राजनीति

नेकपाको आन्तरिक विवादः जबजले निम्त्यायो दाहाल नेपालबीचमा अन्तरसंघर्ष

काठमार्डौ । नेकपाभित्र पद र व्यक्ति केन्द्रित विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहालले बहुदलीय जनवादको विरोधमा बोलेर सिद्धान्तको फायर खोलेपछि पूर्व एमाले र पूर्व माओवादीवीच कित्ताकाट शुरु भएको छ। पुष्पलाल स्मृति दिवसको अवसरमा दाहालको फायरपछि नेकपाभित्रको कुर्सी र पदको विवादलाई सैद्धान्तिक लेपनतर्पm अग्रसर गराएको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा एमालेको जनताको बहुदलीय जनवाद ९जबज० र माओवादी केन्द्रको २१ औं शताब्दीको जनवादलाई मिलाएर जनताको जनवादका नाममा कार्यनीति बनाउने भन्ने विषय एकता महाधिवेशनमा टुंग्याउने सहमति थियो।

तर एकता महाधिवेशन नहुँदै अध्यक्ष दाहालले जबजको विरोध गरेपछि पार्टी एकताको सैद्धान्तिक आधार समाप्त भयो। दुई पार्टी एकीकरण गर्दा एकजना हस्ताक्षरकर्ताले नै पूर्व सहमितको विरोध गरेपछि पार्टी एकताको सैद्धान्तिक आधार समाप्त भएको हो। पार्टी एकतापछि हुने एकता महाधिवेशनको टुंगो नलाग्दै जबजको विरोध गर्नु दाहालको बाध्यता पनि हो।

नेकपाभित्रको अहिलेको विवाद प्रधानमन्त्री र अध्यक्षबाट केपी ओलीलाई हटाउनु नै हो। त्यसका लागि संसदीय दलमा बहुमत पुर्याउनुपर्छ। जहाँ दाहाल–नेपाल पक्षधरको बहुमत पुग्दैन। संसदीय दलमा राष्ट्रियसभा सदस्यसमेत गनिने भएकाले संसदीय दलमा ओलीको बहुमत छ।त्यसमाथि ओलीले प्रधानमन्त्रीको रुपमा भारतीय हेपाहा प्रवृत्तिको विरोध गरेका कारण उनको राष्ट्रिय छवि छ। पार्टीभित्रको अहिलेको विवाद व्यक्ति केन्द्रित हो।

दाहाललाई प्रधानमन्त्री चाहिएको छ भने माधव नेपाललाई अध्यक्ष वा आफू निकटका नेतालाई शक्तिशाली मन्त्री बनाउनु छ।यस्तो अवस्थामा जनताको दैनन्दिन जीवनका लागि तत्काल आवश्यक पर्ने काममा सरकारका तर्फबाट राम्रो नतिजा दिन नसके पनि प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रियताका पक्षमा लिएको अडानले मुलुकलाई दीर्घकालीनरुपमा असर पर्ने भएकाले अहिले ओलीको विरोध गर्दा कार्यकर्ता र जनतामा पनि पदका लागि विरोध गरे भन्ने सन्देश गएको छ।उनलाई आफ्नो पूर्व माओवादी समूहलाई जोगाइ राख्न पनि चुनौती भएको छ। यी सबै कुरालाई विचार गरेर दाहालले सिद्धान्तको फायर खोलेका हुन्। यो फायरले सबैभन्दा बढी घाटा माधव नेपाललाई भएको छ ।

तत्कालीन एमालेको पाचौं महाधिवेशनमा पार्टीको कार्यनीति जनताको बहुदलीय जनवाद वा जनताको नौलो जनवाद भन्ने विषयमा निकै लामो वहश भयो। अन्ततः जनताको बहुदलीय जनवाद ९जबज० लाई पाँचौं महाधिवेशनले पारित गर्यो। तत्कालीन महासचिव मदन भण्डारीको मृत्युपछि जबजको कार्यदिशालाई अंगीकार गर्दै माधव नेपालले लगातार १५ वर्षसम्म पार्टीमा एकछत्र राज गरे। त्यही जबजको नाममा उग्रबामपन्थीलाई प्रजातान्त्रिककरण गर्ने काम भयो।

आफ्नो जीवनको अधिकांश समय जबजलाई प्रयोगमा विताएका नेता नेपालले जबजको विरोध गर्ने दाहाललाई कसरी साथ देलान्? नेपाललाई ओलीको कार्यशैलीप्रति चित्त बुझेको छैन। तर जबजको विरोधमा दाहाललाई साथ दिन नेपाललाई मुस्किल परिरहेका बेला उनले पनि आफू जबजको पक्षधर भएको खुलसा गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *