काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुनःस्थगित भएको छ । पार्टीका दुई अध्यक्षबीच छलफल बाँकी रहेकाले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।
‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ थापाले फेसबुकमा लेखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे का लागि तय भएको बैठकलाई नियमति एजेण्डामा प्रवेश गराउने तयारी भएपछि ओली पक्षले दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेको जनाएर बैठक स्थगित गराएका हुन् ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतहरुसँग छलफल गरी बैठकलाई नियमित एजेण्डामा प्रवेश गराउने बताएका थिए । बैठक अघि दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एजेण्डाको विषयमा छलफल गर्ने भन्दै बैठक नै स्थगित गराएका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीको राजीनामा मागेको दाहाल–नेपाल समूह अब पार्टी बैठकबाट एक पद छाड्न निर्देशन दिने निष्कर्षमा पुगेपछि ओली त्यसको सामाना गर्ने पक्षमा भएपनि ओली समूह मंगलबारको बैठक आफ्ना धारणा राखेर टार्ने वा बैठक नै टार्ने पक्षमा रहेका थिए ।
सोमबार बिहान प्रचण्डनिवासमा भएको सचिवालयका चारसहित स्थायी कमिटीका केही सदस्यबीचको छलफलमा मंगलबारबाट चल्ने स्थायी कमिटी बैठकबाट ओलीलाई एक पद छाड्न निर्देशन दिने सहमति बनेको थियो । १० असारदेखि शुरू स्थायी कमिटी बैठकमा प्रचण्ड, माधवकुमार लगायतका केही नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपामा आन्तरिक विवाद बढेको थियो । पूर्वनिर्धारित अजेण्डाबाट बाहिर गएपछि बैठक पटक पटक स्थगित हुँदै आएको छ ।




