काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई कोरोना रोकथाम सम्बन्धी विस्तृत कार्ययोजना पेश गर्न निर्देशन दिएपछि सीसीएमसीको बैठक बस्ने भएको छ । आगामी बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामको रणनीति तय गर्ने गरी विस्तृत कार्ययोजना ल्याउन रक्षामन्त्रीलाई सोमबार सो निर्दैशन दिएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले बैठकको तयारी गरेका हुन् । सीसीएमसीका एक अधिकारीका अनुसार काठमाडौ उपत्याकालाई निषेधाज्ञा जारी गर्ने तयारीका लागि जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा राखिएको छ । प्रधानमन्त्री ओलीको निर्देशनपछि रक्षामन्त्री पोखरेलले र गृहमन्त्री रामबहादुर थापाले काठमाडौ उपत्याकामा निषेधाज्ञा जारी गर्ने विषयमा छलफल गरेका थिए ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि विस्तृत योजना तयार गरेर ल्याउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० लाई निर्देशन दिएका थिए । मन्त्रिपरिषद् बैठकमा कोरोना अनियन्त्रित हुँदै गएकोले सरकारले तत्काल कदम चाल्नुपर्ने आवाज उठेको थियो। केही मन्त्रीले १५ दिनका लागि लकडाउन घोषणा गर्नुपर्ने बताएका थिए। सो क्रमिमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग राय लिएको एक मन्त्रीले जानकारी दिए। ‘विभिन्न विकल्पमा छलफल भयो। तर प्रधानमन्त्रीले बुधबार सीसीएमसीको बैठक बसेर विस्तृत योजना ल्याउनुस्, बिहीबारको मन्त्रिपरिषद् बैठकले त्यसलाई अनुमोदन गर्छ, भन्नुभयो,’ ती मन्त्रीले भने। मंगबार विहानै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयका सचिवलाई कार्ययोजना बनाउन निर्देशन दिएका छन् । उनले सो कार्ययोजना बुधबार बस्ने सीसीएमसीको बैठकमा ल्याउन सचिव महेन्द्र गुरागाई निर्दैशन दिएको स्रोतले जनायो ।
देश




