काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको बेला वालुवाटारको सन्देश बोकेर सुवास नेम्वाङ खुमलटार पुगेका छन् । संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ खुमटार पुगेर वालुवाटारको सन्देश दिएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सघन संवाद, छलफल जारी रहँदा सचिवालयको चारजना सदस्यले अलग्गै पत्रकार भेला, जमघट आयोजना गरेपछि नेकपा फुटको सङ्घारमा पुगेको त होइन भन्ने प्रश्न खडा भएको बेला नेम्वाङ विहिबार विहानै खुमलटार प्रवेश गरेका हुन् । पार्टीभित्रको विवाद छरिएर सडकमा पुगेपछि अहिले पार्टी अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङ गोप्य भेटघाट गरेका थिए । उनीहरुबीच प्रचण्डको निवासको माथिल्लो कोठामा गम्भीर कुराकानी भएको पनि स्रोतले जानकारी दियो ।
बुधबारको परिघटनापछि नेकपा विवादले नयाँ मोड लिएको छ । संवादद्वारा नै समस्याको हल गर्ने, बाहिर केही नभन्ने समझदारी विपरीत प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मैदानमा उत्रिएपछि ओली समूह अलग्गै रणनीति बनाउन जुटेको बताइएको छ । ओलीइतर समूहले भेला, छलफललाई तलतलसम्म लगिसकेका छन् । कोरोना सहज भएका जिल्लामा त्यस्ता गुट–विचार समूहका नाममा हुने भेलाले तीव्रता पाएको छ । ओली समूहले पनि त्यस्तै समानान्तर भेला बैठकको तयारी गरिरहेको छ ।
मदन भण्डारी फाउन्डेसनको ब्यानरमा जवाफी भेलाको योजना बनाइरहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा अघिल्लो शनिबार त्यस्तै भेलाको आयोजना भयो । त्यसपछि प्रचण्ड नेपालले हिजो पार्टीको आन्तरिक विवादबारे पत्रकारलाई बोलाएर जानकारी गराएका हुन् ।




