काठमाडौं । कोरोना संक्रमणका लागि नेपाली सेनाले भारतबाट खरिद गरेर ल्याउने भनिएको औषधि नआउने भएको छ । कोरोना संक्रमणका लागि भारतबाट खरिद गर्ने भनिएको औषधि अब नआउने जानकारी माथिल्लो निकायमा भैसकेपछि अब भारतबाट औषधि नआउने पक्का भएको स्रोतले जनाएको छ ।
चीनबाट औषधि आएपनि यसअघि भारतबाट भने औषधि आउन समय लाग्ने जनाइएको थियो । भारत सरकारले अनुदानमा दिने औषधि पठाएको तर नेपाल सरकारले खरिद गर्न चाहेको औषधिका बारेमा भने त्यहाँको ब्युरो अफ फर्मा पिएसयुएस अफ इन्डिया (बिपिपिआई)कम्पनीलाई निर्यात अनुमति नहुँदा रोकिएको र भुक्तानी लगायतका ६ वटा विषयमा अलमल रहेको कारण अब सेनाले औषधि नै नल्याउने भएको हो । यसअघि नयाँ दिल्लीस्थित नेपाली दूतावासले सरकार–सरकार (जिटुजी) तहमा नेपाली सेनाले भारतबाट ल्याउन लागेको औषधि खरिद प्रक्रियामा विभिन्न प्रश्न उठाउँदै स्पष्ट पार्न आग्रह गरेपछि खरिद प्रकृयानै अन्यौलमा परेको थियो । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत भुक्तानीसहितका विषयमा प्रश्न उठाउँदै यथास्थितिमा खरिद प्रक्रिया अघि बढ्न नसक्ने पनि स्पष्ट पारेको थियो ।
रक्षा मन्त्रालय स्रोतका अनुसार दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाली सेनालाई खरिद प्रक्रियासम्बन्धी विभिन्न ६ विषयमा स्पष्ट पार्न भन्दै पत्र पठाइसकेपनि त्यसको जवाफ भने अहिले सम्म दिइएको थिएन । दूतावासले प्रक्रिया प्रारम्भ हुनुपूर्व औषधि खरिद गर्ने कम्पनी छनोटको निर्णय, भुक्तानीको विधि (एकमुष्ट, किस्ताबन्दी, अरू कुनै), भुक्तानी दिँदा बैंक जमानत आवश्यक पर्ने वा नपर्ने, औषधि आपूर्तिकर्ताले औषधि आपूर्ति गर्ने परिमाण, ढुवानीको विधि (एकमुष्ट वा किस्ताबन्दी) के हुने स्पष्ट पार्न पत्रचार गरेको थियो । तर नेपाल सरकारले सो कम्पनीलाई पैसा भुक्तानी गरिसकेका कारण औषधि नेपाल नआउने भएपछि भुक्तानी वापतको करोडौ रुपैया डुबेको आशंका गरिएको छ । त्यसैगरी औषधि दूतावासमा प्राप्त भइसकेपछि गुणस्तर नियन्त्रण, उपयोग म्यादलगायत जाँच्ने कार्यमा आवश्यक प्राविधिक कर्मचारी र औषधि आपूर्ति कम्पनीसँग कुनै सम्झौता नभएको अवस्थामा आपूर्ति व्यवस्थामा त्रुटि, लापरबाही वा अन्य समस्या उत्पन्न भए समाधानका उपायबारे पनि स्पष्ट हुन दूतावासले आग्रह गरेको थियो ।
औषधि खरिद गर्न लागिएको कम्पनी ब्युरो अफ फर्मा पिएसयुएस अफ इन्डिया (बिपिपिआई) सँग सम्झौता गर्न नमिल्ने जनाउँदै दूतावासले पत्रमार्फत सरकारलाई उक्त बिपिपिआई कम्पनी भारतको डिपार्टमेन्ट अफ फर्मास्युटिकल्स अन्तर्गतको सरकारी कम्पनी भए पनि भारत सरकारको निर्देशनबिना अन्य देशमा औषधि निर्यात गर्न नसक्ने बेहोरा अवगत गराएको स्मरणसमेत गराएको थियो । सेनाले भारतबाट कोरोना रोकथाम तथा नियन्त्रण गर्ने प्रयोजनका लागि जिटुजी तहमा ५२ प्रकारका औषधि खरिद गर्न लागेको छ । सेनाले चीनसँग जिटुजीमार्फत गरेको मेडिकल सामग्री खरिदको विवाद सेलाउन नपाउँदै भारतबाट समेत डेढ करोडभन्दा बढीको औषधि खरिद गर्न लागेको थियो ।




