मासु खाने र यस थरका महिलाहरू विशेष गरिकन नाकमा बुलाकी लगाउँछन् ।
यी दुई थरबाहेक सीप र पेसाका आधारमा जयस्थिति मल्लले जातीय विभाजन गरेका हुन् भने काठमाडौँ उपत्यकामा बस्ने माटाका काम गर्ने प्रजापति (विशेष गरी भक्तपुर ठिमीमा बस्ने) र ललितपुरतिर बस्ने प्रजापतिहरू पनि यस जातिसँग मिल्दाजुल्दा देखिन्छन् । तर उनीहरू आफूलाई नेवारजाति हो भनी गौरव गर्दछन् । (बाघवीर मुखिया कुमाल)

माटाका भाँडाबर्तन बनाउने काम
कुमालहरू माटाका भाँडाबर्तन बनाउनका लागि आफ्नो ज्यानलाई नै जोखिममा राखी पहाड र अनकन्टार पखेराबाट माटो ढुवानी गर्दछन् । यसरी माटो खन्दा पहिरो आई अनाहकमा धेरै जनाको ज्यान गएको छ । काँचो माटोलाई प्रशोधन गरी गाग्रो, घ्याम्पो, चिलिम, गमला, मकल, घैँटो, देवताहरूको मूर्ति आदि बनाउँछन् । माटाका भाँडाकुँडा बेचबिखन गर्नका लागि उनीहरू स्थानीय गाउँबस्तीमा थुन्सेमा बोकेर लैजान्छन् । तर अहिले बजारमा प्लास्टिकको रङ्गीचङ्गी भाँडाबर्तन आउनाले माटाका भाँडाबर्तन त्यति प्रयोगमा नआउनाले कुमालहरूले यो पेसा दिनप्रतिदिन छाड्न थालेका छन् ।

खेतबारी, कुल्लीकाम र पेसा
खेतबारीमा खनजोत गर्नका लागि कुमालहरू अग्रणी स्थानमा नै रहेका छन् । कुमाल जातिले खेतबारीमा काम गरेमा अनाज प्रशस्त मात्रामा उब्जनी हुने किंवदन्ती स्थानीय गाउँटोलमा रहेको छ । कुमाल जातिको खेतबारी कम हुने हुँदा ज्यालादारीमा अरूको खेतबारीमा काम गर्ने गर्दछन् । साथै पुरुषहरू घर बनाउने, भारी बोक्नेजस्ता कुल्ली काममा व्यस्त हुन्छन् भने महिलाहरू वनबाट दाउरा ल्याई स्थानीय बजारहरूका विक्री गर्दछन् ।

माछा मार्ने काम
कुमालहरू परम्परादेखि नदीमा गई माछा मारी विक्री गरी आएको स्रोतले आफ्नै परिवारको दैनिक गुजारा चलाइरहेका छन् । बाह्रै महिना बाह्रै काल यिनीहरू खोलाको पानीमा डुबुल्की खेली माछा मार्ने र त्यही माछा बजारमा ल्याई विक्री गर्दछन् । तसर्थ कुमाललाई माझी जातिसँग पनि तुलना गर्न सकिन्छ । माछा मार्नका लागि यिनीहरूले जाल, लहरेपासो हाचर, छतर र निगालोबाट बनाइएको जाल आदि प्रयोग गर्दछन् ।

बसाइँसराइ
कुमाल जातिले आदिम कालदेखि खोला नदीको किनारमा अवस्थित टार, फाँट र बेसीमा औलो ज्वरो र बिफर जस्ता घातक रोगहरूसँग लड्दै तराई र भित्री मधेसमा करेत र गोमन जस्ता खतरनाक सर्पहरू, हात्ती, गैँडा र अर्ना जस्ता जङ्गली जनावरहरूसँग लड्दै आफ्ना पूर्वजहरू गुमाउँदै खेती तथा बस्तीयोग्य ठाउँहरू बनाए । तर त्यस ठाउँमा जब विकासका पूर्वाधारहरू बाटो अस्पताल, विद्यालय, पानी, बिजुली बत्ती र कलकारखानाहरू खुले सहरीकरण र औद्योगिक भए तब कुमाल समुदाय आफ्ना जमिन अन्य जातिहरूलाई विक्री गर्दै आफ्नो बस्ती अन्यत्र सार्दै गएको पाइन्छ । कतैकतै त आफूले विक्री गरेको जग्गामा अरूले बनाई बसेको घरमा दैनिक कामकाज गरी जीवनयापन गरेको दयनीय अवस्था देखिन्छ । यस्तो तीतो यथार्थ कुमाल समुदायमा विद्यमान छ । (प्रेमबहादुर कुमाल) ।

जन्मसंस्कार
कुमालहरूमा स्वास्नीमानिस गर्भवती भयदेखि प्रसूति हुने बेलासम्म स्वास्थ्यचौकी, अस्पताल लगी देखाउने गरिँदैन । त्यस समयमा आफ्नै जातका चल्तापुर्जा (अनुभवी) महिलाहरूलाई देखाइन्छ । गर्भवती महिलाको बच्चा जन्माउन गाह्रो भएमा घरको मूलीले आफ्नो कुलदेवतालाई पूजाआजा गर्दछन् । कतैकतै घरपछाडि रहेको केराको बोट हल्लाउने आदि कार्य गर्छन् । यसो गरेमा सजिलैसँग बच्चा जन्मिन्छ भन्ने मान्यता रहिआएको छ । जब सुत्केरी हुन्छन् तब सुँडेनी डाकिन्छ । सुत्केरी हुनेका चेलीबेटीहरूले बच्चा जन्मेको थाहा पाएपछि सुत्केरीको घरमा आई घरदैलो लिपपोत गर्ने कार्य गरिन्छ । सुत्केरीलाई हावा नछिर्ने कोठामा राखिन्छ । सुत्केरीको कोठामा कुनै पनि लोग्नेमानिसको प्रवेश निषेध गरिएको हुन्छ । बोक्सी, भूतप्रेतदेखि टाढा रहन सुत्केरी आमा र बच्चालाई माछा मार्ने जालले बाँध्ने गरिन्छ । सुत्केरी महिलालाई चिल्लो पिरो, माछामासु खान दिइँदैन मात्र जाउलोभात र थोरै नुन खान दिइन्छ । सुत्केरीलाई पराल र स्याउला बिछ्याइदिएको हुन्छ । सुँडेनीले शिशुको सालनाल काटेको हुन्छ । काटेको सालनाल सुँडेनीले घरनजिकैका बारीमा लगी गाड्ने चलन रहेको छ । त्यसपछि सुत्केरी महिला र बच्चालाई तातोपानीले नुवाइधुवाइ गराई आगो ताप्न लगाइन्छ । सुत्केरी र बच्चालाई पाँच दिनमा चोख्याइन्छ । त्यस बेला सुत्केरीले आफैँलाई बिछ्याएको पराल र सोत्तर खोलानालामा लगी जलाउनुपर्छ । खोलामा नै सुत्केरी र बच्चा नुवाइधुवाइ गरी बच्चाको नाम राखिन्छ । सुत्केरीले पानी चलाउने कार्य पनि यसै दिनदेखि गर्छन् । एक महिनासम्म सुत्केरीलाई काम गर्न नलगाई आराम गर्न लगाउँछन् ।
यस समयमा छोरा छ महिनाको र छोरी तीन महिनाको हुँदा भात खुवाउने चलन छ । त्यस दिन बच्चाका साथै बच्चाका आमाबुबा नुवाइधुवाइ गरी भोकै बस्ने गर्छन् । घरको कुनै एक कोठामा लिपपोत गरी सुकुल गुन्द्री ओछ्याई बच्चालाई राखिन्छ । बच्चाको अगाडि सेलरोटी, चिउरा, सक्खर, माछामासु आदि वस्तुहरू राखिन्छ । भात खुवाउने कार्य सर्वप्रथम घरको मूलीले गर्दछन् । त्यसपछि घरका अन्य परिवारले ख्वाउँछन् । घरको परिवारले खुवाइसकेपछि मावली खलकले र अन्त्यमा चेलीबेटीले ख्वाउँछन् । भात खुवाउँदा टीकाटाला गरी गच्छेअनुसारको दक्षिणास्वरूप केही रकम दिइन्छ । यस जातिमा कान छेड्ने चलन छ महिनाभित्र गरिन्छ । यस्तो कार्य भात खुवाउने समयभन्दा पहिले नै गर्नु उपयुक्त मान्छन् कुमाल जाति । कान छेडेमा बच्चालाई रोगव्याधि लाग्दैन र भगवान्ले पनि हामीलाई जीवनभरका लागि सुम्पिन्छन् भन्नेसमेत कुमाल जातिमा मान्यता रहेको छ ।
कुमाल समाजमा बालकको व्रतबन्ध ५-७-९ बिजोर वर्षमा गर्ने गर्ने गरिन्छ । व्रतबन्ध बालकलाई दुलाहाको पहिरनमा सिँगारिन्छ । त्यस दिन पनि बालक र उसका आमाबाबु नुवाइधुवाइ गरी चोखो व्रत बस्ने गर्छन् । मामाले बच्चाको कपाल काटिदिई नयाँ लुगा दिइन्छ । काटिएको कपाल चेलीहरूले खोलामा लगेर सेलाउने चलन छ । यसरी चेलीहरूले कपाल सेलाएमा चेलीहरूका साथै बालक र उसका आमाबुबालाई धर्म प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । व्रतबन्धको दिन बालकको परिवार, मावली परिवार, चेलीबेटी र घरगाउँलेहरू पनि जम्मा हुन्छन् । सबैले बालकलाई टीका लगाई दक्षिणाको साथै सगुन बालक, उसका आमाबाबु र मामालाई दिइन्छ । सगुनमा रक्सी, माछामासु, सेलरोटी, चिउरा आदि सामग्री हुन्छन् । त्यति गरिसकेपछि सबै जना एकै ठाउँमा बसी भोज खाई बेलुकीपख आ–आफ्नो घर फर्किन्छन् ।

विवाहसंस्कार
कुमालहरूको विवाहको कार्य गर्न एउटा लमी हुन्छ । केटाको घरबाट विवाह गर्न केटी खोज्न लमीलाई अराइन्छ । लमी केटी माग्न गाउँतर्फ जान्छ । खेतबारीमा काम गर्न सक्ने खालको केटीहरू हेरी केटीको बाबुलाई विवाहको प्रस्ताव राखिन्छ । केटीको प्रस्ताव लिई लमी केटाको घरमा आउँछन् । केटाको बाबुआमाले आफ्ना भान्जाभान्जीलाई घरमा डाकी उक्त केटीसँग विवाह गर्न होला कि नहोला भनी सोधिन्छ । भान्जाभान्जीले विवाहको सगुन खानुहोस् भनेपछि केटीको घरमा केटाको बाबु र लमी गएर सगुन खान्छन् । सगुन खाएपछि विवाह पक्का हुन्छ । यदि भान्जाभान्जीले सगुन नखानुहोस् भन्यो भने विवाह हँुदैन । विवाहको कुरा छिन्नका लागि पनि भान्जाभान्जीलाई सोध्ने चलन छ । कुमालहरूको विवाहको कार्य आफ्नै ब्राह्मणबाट सम्पन्न गरिन्छ । खास गरेर विवाहका लागि केटाको उमेर १५ वर्ष र केटीको उमेर १३ वर्ष उपयुक्त मानिन्छ । कुमालहरूको विवाह विशेष गरेर माघ महिनामा गरिन्छ । विवाहअगाडि दुलहीको घरबाट सगुनस्वरूप जाँडरक्सी, माछामासु, सेलरोटी र चिउरा ल्याइन्छ । दुलाहाको घरमा ल्याएको सगुन दुलाहाको परिवार र मामापट्टिको परिवार एकैसाथमा बसी दुई पटक सगुन खाने चलन छ । सगुन खाइसकेपछि विवाहको मिति तय गरिन्छ । विवाहको १ दिनअगाडि दुलहीको घरबाट पुनः दहीको ठेकी दुलाहाको घरमा लगिन्छ । दही ठेकीका साथमा २०० रोटी र एउटा कुखुराको भाले पनि ल्याइन्छ । दुलाहाको पक्षबाट दुलही पक्षलाई जन्ती कति ल्याउने भनेर सोधनी गरिन्छ । दुलही पक्षबाट आफ्नो हैसियतअनुसार जन्ती ल्याउन आग्रह गरिन्छ । दुलाहाले लगाउने लुगा चेलीबेटीले पर्सेर दुलाहालाई लगाइदिन्छ । पञ्चे बाजाको साथमा हट्टाकट्टा युवकहरू रक्सीले मात्तिएर चर्को स्वरमा कराउँदै अगाडि बढ्छन् । जन्ती दुलहीका घरमा जाने क्रममा बाटोमा रहेका देवीदेवताको मन्दिरलाई दाहिने पारेर घुम्छन् । दुलहीको घरमा पुगेपछि दुलही पक्षबाट भव्य स्वागत गरिन्छ, जन्तीहरूलाई । दुलाहाको बाबुले दुलाहालाई टीकाटाला गरी सगुनका रूपमा दही खान दिन्छ । दुलाहालाई लाज लाग्यो होला भनेर चेलीबेटीहरूले मुख छोपेर जिस्क्याउँछन् । पहिलेपहिले सुकेको स्याउलामाथि दुलाहालाई राखी सम्मानपूर्वक सत्कार गर्ने चल थियो । सो रीत अहिले चलनचल्तीमा देखिँदैन ।
दुलहीका लागि लगिएका लुगाफाटा र गरगहनाहरू दुलही पक्षका चेलीबेटीहरूलाई सुम्पिन्छ । लुगा र गरगहनाहरू कति ल्याएको छ, पूरा छ कि छैन, छैन भने फिर्ता लिनू भनी दुलहीपट्टिका चेलीहरू बेस्करी कराएर दुलाहाका पक्षका व्यक्तिहरूलाई सुनाउँछन् । दुलाहा पक्षले सबै लुगा र गरगहनाहरू पुग्दो छ भनेपछि मात्र लुगाको पोको फुकाइन्छ यदि लुगाफाटा र गरगहनाहरू नपुगेको छ भने दुलहीका चेलीबेटीहरूले लुगा पूरा गर्नुप¥यो भनी प्रस्ताव राख्छन् र दुलाहाका पक्षबाट नजिक कपडा पसल छन् भने तत्कालै किनेर पूरा गरिदिनुपर्छ । तर पसल नजिक छैन भने अर्को दिन पूरा गरिदिने वचन दिएपछि सो लुगा दुलहीलाई लगाइदिइन्छ । त्यसपछि दुलाहा र दुलहीलाई मेचमा राखी दुलाहाको खुट्टा तामाको खड्कुलोमाथि राखेर वरपीपलको पातले छोएर दुलहीका बाबुआमा दाजुभाइ खलक, मावली र अन्य चेलीबेटीहरूले गोडा धोई टीकाटाला गर्ने चलन छ । मावलीले दुलहीको घरभित्र लगेर पुनः टीकाटाला गरी सगुन (माछामासु, रक्सी) खान दिन्छन् । त्यस समयमा जन्तीहरू ठूलो आवाजमा अबेर भो ! छिटो गर्नुप¥यो भनेर कराउँछन् । त्यस समयमा दुलहीको घर पक्षका घरगाउँलेहरू आफ्नो पक्ष बलियो, बुद्धिमानी र आर्थिक स्थिति बलियो भएको प्रदर्शन गर्छन् । पहिलेपहिले एक घन्टासम्म दुवै पक्षलाई लडाइन्थ्यो, केही गरी अन्त्य नभएमा दुवै पक्षका सम्धी–सम्धीबीच लडेर टुङ्ग्याइन्थ्यो । यसरी लड्दा दुई पक्षबाट मध्यस्थकर्ता ब्राह्मण हुन्थ्यो ।
दुलहीका बुबाआमाले घरको आँगनमा दुलाहा–दुलहीलाई राखी पुनः एक पटक टीकाटाला लगाई बिदाइ दिइन्छ । दुलाहा–दुलहीका साथमा जन्तीहरू ख्यालठट्टा र गीत गाउँदै दुलाहाको घर फर्कन्छन् । विवाहको दिनमा नै दुलाहा–दुलही फिर्ता हुन्छन् । फिर्ता हुँदा दुलाहाले नचिनेको झैँ गरी ससुराली घरनजिकै फलानो नाम गरेको मेरो ससुरा पर्छ । उहाँको घर कुन होला ? भनी सोध्छ । उक्त व्यक्तिले दुलाहाको ससुरालाई खबर गरेपछि दुलहीको बुबा आएर छोरी ज्वाइँ दुवैलाई घर लिएर जान्छन् । भोलिपल्ट बिहान दुलहीका आफन्तहरू दुलाहाको घरमा गएर घर आउन निम्तो दिइन्छ । दुलाहाको घरबाट आफ्ना परिवार र मामापट्टिको सन्तानले निम्तो स्विकारी दुलहीका घरमा जान्छन् । दुलाहाको बुबा र दुलहीको बुबा सम्धी ढोगभेट गरिन्छ र यसपछि दुलाहा–दुलही दुवै पक्षका सन्तानहरू एकै ठाउँमा बसी भोज खाने चलन छ ।

मृत्युसंस्कार
मानवजीवनमा मृत्यु निश्चित छ । आदिम युगदेखि नै मृत्युलाई निकै गम्भीर ढङ्गले लिइन्छ । पृथ्वीमा जब मानवरूपी शरीर भएर जन्मन्छ । तब अन्त्यमा पृथ्वीको गर्भ वा खुल्ला आकाशमा विलीन हुनुपर्छ । यो युगौँदेखि चलिआएको रीत हो, कोहीकसैले पनि चलिआएको सृष्टिको रीतलाई नकार्न सक्दैन । यो यथार्थ र ध्रुवसत्य कुरा हो । माथिका यावत् कुरालाई कुमाल जाति सहर्ष स्विकार्छन् ।
समाजमा कसैको मृत्यु भएमा सर्वप्रथम आफन्त घरगाउँलेहरू मृतकका घरमा जम्मा हुन्छन् । मृतकका दाजुभाइ खलकहरू टोपी फुकाले मृतकको लासलाई घेरेर बस्छन् । मृतकका कुटुम्बहरूलाई छुन दिइँदैन । यदि कुटुम्बहरूले छोएमा मृतकको ऋण बोक्नुका साथै आत्माले शान्ति पाउँदैन भन्ने मान्यता रहेको छ । कुमालहरू आफ्नै रीतिरिबाजद्वारा मृत्युसंस्कारको कार्य सम्पन्न गर्छन् । बाबु र आमाको मृत्यु भएमा लासलाई जेठो छोरो र कान्छो छोराले तुलसीको मोठमा बोकेर राखिन्छ । घरगाउँलेहरू मलामी जान साथमा दाउरा ल्याउँछन् । लासलाई खटमा राखी जलाउनका लागि खोला, नदीतिर लगिन्छ । लास लग्ने क्रममा बाटोमा धान, पैसा आदिको बुर्की छर्दै लगिन्छ । नदीको छेउमा काठद्वारा बनाइएको चितामाथि लासलाई राखी मृतकको छोराहरूले दागबत्ती दिने चलन छ । लास जलेपछि किरियापुत्रीका साथै मलामीहरू नुवाइधुवाइ गरी सबै जनाले धूप लिन्छन् । गरुड सुनाउने र घरका दाजुभाइले एघार दिनसम्म जुठो बार्ने चलन छ । एघार दिनसम्म दाजुभाइले नुन बार्नुपर्छ । किरियापुत्रीहरू खोलामा गई भात पकाएर खान्छन् । प्रत्येक साँझ मृतकको नाममा किरियापुत्रीहरूले उल्टो दुनामा पानी र बत्ती बाल्छन् । तेह्र दिन सकिएपछि किरिया सिद्धिन्छ । त्यस बेला मृतकको चेलीबेटीले तेलमा चामल मुछेर किरियापुत्रीहरूलाई टीका लगाइदिई सेता लुगा लगाउन दिइन्छ । किरियापुत्रीले पुरोहितलाई लुगाफाटा र अन्नहरू दिनुपर्छ । आमा मरेकी भए छोराछोरीले दूध र बुबा मरेको भए माछा वर्ष दिनसम्म बारिन्छ ।
यदि ६ वर्षभन्दा मुनिको बालबालिकाको मृत्यु भएमा खोलाको छेउमा लगेर गाड्ने चलन छ । कतैकतै लासलाई भीरपखेरामा लगेर गाड्ने पनि चलन छ । लासलाई गाड्दा मृतकको शरीरमा कचौराको साथै कोदालाको बिँड राखिन्छ । एक वर्षसम्म बरखी बार्छन्– कुमालहरू । मरेको तिथि बार हेरेर वर्षको एक पटक श्राद्ध गर्छन् । त्यस बेला दाजुभाइ इष्टमित्र, चेलीबेटी र मावली खलकलाई डाकी सत्कारपूर्वक भोज खान दिइन्छ ।

निष्कर्ष
कुमाल जाति नेपालको अन्य जातिको दाँजोमा एक अल्पसङ्ख्यक र पिछडिएको जाति हो । यिनीहरू नेपालका अलावा भारत, बङ्गलादेश, भुटान र पाकिस्तानमा पनि बसोबास गर्दै आइरहेको देखिन्छ । नेपालमा १२११९६को सङ्ख्यामा रहेका कुमालहरूको आफ्नै भाषा र संस्कृति रहेको छ । गरिबीका कारणले उच्चशिक्षा हासिल गर्नेहरूको सङ्ख्या न्यून छ । अशिक्षा र गरिबीका कारणले नै गर्दा यिनीहरूको काम भनेको नै माछाको भाँडाकँुडा बनाउने, माछा मार्ने र ज्याला मजदुरी नै हो । समाजमा उनीहरू आफूलाई अपहेलित भएको महसुस गर्छन् । बालकदेखि वृद्धसम्म धूम्रपान र मध्यपानमा डटेर सेवन गर्ने गरेका हुँदा स्वास्थ्यस्थिति नाजुक देखिने कुमालहरू सदियौँदेखि पानसहरू कुँद्ने गरेका हुँदा आफूलाई शुद्ध जातिका रूपमा लिइन्छ । जातीय परम्पराअनुसार गरिने चाडपर्व खर्चिलो हुँदा दिनप्रतिदिन आर्थिक अभावले गाँजेको देखिन्छ । यस जातिमा जन्मदेखि मृत्युसम्म गरिने आफ्नो संस्कार रहेको छ । कुमालहरूको जीवनपद्धतिलाई आधुनिक विकासपद्धतिमा उन्मुख गराउन सम्बन्धित निकाय छिटो लाग्ने पर्ने नितान्त आवश्यक देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *