अर्थ

जुवा खालबाट पक्राउ परेका व्यापारी खत्रीलाई सम्पत्ति शुद्धिकरण विभागको छड्के आँखा

काठमाडौं । काठमाडौको महाराजगन्जस्थित व्यापारी नारायण पौडेलको घरको जुवा खालबाट १ दर्जन व्यापारीसहित पक्राउ परेका सिन्धुपाल्चोका बिष्णु खत्रीको सम्पतीको बारेमा सम्पत्ति शुद्धिकरण विभागले चासो राखेको छ । सामान्य किसानको हैसियतबाट एकै पटक कसरी अरबौको मालिक हुने हैसियत राखेकाे भन्दै उनको सम्पत्ति छानवीनका लागि वेनामे उजुरी परेपछि नियमक निकाय सम्पत्ति शुद्धिकरण विभागले चासो दिएको हो ।

साउन १७ गते अपरान्ह नेकपा निकट व्यापारी नारायण पौडेलको घरको जुवा खालबाट पक्राउ परेका खत्रीको सम्पत्तिको बारेमा शंका लागेमा छानवीन गर्न प्रहरी आफैले पनि विभागलाई सिफारिस गर्ने प्राब्धान रहेको छ । जुवाको खालबाट समातिएका खत्री सहितका व्यापारीहरुको बारेमा पाएको सूचनापछि अहिले प्रहरी र सम्पती शुद्धीकरणका अधिकारीहरु थप अनुसन्धानमा जुटेको स्रोतको दावी छ । प्रहरी र सम्पती शुद्धिकरणका अधिकारीहरुले खत्रीको सम्पतीको बारेमा पाएको जानकारीले उनीहरु आफै छक्क परेका छन् । प्रहरी स्रोतले दिएको जानकारी अनुसार खत्रीको काठमाडौं वनस्थलीको सिन्धु कोलोनीभित्र ५ रोपनीको कम्पाउण्डमा आलिसान घर रहेको छ । काठमाडौंभित्रै विभिन्न ठाउँमा सम्पती जोडेका खत्रीको आफ्नो र श्रीमतीको अतिरिक्त विभिन्न व्यक्तिको नाममा समेत सम्पती राखेको पाइएको छ । श्रीमतीको नाममा स्वयम्भू, बौद्ध र ककनीमा रोपनी जग्गा समेत रहेको स्रोतको दावी छ ।

न्यूरोडको रञ्जना कम्प्लेक्समा खत्रीको दुई करोड दरका ५ वटा सटर रहेको समेत अनुसन्धानमा फेला परेको छ । सम्पती शुद्धिकरण विभाग स्रोतका अनुसार खत्रीको सिन्धु विकास बैङकमा १ करोडको शेयर फेला परेको छ भने शुभश्री हाइड्रोमा ६ करोडको शेयर रहेको छ । केहि समयअघिसम्म खत्री नै सो हाइड्रोका अध्यक्ष समेत थिए । विगत १५ बर्षको अवधिमा खत्रीले अस्वाभाविक रुपमा आर्जन गरेको सम्पती देखेर विभागका अधिकारीहरु पनि चकित परेका छन् ।

खत्रीको दुईवटा ल्याण्डरोभर गाडी काठमाडौंका सडकमा गुडिरहेका हुन्छन् । सो गाडिसँगै डेढ करोड पर्ने टोयोटाका हाइलक्स गाडी पनि उनले चढ्दै आएका छन् । विगतमा रक्तचन्दको अवैध कारोवारमा समेत संलग्न रहेका खत्रीले भारतको हरियाणामा दर्ता भएको बीएमडब्लू कार पनि काठमाडौंमा चलाउँदै आएका छन् । भारतीय नम्वर प्लेटको सो गाडी भने उनले दैनिक राजस्व तिरेर चलाउँदै आएको बताइएको छ । खत्रीको खर्च गर्ने शैलीले पनि अधिकारीहरु आश्चर्यमा परेका छन् ।

सिन्धुपाल्चोकको जम्मुमा गएको पहिरोले व्यापक जनधनको क्षती भएपछि सभामुख अग्नी सापकोटा हेलिकप्टर लिएर गएका थिए । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहन बहादुर बस्नेत पनि हेलिकप्टरमा राहत लिएर गएका थिए । साथै नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा (सुवोध) र स्थानीय नेताहरुलाई लिएर खत्री पनि हेलिकप्टरमा त्यहाँ पुगेका थिए । खत्री २०७४ सालमा सिन्धुपाल्चोक क्षेत्र नम्वर १को (क)बाट प्रदेश सांसदमा उमेद्वार थिए । उनलाई तत्कालिन नेकपा एमालेका नेता अरुण नेपालले हराएका थिए । तर उद्धार र राहतमा अलग्गै र प्रतिष्पर्धी दलका नेताहरुलाई लिएर गएको देखेर स्थानीय कांग्रेसले पनि उनीमाथि प्रश्न तेस्याएका थिए । उनले सबैले भाडा शेयर गरेर आएको भनेपनि अन्य कांग्रेस कार्यकर्ताले भने त्यो पत्याएनन् । नेकपाका सिन्धुपाल्चोकका सापकोटा परिवारसँग निकटता राख्दै आएका खत्रीलाई अहिले जुवाको मात्र नभई सम्पति शुद्धिकरणको मुद्धा नलाग्ने बनाउन सापकोटा लागिपरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *