ताजा समाचार

राजकाजमा विचौलियाको बिगबिगी

आम मानिसहरु यसै पनि सरकारसँग असन्तष्ट थिए, त्यसमाथि सत्तारुढ दलभित्र देखिएको चरम विवाद र पदलोलुप्ताले निराशा अझ बढाएको छ । भ्रष्टाचार र अनियमितताका दर्जनौं काण्डहरु घट्दा पनि सुधारको अपेक्षा राख्ने तप्का मात्र होइन, नेकपाका पुराना र समर्पित कार्यकर्तासमेत सरकारको असफलता र सत्ताका लागि भएको झगडाबाट आजित भएका छन् ।

कम्युनिष्टको सरकार हो वा होइन ? भन्न मिल्छ वा मिल्दैन ? कम्युनिष्ट पार्टीका सदस्य हुन् वा होइनन् ? युद्ध अपराधको भारी तत्कालीन माओवादीले मात्र बोक्नुपर्ने हो वा नेकपाले पनि त्यसको जिम्मेवारी लिन तयार भएको हो ? लगायतका अनगिन्ती प्रश्नहरुले आफूलाई कम्युनिष्ट हुँ भन्ने नेता तथा कार्यकर्ताहरु पिरोलिन थालेका छन् । मीठा र सुन्दर सपना देखाएर ‘जनयुद्ध’ गरेकाहरुको हालको ‘धन र सत्तायुद्ध’ देखेर आत्महत्या नै गर्ने स्थिति नदेखिए पनि लोकप्रिय नाराबाट मोहभंग भएको चाहिँ अनुभूति गर्न सकिन्छ । सत्ताका लागि नै सबै हर्कत भएको रहेछ भन्ने सन्देश दिन वर्तमान सरकार, नेकपा र यसको नेतृत्व सफल भएको छ । अर्थात् नेपाली जनतालाई बाँडिएका मीठा आश्वासन र देखाएका सबै सपना काल्पनिक रहेछन्, त्यसप्रति नेकपाको नेतृत्व इमान्दार होइन रहेछ भन्ने बुझ्न बाँकी रहेको छैन । सुक्ष्म रुपले सत्ता राजनीतिको विश्लेषण गर्ने तथा अन्तरपार्टी चरित्रको भेउ पाउने कुनै पनि कार्यकर्ता बाँकी जीवन कम्युनिष्ट नाउँको आवरणमा नबिताउने निष्कर्षमा पुगेको देखिन्छ । भेटिन्छ । यस्तो त नसोचिएको अवस्था भोग्नु पर्यो, कम्युनिष्यट विचारलाई बद्नाम बनाउने काम नेपालका कम्युनिष्टहरुले एक पटक होइन, पटक पटक गरेका छन् । अवसर नपाएर हो कि भन्ने लागेको मात्र थियो, त्यो पनि अभूतपूर्व जनसमर्थनपश्चात सरकार र पार्टी सञ्चालन प्रवृत्ति र प्रकृतिले स्पष्ट गरेको छ । कुनै पनि सर्त वा बहानामा उम्कने बाटो बाँकी राखिएको छैन ।

हिजोका दिनमा नभएका र घट्न नसकेका घटना घटाउन समेत नेकपा र यसका नेतृत्वमा बसेको सरकारलाई सफलता मिलेको छ । स्वार्थ समूहको स्वार्थ र हितमा राज्यका सबै निकाय र अंगहरुलाई ‘रुपान्तरण’ गरिएको छ । विचौलिया, दलाल, तस्कर, व्यापरी र ठेकदार राजनीतिकर्मीहरुका लागि अनुकूल भएका छन् ।

हरेक अंगमा भएका नियुक्तिहरुलाई हेर्दा त्यस्तै देखिन्छ । ओम्नी र यति वालाहरुको पहुँच र दादागिरी त सर्बत्र फैलिएकै छ । यसबीचमा तमाम घटना क्रम हेर्दा लाग्छ की नेकपाका नेता तथा कार्यकर्ता नेतृत्वका दास हुन वा निष्ठानवान कार्यकर्ता ? अध्यक्षद्वयका बीचमा भएको विवाद, मिलाउने प्रयास, सम्भावित भागवण्डाको यस्तो लामो सिलसिला चल्दा पनि मुख बन्द गरेर बस्ने पंक्ति यता र उताको बचाउमा दिनरात लाग्ने कार्यकर्ता निष्ठावान हुन कि दास हुन् ? हामी कस्तो राजनीतिक संस्कृतिको विकास गर्दैछौं ? कस्तो पार्टी बनाउन चाहन्छौं, कस्तो संगठन विकास गछौं, कस्ता नेता र कार्यकर्ता उत्पादन गर्दैछौं ? व्यापारिक घरनासँगको सम्बन्ध, विचौलियाहरुको बिगबिगी, भ्रष्टाचार एवम् अनियमिताका यति धेरै काण्डहरुमा समेत मौनता साध्ने र पक्षपोषण गर्ने नेता र कार्यकर्ताहरुले कस्तो समाज स्वीकार गर्न नसक्ने मानसिकताका बीचमा पार्टी सरकार अरुकै कब्जामा गएको नेकपाका नेता तथा कार्यकर्ताले थाहा पाएका छैनन ? पार्टीको विवाद मिलाउने, मार्सी भात खाने, ठूला आयोजना हात लगाइ लागत बढाउन व्यापक चलखेल गर्ने, जन्मदिनमा अजंगको केक उपहार स्वरुप हेलिकप्टरमा सम्बन्धित ठाउँमा पुर्यााउने, घरमा बसेवापत ठेक्कापट्टा उपलब्ध गराउने, निर्धारित समयमा गुणस्तरयुक्त काम गर्न नसकेको देशको कानुनले कालो सूचिमा राख्नुपर्ने व्यक्तिको संरक्षण गर्ने प्रवृत्तिले गरिब, मजदुर, श्रमिक निसाहय व्यक्तिको जनजीवनमा बद्लाव ल्याउँछ भन्ने विश्वास इमान्दार कम्युनिष्ट कार्यकर्ताले अझै पालिरहेकै छन् ? होइन भने यत्रो ठूलो असफलता, विवाद, जनआक्रोस र निरासा छाएको समयमा मुख बन्द गरी बस्नु, पक्ष विपक्षमा वकालत गर्नु, सरकारको बचाउमा अमर्यादित शब्दहरु अभिव्यक्त गर्नुको अर्थ के हो ? परिवर्तनको महत्व र आवश्यकताप्रति आम मानिसले बुझ्ने व्यवहार यस्तै हुन्छ ? समाजमा व्याप्त असन्तुष्टिको मापन गर्न नसक्ने सरकार, सरकारलाई सहयोग नपु¥याउने पार्टी, विचार केन्द्रित नभई व्यक्तिको स्वार्थ केन्द्रित विवादप्रति उदासिन कम्युनिष्ट कार्यकर्ताले आम जनतालाई के जवाफ दिन्छन् ? एमाले र माओवादी मिली बन्ने सरकारले चमत्कार गरेर देखाउँछु भन्ने भए धम्क्यउने कम्युनिष्टहरुको परिवर्तनको मुद्दा कहाँ हरायो ? आम मानिसले प्रश्न गरिरहेका छन् कि कम्युनिष्टको सुधारिएको जनवादको असली रुप त डनवाद पो रहेछ । एकातर्फ अनियमितता, असफलता, भ्रष्टाचार, अर्कोतर्फ डनवाद, धनवाद र विचौलियावादले सम्पूर्ण न्यायपे्रमी जनतालाई बेचैन बनाएको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, समानुपातिकता, लोकतन्त्र शान्ति र समृद्धिको नेपाली स्वरुप कस्तो बन्दै गएको छ ? संविधानसभाबाट बनेको संविधान अन्तर्गत बनेको सरकारको कार्यसम्पादन कस्तो हुनुपर्दथ्यो ? कस्तो अपेक्षा राखिएको थियो ? भन्ने बोध नभएको नेतृत्वबाट परिवर्तनको उद्देश्य, लक्ष्य र उपलब्धिमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको छ । कम्युनिष्टहरुलाई राजनीतिको मूलधार (लोकतन्त्र) मा ल्याएको दाबी गर्नेहरुमाथि पनि जिम्मेवारीबोध नभएको आरोप लागेको छ । उनीहरुलाई जिम्मेवार र इमान्दार बनाउने दायित्वबाट लोकतन्त्रपे्रमी समाज च्यूत भएको देखिन्छ । यस्तो महामारीले भयावह भएको समयमा पनि गम्भीर, इमान्दार र सम्वेदनशील बन्न नसक्ने सरकार राजनीतिक नेतृत्व र राजनीतिक दलबाट भविष्यमा के आशा गर्न सकिन्छ ?

विवाद ओली र दाहालको हो वा सरकार र नेकपाको हो ? ओली र दाहालको स्वार्थ मिल्ने वित्तिकै ठीकठाक हुने हो कि बाँकी विषयहरुमा पनि सुधार आउनुपर्ने हो ? जनअपेक्षाको सम्वोधन आवश्यक छ कि नेतृत्वको व्यवस्थापन ? सबैको निहित स्वार्थ मात्र देखिन्छ ।

व्यक्तिगत लाभ हानीलाई प्राथमिकतामा राखी भएको विरोध वा असहमति लेनदेन र भागवण्डामा टुंगिन सक्छ, तर यसले नेपाली जनताको आशा, विश्वास र भरोसा पुरावृत्त हुन सकदैन । जनताको निराशाको तह धेरै खख्चिकएको छ । त्यहाँबाट माथि उठाउन दायित्व बहन गर्न नेकपाको विवादको कुनै साइनो सम्बन्ध छैन । अर्थात् समाधानको एजेन्डामा यस्तो विषय समावेश गरिएको छैन । आ–आफ्नो व्यक्तिगत गुटगत र साविकको दलगत स्वार्थलाई केन्द्रविन्द्रमा राखएर निकाल्न खोजिएको समाधानले मात्र वर्तमान परिस्थितिको यथार्थ मूल्यांकन गर्दै तदनुरुपको क्रियाशीलता प्रदर्शन भएको मानिने छैन । जनता जनार्दन यति बुझ्ने भइसकेका छन् । जनताको चेतनाको स्तर ख्याल गरिएन र परिवर्तनका म्द्दा एवम एजेन्डाप्रति बेइमानी प्रकट भयो भने त्यसको उपलब्धिलाई कमजोर र बद्नाम गर्नेछ । पकारान्तरले नेकपा पार्टी र यसको नेतृत्वमा बनेको सरकार लोकतान्त्रिक शासन व्यवस्थाका मूलभूत मूल्य एवम् मान्यतालाई धारासायी बनाउने योजना आफ्नै गतिवधिमार्फत् गरिएरहेका छन् भन्ने देखिन्छ । हामीले चाहेको शासन प्रणाली नभएकोले यो प्रणाली असफल भएको जिम्मेवारी वा क्षति हामी कम्युनिष्टहरुलाई हुन सक्दैन भन्ने झै गरी व्यवस्थामाथि नै प्रहार हुँदैछ । सत्ताको सफर गराएको र यहाँसम्म ल्याइपुर्याएको लोकतान्त्रिक पद्धतिले नै हो भने बुझ्न जति ढिलाइ गर्छन वा बुझ पचाउँछ त्यत्ति नै बढी क्षति उनीहरुले पनि व्यहोर्नुपर्नेछ, देशले त धेरै मूल्य चुकाइसकेकै छ ।

नेकपा मुठ्ठिभर व्यापारी, ठेकेदार र विचौलियाबाट निर्देशित परिचालित र सञ्चालित छ भन्ने कुरा बीच बीचमा उनीहरुबाटै स्पष्ट भएको छ । यतिको स्वार्थमा भएको ऐन संशोधन, ओम्नीका लागि भएको विशेष सुविधा, लगानी बोर्डमा नियुक्त भएका व्यक्तिको भूमिका विगत र वर्तमान आदि इत्यादि जोड घटाउन गर्दा मार्सी चामलको भातसमेत जोडजाड गरी नेकपा गठनसम्मको अध्ययन विश्लेषण र मूल्यांकन अनि सरकारको कार्यशैली, पार्टीभित्रको विवाद टुलुटुलु हेरिबस्ने नेता–कार्यकर्ता, समाधानका लागि दुई अध्यक्षलाई उपलब्ध जिम्मेवारी समयलगायतका सन्दर्भहरुले प्रश्न केवल नेतृत्वमा रहेकाहरुप्रति मात्र तेर्सिएको छैन, उक्त प्रश्न तमाम कम्युनिष्ट पार्टीका सदस्य, समर्थक एवम् शुभेच्छुकहरुप्रति पनि तेर्सिएको छ । यो दृश्य हेरिरहने कि हस्तक्षेप अगाडि बढाउने ? हस्तक्षेप गर्न नसक्ने हो भने तमाम प्रश्नहरुको जवाफ इतिहासले सम्बन्धित सबैसँग खोज्ने छ । नियतिले कसैलाई पनि छोड्दैन भन्ने त घटनाक्रमले देखाइसकेको छ । प्राकृतिक होस वा कृतिम वा भाइरस जनित महामारी नै किन नहोस्, अतिले निम्त्याउने खति नै हो । खतिको सामना गर्ने सामथ्र्य नेकपामा छ कि छैन, सक्ला कि नसक्ला ? त्यो प्रश्नभन्दा पनि महत्वपूर्ण सवाल नेपाल राज्यले धान्न सक्छ कि सक्दैन भन्ने हो । नेकपा पार्टी र यसको सरकारको कार्य सम्पादन, शैली, व्यवहार, गतिविधि र प्रस्तुति हेर्दा लाग्छ कि शासन व्यवस्था मात्र होइन, नेपाल राज्यलाई असफल बनाउने चक्रव्यूहमा सरकार फसेको छ । नेपालको भूराजनीतिक संवेदनशीलतामाथि प्रभाव पार्ने किसिमका कार्यहरु भएका छन् । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप निम्त्याएको छ । अनावश्यक रुपमा असम्बन्धित पक्षको घुसपैठ बढेको छ । एउटा छिमेकीको विरुद्ध अर्को छिमेकी उचाल्ने प्रवृत्ति देखिएको छ । एउटा छिमेकीको हस्तक्षेपका विरुद्ध अर्को छिमेकी निम्त्याएको छ । सांस्कृतिक एवम् परम्परागत सम्बन्धहरुप्रति अप्रमाणित विषय उठान गराई विवादित बनाउने काम समेत सरकार प्रमुखबाट भएको छ । यो स्थितिलाई सामान्य रुपमा आंकलन गर्न सकिँदैन, समयमा नै यस प्रकारका सम्वेदनशील विषयमा सन्तुलित अवधारणा अगाडि ल्याउन नसक्दा राज्य व्यवस्था नै असफल हुनेछ । कुनै एक दलको सरकार नेतृत्व मात्र होइन, राज्यको अखण्डता एवम् सार्वभौमिकतामाथि आघात पुग्नेछ । सबैले गम्भीरता देखाउन अति जरुरी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *