ताजा समाचार

कोरोना महामारीले कला क्षेत्र थला परेको छ

नेपाली लोकदोहोरी फाँटकी ख्यातिप्राप्त गायिका तथा संगीत उद्यमी हुन् राधिका हमाल पुन । विकट जिल्ला रोल्पामा जन्मिएकी उनी प्राकृतिक स्वर र सिर्जनाले भरिपूर्ण छन् । हमाल संगीत क्षेत्रमा गायन, लेखन र उत्पादन क्षेत्रमा सिद्धहस्त छन् । स्वरमा ईश्वरीय बरदान पाएकी उनी संगीतसँगै समाज सेवा र राजनीतिमा पनि त्यत्तिकै दख्खल राख्छिन् । कर्णप्रिय स्वरकी धनी,सामाजिक बिकृति र विसंगतिविरुद्ध खरो उत्रने गायिका उनै राधिका हमाल पुनसँग संकल्प खबरका लागि कालिका महतले गरेको कुराकानी :

तपाईंले लकडाउन यता कतिवटा गीत गाउनु भयो ?
लकडाउन हुनेबित्तिकै त अब गीत, संगीतका काम ठप्पै भयो भन्ने थियो । तर, यस्तो चुनौतिको त सामाना गर्नुपर्छ भनेर ख्यालख्यालैमा दर्जनभन्दा बढी गीत गाउन सफल भइयो । त्यस यताका कुनै गीत त युटुबको टेन्डिङमै पनि आयो । जस्तो शन्तोष केसी दाइसँग गाएको ‘बुबा-आमा’, एसपी सापकोटा दाइसँग गाएको टुहुरी, र अहिले म आफैले निकालेको ‘घरबेटी’, आमाछोरी पनि एकदमै राम्रो भयो ।

तपाई गीत पनि लेख्नु हुन्छ ?

मैले धेरै गीतहरु लेखेकी छु । जस्तो ‘कोरोनाले रुवायो धुरुक्कै’ भन्ने गीत मैले लेखेको हो । त्यो गीत पूर्णिमा मगर र राजु परियार दाइले गाउनु भएको छ ।

गायन र लेखनबाहेक अन्य पेशा पनि छ ?
अन्य पेशा भन्दा पनि यसैसँग सम्बन्धित क्षेत्रभित्रै काम गर्न र आफूलाई व्यस्त बनाइराख्नको लागि युटुब च्यानल छ । त्यसैगरी म्यूजिक बैंक नामक रेकर्डिङ स्टुडियो पनि छ ।

अहिले गायक, गायिकाहरुको आयस्रोत के ?
अहिले गायक, गायिकालाई एकदमै गाह्रो छ । अरु पेशा गर्नेलाई पनि समस्या नै छ । तर, कला क्षेत्रलाई धेरै पिरोलेको छ । गायक, गायिकाहरुको आम्दानीको स्रोत स्टेज प्रोग्राम हो । कोरोनाको समस्याले त्यो ठप्प छ । नत्र म पनि यतिबेला थुप्रै देशमा प्रोग्रामको लागि गइसकेकी हुन्थेँ । विभिन्न देशमा कार्यक्रमहरु फिक्स भइसकेका थिए । तर, यत्तिकैमा निराश भएर अत्तालिनु हुँदैन । आम्दानीका स्रोत र वातावरण आफैले निर्माण गर्ने हो । ठूलो आम्दानीको स्रोत भनेको युटुब च्यानल हो । यसमा पनि एकदमै प्रतिस्पर्धाले गर्दा ठूलो लगानी चाहिन्छ । ‘लाखौंमा भिडियो गरेर हजारौंमा सन्तोस गर्नुपर्छ ।’

तपाईं त कला, गला र सिर्जनामा पोख्त गायिका नवआगन्तुकलाई के भन्नुहुन्छ ?
नवआगन्तुक साथीहरुलाई निकै अप्ठ्यारो छ । त्यसैले एकदमै सोचेर बुझेर मात्रै आउनुहोला भन्न चाहन्छु । अहिले स्थापित भइसकेका लागि त गाह्रो छ भने नयाँको त पलायन हुने अवस्था छ । कतिपय साथीहरु जो दोहोरी साझमै सीमित हुनुहुन्थ्यो, उहाँहरुलाई हामीले म्यानेज गरेर गाउँपनि पठायौं ।

अन्य संघ संस्थामा पनि आबद्ध हुनुहुन्छ ?
म राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको केन्द्रीय महिला उपाध्यक्ष हुँ । त्यसैगरी रोल्पा कलाकार समाजको अध्यक्ष छु । यी संघ, संस्थामार्फत समस्यामा परेका साथीहरुलाई सहयोग गर्ने गरेकी छु ।

घरबेटीसहित कतिजति तीज गीत गाउनुभयो ?
‘घरबेटी’ तीज गीत मेरो १७ औं कोसेली हो । पहिला त तीजको सिजनमा एकै वर्षमा ५० वटाभन्दा बढीमा गाएकी थिए । पहिला जसले गीत लेखेपनि गाउन मलाई सम्झिनुहुन्थ्यो । अहिले मेरो व्यस्तता बढेको छ । फेरि उहाँहरु आफैले गाउने प्रयास गर्न थाल्नुभएको छ ।

राम्रा शब्दले सिंगारिएकाभन्दा घोचपेजका गीत किन रुचाइन्छ ?
यसले जनताको समस्याप्रति सरकार उदासिन भएको बुझिन्छ । त्यसकारण घोचपेच र व्यंग्य प्रहार गरेका गीत, रचना र सन्देश रुचाइएको हो । रुचाइन्छ भन्दैमा त्यसोमात्रै गर्नुभएन । जस्तो पशुपति शर्माले गाउनुभएको ‘लुट्नसके लूट कान्छा, लुट्न सके लूट’ गीत एकदमै रियालिटी गीत हो । तर, त्यस्तो सन्देसमूलक गीतलाई युटुबबाट हटाउनुप¥यो ।

सिर्जनालाई राजनीतिमा मुछेर विवाद गर्दा कस्तो लाग्छ ?
सर्जकले सिर्जनामार्फत् उजागर गरेको सन्देसलाई अनावश्यक राजनीतितिर मोड्नु राम्रो होइन । हामीले पनि धेरै श्रोता, दर्शकले राम्रो छ भनिरहँदा आपूmमा देखिएका गल्ती, कमजोरीहरु स्वीकार्नुपर्छ । कुनै सिर्जना पस्कँदा सन्देसमूलक हुनुपर्छ । कसैले समाज भड्किने खालको सन्देस प्रवाह गरेर कमायो भन्दैमा त्यसको पछि लागेर डौडिनुहुँदैन ।

सरकारप्रति जनताको आश मरेको हो ?
अलिकति मरेकै हो । किनभने कोरोना सन्त्रासमा गरिएको लकडाउनले जनता आक्रन्त भइरहेका छन् । सरकार भने त्यसप्रति पटक्कै संवेदनशील देखिएन । खाली आफ्नो पार्टीको आन्तरिक झगडा, भागबन्डा र अनियमिततामा तल्लिन देखियो । यो अवस्थामा विश्वलाई हेर्ने हो भने त्यहाँका जनताले सरकारबाट अभिभावकत्व पाएको देखियो । करलगायत धेरै छुट गरेको पाइयो । हाम्रो त्यो देखिएन । त्यसैले जनता निरास भएका हुन् ।

पछिल्लो समय तीजलाई भड्किलो बनाइयो भन्ने छ नि ?
त्यस्तो भएको छ । हामीले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठामार्फत् ती विकृति, विसंगतिलाई न्यूनिकरण गर्न शिव हमालको संयोजकत्वमा कार्यदल बनाएका छौं । उहाँ उप–महासचिव हो, म त्यो संस्थाको उपाध्यक्ष छु । यसबाट धेरै कुराको सुधार भएको छ । जस्तो गलत इन्टेन्सन राखेर नराम्रा टाइटल राखेर प्रस्तुत गर्ने कार्यलाई परिवर्तन गर्न लगायौं । नराम्रो सन्देश जानेखालका गीतलाई युटुबबाट हटाउन सुझाएका छौं ।

तपाईंको ‘घरबेटी’ गीतले कस्तो सन्देश दिएको छ ?
‘घरबेटी’ गीतमा कोरोना भाइरसले आक्रन्त घरबहालमा बस्नेहरुको दूदर्शालाई वास्तविक रुपमा उजागर गर्न खोजिएको छ । बन्दाबन्दीको कारणले व्यापार, व्यवसाय ठप्प प्रायः छन् । हिन्दू महिलाहरुको महान् पर्व तीजलगायत अन्य चाड, पर्व आइसकेका छन् । यसमा घरबेटीबाट भाडाको तागेता र बहालमा बस्नेको तिर्न नसक्ने अवस्थाको चित्रण गर्न खोजिएकोछ । त्यसैले तीज लक्षित सन्देशमुलक गीत हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *