काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको मुखमा पुगेको छ । यो कुरा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समेत स्वीकार्नुभएको छ । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको शैलीलाई लिएर पार्टीभित्र तीब्र विवाद भइरहेका बेला दाहालले पार्टी विभाजनको मुखैमा रहेको बताउनुभएको हो ।
आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको स्थायी कमिटी बैठक अध्यक्ष ओलीले दाहालसँग सल्लाह नै नगरी स्थगित गरिदिएपछि दाहाल–नेपाल पक्षीय भेलामा दाहालले पार्टी विभाजनकै मुखमा पुगेको बताउनुभएको हो ।
ओलीले स्थगित गरे पनि स्थायी कमिटी बैठक गरेरै देखाइदिने भन्दै भेला भएका दाहाल–नेपाल समूहका बहुमत स्थायी कमिटी सदस्यहरुलाई सम्बोधन गर्दै दाहालले धेरै उत्तेजनामा नआउन सम्झाउनुभएको थियो ।
दाहालको यो अभिव्यक्तिलाई शक्ति संचयका लागि दुई कदम पछाडि सरेको विश्लेषण गरिएको छ । सर्वशक्तिमान प्रधानमन्त्री ओलीले पार्टी छोडेर जानेहरुलाई बाटो खुला राखेका छन् । प्रधानमन्त्री ओलीको यो साइकोलोजी बुझेका अध्यक्ष दाहाल दुई कदम पछि हटेको बताइन्छ ।
अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दाहाल–नेपाल पक्षले दबाब दिइरहे पनि ओलीले भने आफूले राजीनामा दिने हो भने त्यही दिनबाट पार्टी एकता भंग हुने भन्दै परिणाम ब्यहोर्न खुल्ला चुनौति दिइरहनुभएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै कारण सरकार र पार्टी दुबै विफलता उन्मुख भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतले नेता ओलीलाई दुबै पदबाट हटाउन खोज्दा नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको हो ।




