काठमाडाैं। नेपालले लिम्पियाधुरा लिपुलेक समेटिएको नक्सा जारी गरेपछि कुटनीतिक रुपमा चिसिएको सम्बन्धलाई सुधार गर्न नेपाल र भारतबीच आगामी भदौ १ गते उच्चस्तरीय कुटनीतिक वार्ता हुने भएको छ ।
नेपाल भारतका कुटनीतिक अधिकारीहरुबीच हुने सो वार्ता काठमाडौ हुने भएको हो । उच्चस्तरीय वार्तालाई दुवै देशले गोप्य राखेका छन् । काठमाडौंमा हुने वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिब शंकार दास वैरागीले गर्ने छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले गर्ने जनाइएको छ । यो वार्ता विशेष गरी भारतीय लगानीमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे हुने जनाइएको छ। यो किसिमको वार्ता २०१६ देखि हुँदै आए पनि पछिल्लो समय भने वार्ता रोकिएको थियो। विदेश मन्त्रालय स्तरमा हुन लागेको यो वार्ताको विषय भारतीय लगानीका नेपालमा सञ्चालित परियोजना बताइए पनि खास एजेण्डाबारे भने केही खुलाइएको छैन ।
भारतले गत वर्ष एकतर्फी रुपमा नक्सा जारी गर्दै नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो नक्सामा समेटेपछि सम्बन्धमा आएको चिसोपना नेपालले गत वैशाखमा नयाँ नक्सा जारी गरेपछि झनै बढेको थियो। नेपालले नयाँ नक्सा जारी गर्नुअघि सीमा विवादका विषयमा भारतसँग वार्ताको पहल गरे पनि भारतले वार्ता गर्न रुची देखाएको थिएन। नक्सा जारीपछि पनि नेपालले वार्ताका लागि पहल गरेको थियो। तर, भारतीय पक्षबाट सकरात्मक जवाफ आएको थिएन । तर, आगामी हप्ता काठमाडौंमा हुन लागिएको उच्चस्तरीय वार्ताले दुई देशबीच लामो समय बन्द रहेको कुटनीतिक वार्ता फेरि शुरु हुने अपेक्षा गरिएको छ । यसलाई कुटनीतिक क्षेत्रबाट मौनता तोड्ने एउटा महत्वपूर्ण प्रयासका रुपमा लिइएको छ ।




