काठमाडौं। नेकपाको आन्तरिक विवाद टुग्याउन शीर्ष नेताहरुलाई हम्मे हम्मे परेको बेला शीर्ष नेताहरुकै सुरक्षा गार्डलाई कोरोना संक्रमण भएपछि विवाद फूटसम्म्को अवस्थामा पुगेको छैन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई थकाउने र थर्काउने दुवै प्रयास असफल भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह एक पक्षीय रुपले स्थायी कमिटी बैठक बोलाउने तयारीमा थियो। प्रचण्ड निकट स्रोतका अनुसार एक पक्षीय बैठक बोलाउनका लागि माधव नेपाल र झलनाथ खनालले पनि सहमति जनाइसकेका भएपनि कोरोना बाधब बनेको छ ।
प्रचण्ड समूहले स्थायी कमिटीको बैठक बोलाएको विषय अध्यक्ष ओलीलाई पनि जानकारी गराउने, ओली पक्षीय नेताहरु बैठकमा सहभागी नभए बैठकको प्रक्रिया र पुरानो कार्यसूचीलाई अगाडि बढाउने तयारी गरेको थियो। तर नेताहरुको सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि र कोरोनाको जोखिम उच्च भएसँगै प्रचण्ड समूह पछि हट्न बाध्य भएको छ। यतिबेला मुलुकभर कोरोना संक्रमणको उच्च जोखिम बढेको छ। राजधानीमा दैनिक ५० भन्दा बढी संक्रमित फेला परिरहेका छन्। गत बिहीबार मात्रै नेकपा अध्यक्ष दाहालका ६ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको छ। ती सुरक्षाकर्मी दाहालको बाहिरी सुरक्षा घेराका हुन्। आफ्नै सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि दाहालले पछिल्लो समय भेटघाट र छलफललाई कम गरेका थिए । यद्यपी दाहालसहित उनको परिवारका सबै सदस्यको कोरोना टेस्टको रिपोर्ट नेगेटिभ आइसकेको छ। कोरोनाका कारण केही दिनलाई विभाजन टरेको एक नेताले बताए।
ओली इतर समूहको एक पक्षीय बैठक बोलाइएमा बैठकमा सहभागी नहुने, बराबारी हैसियत पुर्याउन नसके बैठकमा सहभागी नहुने रणनीतिमा ओली समूह रहेको छ। एक पक्षीय स्थायी कमिटी बैठक भयो भने बहुमतले ओलीलाई पार्टीको विधान बमोजिम दुई मध्ये एक पद छोड्न सल्लाह दिने निर्णय गर्ने ती नेताको दावी छ। ओली इतर समूहले स्थायी कमिटीको त्यो निर्णयलाई लिएर केन्द्रीय कमिटी बोलाउने पनि तयारी गरेको छ। केन्द्रीय कमिटीबाट पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दुई मध्ये एक पद छोड्नका लागि सुझाव दिने निर्णय गर्ने रणनीति बनाइएको ती नेताले दावी गरेका छन् । ओलीविरुद्ध एक पक्षीय निर्णय गर्दै जाँदा उनले दल विभाजन गर्ने गरी अध्यादेश ल्याउने आँकलन पनि गरिएको छ।तर, ओलीले विरोधीको आँकलनअनुसार अध्यादेश पनि ल्याएनन् र कुनै पद पनि छोडेनन् भने के गर्ने भन्नेमा अझै कुनै रणनीति भने तय भइनसकेको ती नेताले बताए। नेकपामा पछिल्ला दिनहरुमा दुबै समूह एक–अर्काको रणनीतिमा प्रतिरणनीति बनाउने प्रतिष्पर्धा भइरहेको छ।
यता केही दिन अगाडि प्रधानमन्त्रीसँग सातवटै प्रदेशका आन्तरिक मामलिा तथा कानुन मन्त्रीहरुले सामुहिक छलफल गरेका थिए। उक्त छलफलमा सहभागी प्रदेश नम्बर दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भयो। प्रधानमन्त्रीसहित गृहमन्त्री र कानुमन्त्रीसँग पनि भेट गरेका यादवलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीसहित गृहमन्त्रीले पनि कोरोना परीक्षण गराएका थिए। प्रधानमन्त्री र गृहमन्त्री दुवै जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ। कोरोना संक्रमितको संख्या बढेसँगै जनमानसमा त्रास बढेको छ भने नेताहरुले समेत भेटघाट र छलफललाई कम गर्न थालेका छन्। त्यसको प्रभाव सत्तारुढ दलका नेकपाभित्रको विवादमा पनि परेको छ। विवाद समाधानका लागि भन्दै दैनिक जसो हुने प्रधानमन्त्री एवं अध्यक्ष ओली र अध्यक्ष दाहालबीच संवाद हुन सकेको छैन। असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि नेकपाभित्रको विवाद जारी नै थियो तर, त्यो विवाद साउन १३ गते अझ उत्कर्षमा पुग्यो। कारण थियो, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगित गरिदिए, त्यसको जवाफमा कार्यकारी अध्यक्षको भूमिका रहेर पनि भूमिका नपाएको गुनासो गर्दै आएका पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेपछि विवाद उत्कर्षमा पुगेको हो।
साउन १३ गते दाहाल पक्षीय नेताहरुले बैठकले प्रधानमन्त्री ओलीसँग सहमति गर्ने जिम्मा दाहाललाई नै दिएको थियो। त्यसबीचमा केही पटक ओली र दाहालबीच संवाद पनि भए। अझ पछिल्लो केही बैठकमा त दाहालले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाललाई र प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सााक्षी राखेर छलफल पनि गरे। तर, निष्कर्ष निस्किएको छैन।




