ताजा समाचार

उपप्रधानमन्त्री पोखरेल र पर्यटन मन्त्री भट्टराईबीच सीसीएमसीको बैठकमा भनाभन

 काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको भूमिका जनताको हितमा नभएको भन्दै पर्यटनमन्त्री योगेश भट्टराइले आपत्ति जनाएका छन् । दुवईबाट नेपालीहरुलाई नेपाल ल्याउन पोखरेल बाधक बनेपछि दुईमन्त्रीबीच खटपट मात्रै उत्पन्न भएको छैन मंगलबार साँझ बसेको सिसीएमसी बैठमा पर्यटनमन्त्री भट्टराइले पोखरेलको भूमिकाको विषयलाई लिएर आपत्ति नै जनाएका छन् ।

केपी ओली नेतृत्वको सरकारका प्रभावशाली दुई मन्त्रीका बीचमा फेरि खटपट देखिएको छ । केही समय अगाडी उनै पोखरेलसँग अर्का मन्त्रीको खटपट परेको थियो । कोरोना महामारीसँग जुध्न ओलीले कमाण्डर तोकेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको कमजोर कमाण्डका कारण सरकारमै रहेका मन्त्रीहरुका बीचमा खटपट हुन थालेको हो । मंगलबार मात्रै पनि कोभिड १९ संकट ब्यवस्थापन सेन्टर (सिसिएमसी) को बैठकमा पोखरेल र पर्यटन मन्त्री योगेश भट्टराइबीच भनाभन नै भएको छ। निहित स्वार्थका लागि मरिहत्ते गर्ने र आर्थिक रुपमा अपारदर्शी बन्दै आएको आरोप उपप्रधानमन्त्री पोखरेलमाथी लाग्दै आएको छ ।

ओलीले कोराना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको संयोजक पोखरेललाई बनाएपछि यस अगाडी ओम्नीलाई औषधी खरिदको जिम्मा दिने विवादास्पद निर्णय र ओम्नीलाई खरिद जिम्मा दिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथी बढाएको दबाबका कारण केही समय अगाडी ढकालसँग पनि पोखरेलको खटपट देखिएको थियो । तर मंगलबार भने फेरि अर्का मन्त्री योगेश भटटराईसँग उनको खटपट भएको हो । पोखरेल र भट्टराईका बीचको खटपटको प्रसंग भने विदेशवाट उद्दार गरि ल्याइने नेपालीका विषयमा परेको हो । विदेशमा रहेका नेपालीलाई उद्दार गरी ल्याउने निर्णय कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले नेपालमा संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो । त्यो निर्णय भएको जानकारी सीसीएमसीले संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई भदौं १ मा पत्रमार्फत जानकारी गराएको थियो । सहसचिव विष्णु राज ढकालले पर्यटन र परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरी उद्धार उडान स्थगित गरिएको जानकारीको पत्र पठाएपछि मन्त्री भटटराई आक्रोशित बनेका हुन् ।

सीसीएमसीलाई पटक–पटक अनुरोध गर्दा पनि ल्याउने अनुमति नदिएपछि नेपाल एयरलाइन्सको जहाज मंगलबार रित्तै काठमाडौं फर्किएको थियो । नेपाल एयरलाइन्सको जहाज सोमबार राति १२ बजे २१३ यात्रु लिएर दुबई उडेको थियो । सोही जहाजबाट देश फर्किनका लागि २६६ नेपाली दुबई एयरपोर्ट पुगेका थिए । पिसिआर परिक्षण लगायतका घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्ट पुगेका उनीहरुलाई नलिई मंगलबार बिहान ३ बजे जहाज रित्तै फर्किएको थियो ।सिसिएमसीको निर्णयसँगै मलेसियाबाट काठमाडौंका लागि तय गरिएको तीनवटा उडान रद्द भएका छन् । मलेसिया दूतावासले १९, २० र २१ अगस्टका लागि तय गरेको उडानका लागि श्रमिकहरूले टिकट काटिसकेका थिए । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले उडान रद्द गर्न आग्रह गरेपछि मलेसियाबाट हुने चार्टर्ड उडान रद्द भएका हुन् ।

https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/117987194_597861017786941_7818355227891872242_n.jpg?_nc_cat=111&_nc_sid=b96e70&_nc_ohc=eopbjd2ZBAsAX9UcgsU&_nc_ht=scontent.fktm3-1.fna&oh=51049dffbd04ff3458aa79fdd2421070&oe=5F60EF5F

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *