देश

प्रचण्डलाई महाधिवेशनमा सहयोग गर्ने पौडेल-पोखरेलको प्रस्ताव

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयको वार्ता रोकिएका बेला खुमलटारले महासचिव विष्णु पौडेललाई खुमलटार प्रवेशमा रोक लगाएको थियो । आन्तरिक विवादमा महासचिवले धेरै पटक वालुवाटारको सन्देश भन्दै खुमलटार जाने थालेपछि महासचिव जस्तो मानिस सन्देश बोकेर आउने कि पार्टीको प्रस्ताव बोकेर आउने भनेर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले हप्काएपछि उनका लागि विगत एक हप्तादेखि खुमलटार प्रवेश निषेध भएको थियो ।तर अचानक शनिवार उनी खुमलटार पुगे । उनी मात्रै थिएनन साथमा ५ नं प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल पनि थिए ।

शुक्रबार साँझ काठमााडौ आईपुगेका पोखरेलले साँझ नै वालुवाटारमा प्रधानमन्त्र केपी शर्मा ओलीसंग भेट गरेर शनिवार महासचिव पौडेललाई लिएर खुमलटारमा पुष्पकमल दाहाल प्रचण्ड भेट्न पुगेका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री पोखरेल खुमलटार पुगेपनि उनीहरुकाबीच सहमति योग्य कुनै कुराकानी हुन सकेनन । खुमलटारले भन्यो, अहिले मुख्य समस्या केपी ओली हुन् उतैबाट समाधान हुनपर्छ भनेपछि उनीहरुले पनि केपीसँग मिलेरै अधिकतम लाभ लिन आग्रह गरेको र त्यसमा आफूहरुले सहयोग गर्ने जनाएका थिए ।

‘केपी ओलीलाई कमजोर बनाउने अथवा पार्टी र सरकारबाट हटाउनका लागि झलनाथ, माधव नेपाल, बामदेव कमरेडसँग गठबन्धन गर्नु सही, जायज छैन’, पौडेल-पोखरेलले सो प्रस्ताव गरेको स्रोतले जनायो । ‘झलनाथ, माधव, बामदेव कमरेडसँग गठबन्धन होइन कि केपी ओलीसँगै भावी नेतृत्व लिनेगरी सहकार्य गर्नु नै अहिलेको सही कदम हो र पार्टी एकताको मूल प्रिन्सिपलले पनि त्यही भन्छ’, दुवै नेताले प्रचण्डलाई फकाउने गरी प्रस्ताव राखेका थिए । तपाईँ कमरेड प्रचण्ड सिंगो पार्टीको अध्यक्ष बनेर जानुपर्नेमा गुटको नेता भएर हिँड्नु हुदैन हामी बरु अबको नेतृत्वमा साथ दिन्छौ उनीहरुले प्रचण्डलाई प्रस्ताव गरेका थिए ।

बिहीबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि प्रचण्डसँग छलफल गरेका थिए । तर प्रचण्डले आफूहरु सहमतिकै पक्षमा रहेको, अहिलेको गतिरोध अन्त्यका लागि अर्का अध्यक्ष ओलीले निकास दिनुपर्ने बताएका थिए । एक हप्तादेखि खुमलटार नपुगेका महासचिव पौडेल भने शनिवार पोखरेलको साथा लागेर पुगेका थिए । असार १० देखि शुरु भएको स्थायी कमिटी बैठक असार १८ बाटै अहिलेसम्म स्थगित भएको छ । यो बीचमा तीन युवा नेताले पार्टीको संकट समाधान गर्न अग्रसरता लिएका थिए । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक ठोष निर्णयबिना पटक पटक स्थगित भइरहेको बेला घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराईले पार्टीको अहिलेको चालु स्थायी कमिटी बैठकमा पार्टी र सरकार सञ्चालनको बारेमा छलफल नगर्ने गरी बाँकी एजेण्डामा सहमति गराउने प्रयास थालेका थिए । पोखरेलले शनिवारको भेटमा प्रचण्डलाई सो कुरा पनि स्मरण गराएको स्रोतले जनायो ।

साउन १३ मा बोलाइएको स्थायी बैठक अध्यक्ष केपी ओलीले एकतर्फीरुपमा स्थगित गरेपछि अहिले नेकपाभित्रको माहोल विग्रिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *