देश

नेकपाका शीर्ष नेताहरु कार्यदलको सुझाव नआउदासम्म चुपचाप

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवाद सुल्झाउन दुई अध्यक्षले कार्यदल बनाएसँगै नेताहरु चुपचाप बसेका छन् । सरकार सञ्चालन, सरकारको समग्र मूल्यांकन तथा पार्टी सञ्चालनको विधि पद्धतिको विषयमा विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने तहमा विवाद उत्कर्षमा पुगेर कार्यदल बनेका कारण नेताहरु कार्यदलले दिने सुझावको पर्खाईमा चुपचाप बसेका हुन् ।
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच गत विहिबार शुक्रबार दुई दिन संवाद भएपछि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको थियो । सो कार्यदलले शनिबारबाट काम थालेको छ । शनिवार र आइतबार दुई दिन कार्यदलको बैठक बसेपनि सोमबार भने कार्यदलको बैठक बसेको छैन । ‘शीर्ष नेताहरुले कार्यदलको विरोध गरेका छैनन बरु उनीहरु कार्यदलले कस्तो सुझाव ल्याउछन् भन्ने पर्खाइमा रहेका छन्’, एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार तीन शीर्ष नेताहरु झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठले कार्यदलको बैधानिकतामाथि आपत्ति जनाएपनि उनीहरु कार्यदलको विपक्षमा भने रहेका छैनन । नेकपाभित्र विवाद बढ्दै गएपछि समस्या पहिचान गर्न र समाधान गर्नको लागि महासचिव पौडेलको संयोजकत्वमा शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
समितिमा पूर्व माओवादीको तर्फबाट जनार्दन शर्मा र पम्फा भूषाल रहेका छन् भने शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल पूर्व एमालेका तर्फबाट रहेका छन् । तीन महिना लामो आन्तरिक विवादमा गुज्रेको सत्तारुढभित्र अब प्याकेजमै सहमति गरेर विवाद टुग्यांउन कार्यदल गठन भएको हो । कार्यदलले दिएको सुझावको आधारमा पार्टीभित्रको विवादलाई प्याकेजमै सुल्झाइने कार्यदलका एक सदस्यले जानकारी दिए । माधव नेपाल समूहले यसअघि पार्टीभित्रको विवाद समाधान गर्न प्याकेजमै सहमति हुनुपर्ने कुरा उठाउदै आएको थियो । नेकपाका दोस्रो तहका नेताहरुलाई राखेर बनाइएको कार्यदलले दिएको सुझावको आधारमा निकास निकाल्ने अध्यक्षद्धयको चाहाना बामोजिम नै सो कार्यदल बनाईको हो । महाधिवेशन, एक व्यक्ति एक जिम्मेवारी, मन्त्रीपरिषद पुर्नगठन, पार्टी एकताको बाँकी काम, मूख्यमन्त्रीहरुको जिम्मेवारी हेरफेर, सरकारी नियुक्तिमा देखिएका विकृति, पार्टीभित्रको आन्तरिक जीवनमा देखिएका कमजोरी र शीर्ष नेताहरुको प्रवृत्तिगत स्वाभावमा सुधार जस्ता विषयलाई कार्यदलले प्याकेजमा राखेर छलफल थालेको भएपनि उनीहरुले बाहिर केही पनि नबोल्न आँचरसंहिता बनाएका छन् । कार्यदलले अध्यक्षद्धयलाई नै प्रतिवेदन बुझाउनेछ । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग बढेपछि नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो । विवाद उत्कर्षमा पुगेपछि स्थायी कमिटीको बैठक रोकेर साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच संवाद भएपनि खासै प्रगति हुन सकेको थिएन ।
दुई अध्यक्षको संवाद अघि वामदेव गौतामले माधव नेपाल र विष्णु पौडेलले दाहालसँग भेटघाट गरेका थिए । अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक बोलाउनु पर्ने र केन्द्रीय कमिटी सदस्यहरुले केन्द्रीय कमिटीको बैठक बोलाउनु भन्दै आफ्नो अडानमा रहेपछि ओलीले संवाद नै बन्द गरेका थिए । ओलीले दुवै पद नछाड्ने अडान राखेपछि दाहालले एक पद भएपनि छाड्न दबाब दिइरहेका थिए । यसबीचमा एक सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठकको माग गरेपनि स्थायी कमिटीको बैठक नबसी त्यसको निर्णय हुने अवस्था छैन । कार्यदलले दिएको सुझावको आधारमा दुई अध्यक्षले गर्ने निर्णय, सचिवालय बैठक, जारी स्थायी कमिटीको बैठक आन्तरिक विवादबारे छलफल हुनेछन् । ‘विवाद सकिएको होइन विवादलाई व्यवस्थापन गर्नका लागि कार्यदल बनेको हो । कार्यदलले ल्याउने सुझावमा के कस्ता भनाईहरु आउछन ती सबै स्थायी कमिटीको बैठकमा राखिनेछन् विवादको निरुपण त बैठकले मात्रै गर्ने हो कार्यदलले सुझाव दिने हो’, एक स्थायी कमिटी सदस्यले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *