काठमाडौं । नेपालको राजनीतिमा चीनको भस्मिका बढेको आरोप लागिरहेका बेला विहिबार साँझ चिनिया राजदूत हो यान्छीलाई राष्ट्रपति विद्यादेवी भण्डारी आफैले बोलाएर छलफल गरेकी छिन् । नेकपाको आन्तरिक विवाद निकै उत्कर्षमा पुगेका बेला राजदूत यान्छीसंंग भण्डारीले छलफल गरेकी हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सत्तारुढ दल नेकपाभित्रको आन्तरिक रडाँकोमा चीनले गम्भीर चासो देखाउन थालेको र सो विषयमा राष्ट्रपति भण्डारीले उनलाई बोलाएर छलफल गरेकी हुन् । चिनीयाँ राजदुतकै दौडधुप नेकपा नेताहरुको दैलोसम्म पुग्ने गरेको भएपनि विहिबार भने राजदुत यान्छीलाई राष्ट्रपति विद्यादेवी भण्डारी आफैले बोलाएर छलफल गरेकी थिइन । राष्ट्रपति निवासबाट झण्डै ३ किलोमटिर मात्र दूरीको निवासमा रहेकी यान्छीलाई राष्ट्रपति भण्डारीले बेलुकी ९ बजेपछि शितल निवासमा बोलाएर भेट गरेकी हुन् ।
राष्ट्रपतिले बुधबार प्रधानमन्त्री केपी ओलीसँग पनि भेट गरेकी थिइन् । चिनियाँ राजदूत यान्छीले गत वैशाखमा नेकपाभित्र विवाद उत्कर्षमा पुग्दै गर्दा पनि आफनो तर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । अहिले पनि असार १६ यता नेकपाभित्रको विवाद फेरि बल्झिएपछि उनको दौडधुप शुरु भएको थियो । उनले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन लगायत नेताहरुसँगको भेटघाट एकचरणमा सक्काएर चुपचाप बसेकी थिइन् । यी सबै भेटघाटमा उनले नेकपाभित्रको विवादका विषयमा चासो ब्यक्त गरेकी थिइन् । त्यसपछि उनले सबैसँग छोडेको एउटै सन्देश थियो, नेकपा विभाजन हुनुहुन्न ।
प्रधानमन्त्री फेर्ने, राख्ने तपाईँहरुको आन्तरिक मामला भएपनि पार्टीनै विभाजन हुने स्थितिमा भने कुनै कदम नचाल्न राजदूत यान्छीले नेताहरुको ध्यानाकर्षण गराउँदै आएकी थिइन् । उनले नेकपा विभाजन भएमा त्यसले नेपालको ब्यवस्थाभित्र पनि संकट आईलाग्न सक्ने र त्यसको असर तिब्बत मामिलालाई लिएर नेपालमार्फत चीनलाई पनि असर गर्न सक्ने बुझाईमा नेकपा टुटफुटबाट जोगिनु पर्ने बुझाईमा छ । ओलीप्रति चीनले उदारभाव राखेको, ओलीलाई नै सत्तामा टिकाउन चाहेको भन्दा पनि पात्र परिवर्तनमा चीनको खास चासो नभएपनि पार्टी मात्र विभाजन नहोस् भन्नेमा नेताहरुलाई ध्यानाकर्षण गराउने काम चीनले गर्दै आएको चिनियाँ राजदुतले भेटेका नेकपाका नेताहरुले बताउदै आएका छन् ।
प्रधानमनत्री ओली बुधबार राती ८ बजे राष्ट्रपति भण्डारीसँग भेट गर्न पुगेका थिए । प्रधानमन्त्रीले राष्ट्रपतिसँग झण्डै १ घण्टा भेटेर फर्केपछि विहिबार राजदूत यान्छीलाई बोलाएर राष्ट्रपतिले भेट गरेपछि यसलाई सत्तारुढ राजनीतिमा अर्थपूर्ण रुपमा लिइएको छ ।




