धर्म/सस्कृति

तीजको महत्व बढाऔँ, नघटाऔँ

नेपाली दिदीबहिनीहरुले विशेष पर्वको रुपमा मनाउने हरितालिका तीज कोरोना प्रकोपका कारण प्रभावित भएको छ। आफ्नो जन्मघरमा बाबुआमा वा दाजुभाईको निमन्त्रणा, मीठोमसिनो खानपिन तथा आफ्ना पीडा, वेदना, दर्द र समस्या खुलस्त राख्न पाउने अवसरका रुपमा समेत तीज पर्वलाई नेपाली महिलाहरुले प्रयोग गर्दै आएका छन् । वर्षमा एक दिन अधिक स्वतन्त्र भएर आफ्ना हक अधिकारको पक्षमा बोल्ने दिनको रुपमा तीज पर्व मनाइने गरेको पाइन्छ। घर परिवारको सुख, शान्ति, समृद्धि तथा सु-स्वास्थ्य र दीर्घायुको कामनालाई समेटेर नेपाली चेलीहरुले यो पर्वलाई निरन्तरता दिदै आएका छन्।

केही वर्षदेखि सांस्कृतिक महत्व बोकेको ऐतिहासिक तीज अतिक्रमणमा परेको महसुस गरिदै आएको छ। खासगरी सहरीया महिलाहरुले महिनौ अगाडि देखि गर्ने तडकभडक , प्रदर्शन र होडबाजीले यसको मौलिकता ओझेलमा परेको महसुस गर्न थालीएको छ। चाडपर्वहरु धान्नै नसक्ने गरी भद्दा बन्न थालेका छन्। खर्च गर्ने, प्रदर्शन गर्ने तथा आफन्त र नजिकको मानिसलाई देखाउने कार्यमा बढोत्तरी हुदैं आएकोमा यसलाई सुधार गर्नुपर्छ भन्ने मत आइरहेको छ। एक महिनाअघि देखि सहर बजारका पार्टी प्यालेसहरु व्यस्त रहने र अनावश्यक खर्च बढाउने पर्वको रुपमा रुपान्तरित हुने खतरा बढेको छ।

फरक सन्दर्भ र अवस्थामा पनि नेपाली चेलीहरुले तीज पर्वको महत्व कायम राख्दै आएको देखिन्छ। बाबुआमाको काखबाट कलिलै उमेरमा पराइघर जानुपर्ने, पराइघरको वातावरण महिलामैत्री नहुने, अनेक प्रकारका दु:ख, कष्ट, यातना र हिंसाको शिकार हुनु पर्ने जस्ता घटनाहरुले तीजमा माइती लिन आउने, मिठो खान पाइने र आफ्ना कुराहरु स्वतन्त्र भएर व्यक्त गर्न सकिने खास अवसरको रुपमा यो पर्वले महत्व पाएको हो। महिला अधिकारका पक्षमा केही सुधारात्मक कार्यहरु भएता पनि ती प्रभावकारी र पूर्ण नभएको, सुधार पुग्नु पर्ने तहसम्म नपुगेको, विकृति र हिंसा समाजमा कायम नै रहेको, महिला र पुरुषबीच समानता कायम हुन नसकेको, परिवारमा महिलालाई सम्मान गर्ने संस्कार अझै बनिनसकेको, शोषण, दमन र उत्पिडन कायमनै रहेकोले त्यसबाट उठ्ने र उठाउने साझा संकल्पका साथ अगाडि बढ्ने अठोट र दृढता तीजजस्ता महत्वपूर्ण पर्वहरुले अभिव्यक्त गर्नु आवश्यक देखिन्छ।

यसपटकको तीज यस्तै हुने भयो। मानिस मानिससंग टाढा रहेर, दूरी कायम गरेर, घरभित्रै बसेर, टेलिफोन लगायतका उपलब्ध संचार माध्यमबाट मनाउनु पर्ने बाध्यता छ। विश्वव्यापी समस्याको रुपमा रहेको कोरोना संक्रमणबाट अत्याधिक ग्रस्त समस्या तीज पर्वमा पनि परेको छ। यसले सहरिया तडकभडकलाई त रोकेको छ तर मानव स्वास्थ्यमा गम्भीर खतरा र चुनौती बढाएको छ। यो महामारीबाट कसरी मुक्त हुने र गराउने भन्ने मुख्य चिन्तामा नेपाली दिदीबहिनी छन्। जो जहाँ छौँ, त्यहीँ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर तीज पर्व मनाउनु परेको छ। हामीसँग उपलब्ध साधन स्रोत प्रयोग गरेर महामारी मुक्त देश बनाउन अग्रसर हुनुपर्ने आवश्यकताले तमाम चाहना, आवश्यकता र अधिकारको मुद्दा ओझेलमा परेका छन्।

व्रत बस्ने परम्पराले दर खानु पर्ने र दर्हो हुनुपर्ने संस्कारको रुप लिएको देखिन्छ। घर, परिवार र समाजको सुस्वास्थ्य र दीर्घायुका लागि मन्दिर जाने परम्परा विकसित भएको हो। स्वास्थ्यको दृष्टिकोणले उपवास निकै उत्तम मानिन्छ, जसलाई नेपाली महिलाहरुले धान्दै र विकसित गर्दै आएका छन्। धर्म, कर्म र परम्परालाई निरन्तरता दिँदै समग्र मानवजातिको भलाइका लागि महिलाहरुले नै त्याग गरेको देखिन्छ। अहिलेको महामारीको अवस्थामा त झन सजग र सचेत भएर, उत्साह र उमंग बढाउदै सिङ्गो समाजको सुरक्षा र स्वास्थ्य प्रति गंभिर बन्नु पर्ने दायित्व चेलिहरुकै कांधमा छ । ज्यादा जिम्मेवारी र कम अधिकारको चेपुवामा चेपिएका महिला दिदीबहिनीहरुलाई समान हक र अधिकारबाट विभुषित गरी अगाडि बढ्ने दृढता नेपाली जनमानसले देखाउनु आवश्यक छ। तीजजस्ता ऐतिहासिक पर्वहरुले त्यसको आवश्यकता र औचित्यता अझ बढाउने गर्दछन्। सद्भाव, सहिष्णुता, आत्मियता, एकता र वन्धुत्वकालागि तीज पर्वले सेतुको भुमिका निर्वाह गरेको छ। यस्ता सांस्कृतिक पर्वहरुको महत्व र गहिराइलाई आत्मसाथ गरी भड्किलो र भद्दा नबनाई सहज र स्वभाविक प्रक्रिया अवलम्बन गर्नुपर्ने आवश्यकता तर्फ दिदीबहिनीहरु गम्भीर बन्नु पर्दछ। हुदाखाने र हुनेखाने बीचको खाडल सिर्जना नहुने किसिमले आम नेपाली नारीहरुको प्रतिनिधित्व गर्दै पर्व मनाउने परिपाटि बसाल्न आवश्यक छ। त्यसतर्फ ध्यानाकर्षण गराउन यो असामान्य परिस्थितिले दिदीबहिनीहरुलाई प्रेरित गर्न सकोस भन्ने शुभकामना  !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *