काठमाडाैं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले हवाई उडान सञ्चालन गर्न कम्तीमा भदौ १५ सम्म रोक्नुपर्ने निस्कर्षमा निकालेको छ । कोरोना भाइरसको संक्रमण बढिरहेकाले अन्तर जिल्ला यातायात तथा अन्तरिक हवाई उडान भदौ १५ गतेसम्म रोक्नुपर्ने निस्कर्ष निकालेको हो ।
आइतबार साँझ सीसीएमसीको बैठकले काठमाडौ उपत्यकासहित मुलुकका धेरै जिल्लामा संक्रमण बढेको बारे स्थिति विश्लेषण गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले लक्षण भएका बिरामी र मृत्यु बढिरहेकाले सबैले सुरक्षित भएर बढनु पर्ने अवस्था रहेको बताए ।
सिसीएमसीको बैठकले भदौ १५ सम्म हवाई उडान लगायतका विषयहरु रोक्नुपर्ने निर्णयका लागि मन्त्रीपरिषदलाई सिफारिस गरेको छ । स्वास्थ्य प्रोटकको पालना नहुँदा जोखिम बढ्दै गएको निष्कर्ष निकालेको सीसीएमसीले जीवन रक्षाका लागि बृद्ध, बालबालिका र अत्यावश्यक काम नभएकाहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।अत्यावश्यक काममा बाहिर निस्कन परेमा मास्क, स्यानिटाइजरको प्रयोग गर्न, साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न अनुरोध गरिएको छ । यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान सुचारु गर्न मापदण्ड तयार पारेको छ । नेपाल आउन चाहनेहरुले पिसिआर रिपोर्ट नेगेटिभ भएको पेपर देखाउनुपर्ने, नेपाल आएर १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, सीसीएमसीको अनलाईन फारम भर्नुपर्ने, होटल बुक गर्नुपर्ने लगायतका मापदण्ड तयार पारिएको छ ।
यसै गरी बैठकले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो ।




