जनआन्दोलनका बाहक मुख्य राजनीतिक दलका शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरुमा विकसित हुँदै गएको एकाधिकारवाद स्वेच्छाचारीता, अकर्मयण्ता, सुविधाभोगी व्यवहार, स्वार्थी र संस्कारविहिन कोरा राजनीतिले सिंगो राजनीतिप्रतिको जनधारणामा नै बद्लाव ल्याएको छ । बहुदलीय व्यवस्थाका सारथीहरु एकदलीय पनि होइन, व्यक्तिवादी चरित्रका देखिएका छन् । दलिय प्रतिस्पर्धा, स्वास्थ्य बनाउने अवधारणा त धेरै टाढाको कुरा अन्तर पार्टी सञ्चालनमा समेत असफल भएका छन् ।
लोकतान्त्रिक व्यवस्थाका अनुयायीहरुमा देखिएको चरम निराश, अधिनायकवादी र स्वेच्छाचारी चरित्रले आम मानिसलाई निराश बनाउँदै लगेको छ । राजनीतिप्रतिको धारणा परिवर्तन हुँदैछ, राजनीतिज्ञहरुका बारेमा बनेको दृष्टिकोण परिवर्तन गरिदैछ । त्यससँगै बढेको बेथिति, अनियमितता, भ्रष्टाचार र अराजकताको अवस्थाले सर्वसाधारण मानिसलाई वाक्क दिक्क बनाएको देखिन्छ । देश महामारीबाट ग्रसित भएको अवस्थामा समेत शासकहरुको ध्यान अवैध कमाउ धन्दामा केन्द्रित भएको अनुभव र अनुभूतिले सामान्य सद्भाव र सम्मानको लायक पनि नभएको पात्रको रुपमा राजनीतिकर्मीहरुलाई राख्न थालिएको छ । राज्यकोषमाथि मनपरी गर्नको लागि र आफ्ना आसेपासे र नातागोताका मानिसको आर्थिक हैसियत उठाउनका लागि मात्र राजनीतिक नारा उठाएर आम सर्वसाधारण नागरिकको भावनामाथि कुठाराघात गरिएको अर्थमा मानिसले परिवर्तनलाई बुझ्न थालेका छन् । तर यसतर्फ सिंगो राजनीतिक क्षेत्र बेखबर छ । आफ्नो स्वार्थअनुकूलको कार्यका प्रति मात्र चिन्ता र चासो देखाउँछन् । आम जनताको अपेक्षा र नागरिकका प्रतिको दायित्वको बारेमा मुख खोल्न तयार छैनन । राज्यका तमाम अंगहरुका कामकारबाही, जिम्मेवारी र गतिविधिका बारेमा गम्भीर प्रश्नचिह्न लाग्दासमेत कहिकतै सुधार र आलोचना छैन ।
राष्ट्रपति संस्था संविधानले परिकल्पना गरेबमोजिम निष्पक्ष र तटस्थ हुनसकेन । नेपालको राष्ट्रपतिले मर्यादा उल्लंघन गर्दै नेकपाको हुने गतिविधि विद्या भण्डारीले देखाएकी छन् । पार्टीको विवाद मध्यस्तताको साक्षीको रुपमा राष्ट्रपतिलाई उपयोग गर्नु र प्रयोग हुनुले उक्त संस्थाको संवैधानिक गरिमा र मर्यादा रसातलमा पुगेको छ । सञ्चित कोषमा व्यभार पारेर सुविधाका सबै श्रोत र साधनको उपयोग गर्ने तर देशको राष्ट्रपति बन्न नसक्ने दरिद्र मानसिकता र बुझाइबाट उक्त संस्था ग्रसित देखिन्छ । के यसले सकारात्मक सन्देश दिएको छ ? परिवर्तित परिस्थिति र परिवेशको परिचय गराएको छ ? नेपाली सेनाको भूमिका र गतिविधिमाथि पनि प्रश्न तेस्याइएको छ । व्यापार व्यवसाय तथा भ्रष्टाचारमा ज्यादा रुचि देखाएको आरोप छ । के यसले सेनाप्रतिको विश्वास र भरोसा बढाउँछ कि घटाउँछ ? राजनीतिक नेतृत्व मात्र होइन सैनिक नेतृत्व पनि गम्भीर बन्नुपर्ने होइन र ? न्यायपालिकाप्रति पटक पटक प्रश्न तेर्सिएको छ । फैसला आदेशमा मात्र होइन न्यायाधीश नियुक्तिमा समेत गम्भीर त्रुटी भएका छन् । जनताको आस्था र विश्वासको धरोहरका रुपमा रहेको न्यायपालिकाप्रतिको अविश्वासले लोकतान्त्रिक शासन व्यवस्थाको मर्यादा कायम राख्न सहयोग पु¥याउँछ कि शासनको दम्भ र अहंकारलाई बल पुर्याउँछ ? हेक्का राखिएको छ ? कस्तो नैतिक आचरण र योग्यता भएको व्यक्तिलाई न्यायाधीश बनाउनुपर्छ भन्ने सामान्य सिद्धान्त र अभ्यासको पालना पनि गरिएको छैन । राजनीतिक नेतृत्वको इच्छा र न्यायिक नेतृत्वको स्वार्थका आधारमा बनाइएको मापदण्डमा टेकेर हुने न्यायाधीश नियुक्ति र त्यस्तो न्यायाधीशबाट आउने फैसला वा आदेशले न्यायका मान्य सिद्धान्त र मान्यताको सम्मान होला ? जनसाधारणले न्याय पाउने र पाएको अनुभूति कसरी गर्न सक्छन् ? अन्यायपूर्ण आदेश र फैसला भएको गरिबले न्याय नपाएको, धनीमुखी (पैसामुखी) न्याय प्रणाली रहको गुनासो त्यसै आएको होइन ।
संवैधानिक आयोगहरुको, राज्यका अन्य सेवाप्रदायक संस्थाहरुको अवस्था अझ दयनीय छ । मानिसहरुले अतिरिक्त व्ययभार विना सेवा प्राप्त गर्न सक्ने अवस्था नै छैन । कानुन बमोजिम प्राप्त गर्नुपर्ने सेवाका लागि आधिक समय लगाउनुपर्ने स्थिति छ । अर्थात् पैसा खर्च नगरी सेवा प्राप्त हुँदैन । पैसा खर्च गरेर दलको टिकट लिएका, पैसा नै खर्च गरेर निर्वाचन जितेका तत तत तहका प्रतिनिधिहरु टिकट लिँदादेखि निर्वाचित हुँदासम्मको लगानी व्याजसहित असुलउपर गर्न लागेका छन् । यसको व्ययभार पनि सर्वसाधारण, गरिब किसान र मजदुर नै टाउँकोमा थोपरिएको छ । प्रधानमन्त्री ओली यति, ओम्नी लगायतका अन्य व्यापारी र विचौलियाहरुको कार्ययोजना बमोजिम ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अभियानमा छन् । लेनदेन र भागवण्डा नलिमेर त्यसकै निम्ति पार्टी एकता गरेका दाहाल पार्टी विभाजन हुन सक्ने चेतावनी तिनै निुमखा जनतालाई दिन्छन् । ठेकेदारको आलिशान महलमा विराजमान भएर तिनै विचौलिया र ठकेदारको पक्षमा नीति बनाउन बुहारी छोरीदेखि हुमानसम्मलाई जिम्मेवारी दिएका दाहालले ओलीलाई कुर्सी छोडिदिन महामारीले मुलुक ग्रस्त भएको समयमा प्याकप्याकति गरेका छन् । समय सन्दर्भ नमिल्ने स्वार्थी खेलमा रमाउने, जनतालाई सम्भव÷ असम्भव सपना देखाउने अनि आफूहरु व्यापारी, ठेकेदार, डन र विचौलियाहरुबाट संचालित हुने राजनीति व्यवसायीहरुले सर्वसाधारण नागरिक र देशको पक्षमा नीति बनाउँछन् भन्ने अपेक्षा नै गलत हो । जनताको हक र अधिकारका निम्त संघर्ष गरेका जेलनेल र यातना भोगेका कार्यकर्ताहरुकै चरित्र त्यस्तो भएपछि परिवर्तन र परिवर्तित व्यवस्थामाथि नै प्रश्न चिह्न लाग्नु र परिवर्तनका लागि सहयोग पुर्याएका ज्यान दिएका, रगत पसिना बगाएका नागरिक असन्तुष्ट हुनु स्वभाविक होइन ? के दाहाल ओलीको अभिष्ट पूरा गर्न एमाले माओवादी एकता भएको हो ? नेकपा ओली दाहालको प्राइभेट कम्पनी हो ? हिस्सेदारी र नाफा घाटाको वासलात बिग्रिएको कारण झगडा मौलाएको हो ? खै हामी कम्युनिष्ट हौं भनी मर्न, मार्न तयार भएका नेता कार्यकर्ता ? सोझासाझा नेपाली जनतालाई मार्नका लागि मात्र हतियार उठाइएको हो कि मुलुकको परिवर्तन र रुपान्तरणका लागि इतिहासको कठघरामा उभिएर जवाफ दिनुपर्दैन भन्ने लाग्छ ? जनताप्रति बेइमान र गैर जिम्मेवारी हुँदाको परिणाम के हुन्छ ? थाहा छ ? दम्दार र निष्कपट नागरिकको रगतले दाहाल ओलीलाई पोल्दैन ?
सवाल व्यवस्थावादीहरुमाथि नै उठेको छ । सत्तारुढ दल र त्यसको नेतृत्व मात्र होइन परिवर्तनका लागि सात दशकदेखि लडेका हालको प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसमाथि पनि त्यत्ति नै गम्भीर सवाल छ । प्रतिपक्षको हैसियतमा खुम्चिनुपर्ने अवस्था कहाँबाट आयो ? कसले बनायो ? आ–आफ्नो व्यक्तिगत र गुटगत स्वार्थमा लिप्त हुँदाको परिणाम कस्तो आउँदो रहेछ भन्ने विश्लेषण गर्न कांगे्रस अझै जुटेको छैन । देउवालाई कमजोर बनाएर पौडेल आउने, पौडेललाई रोकेर कोइराला आउने, निधि, सिंह, महत, केसी, सिटौलाहरुका आ–आफ्नो रणनीतिमा लाग्ने, त्यसैको वरिपरी घुमेका कार्यकर्ता आप्नो दुनो कसरी सोझिन्छ भनेर बिहानदेखि बेलुकासम्म चाकरी र जी हजुरी गरिरहने प्रवृत्तिले कांगे्रसलाई कमजोर प्रतिपक्षमा ओरालेको हो । त्यही प्रवृत्ति, आचरण र पात्र देखिँदासम्म कुनै सुधार, परिस्कार र रुपान्तरणको गुन्जायस छैन ।
तलदेखि माथिसम्म पार्टीको टिकट बेच्ने, पैसा खर्च गरेर चुनाव जित्ने, पाखुरा देखाएर पार्टी कब्जा गर्ने, हुल्लडवाज र अराज भिड निर्माण हुने इमान्दार, निष्ठान र सक्षम नेता तथा कार्यकर्ता पाखा लाग्ने अवस्था यथावत रहेसम्म कांगे्रस कमजोर हुँदैहुँदै जाने हो । कम्युनिष्ट हौं भन्नेहरुको हविगतबाट लोकतान्त्रिक प्रणालीलाई विकास गर्ने सामथ्र्य र क्षमता नेपाली कांगे्रसले दिन प्रति दिन गुमाउँदै छ । सजिलोसँग पैसा जम्मा गरी पार्टी कब्जा गर्न चाहनेहरु हाबी हुँदै गएकोले निष्ठा, इमान्दारिता, तयाग र आदर्शको राजनीति पराजित भएको छ । कुन्डले, मण्डले, ट्यापे, विद्यालय र विश्वविद्यालय कुन चराको नाउ हो भन्ने थाहा नपाएका अरुलाई जाँच दिन लगाएर प्रमाणपत्र लिएका, चोरी गरी नक्कली प्रमाणपत्र राखेका, विदेशी विश्वविद्यालयका फर्जी प्रमाणपत्र धारीहरुबाट पार्टी राजनीतिलाई अलग नराखी शुद्धिकरण र रुपान्तरण सम्भव छैन । नेतृत्व इमान्दार नभएसम्म सुधार नहुने रहेछ । अनेकौं सम्झौता र समझदारी गरी नेतृत्वमा आउनेहरुबाट ठोस कार्य सम्पादन सम्भव रहेनछ भन्ने प्रमाणित भएको छ । राजनीति सेवामुखी नभएर नाफामुखी व्यापार भएको बुझ्ने र बुझाउनेहरुले नेपालको परिवर्तनको लक्ष्य र गन्तव्य पहिल्याउन नै सक्दैनन । अगाडि देखिएका अनुहारहरु आशा, विश्वास र भरोसा गर्ने नभएर निराश, कुण्ठा आग्रह र पूर्वाग्रहबाट ग्रसित देखिन्छन् । नजिकबाट चिनेको, देखेको, बुझेको र जानेको मन र आत्माले स्वीकार गर्न नै मान्दैन । जुन कुरा मन र आत्माले स्वीकार गर्न नै मान्दैन, के आशा राख्नु पनि ठीक होइन । यी चालकहरुले सुरक्षित किसिमले गन्तव्यमा पुर्याउँछन् भन्ने विश्वास लगभग समाप्त भएको छ ।




