काठमाडौं । पार्टीभित्र चर्कोसँग प्रधानमन्त्री केपी ओलीको विरोध गर्ने माधव नेपाल समूहका प्रभावशाली नेपाल भीम रावललाई वालुवाटारले निम्तो दिएको छ । आफ्नै पार्टीभित्रका नेता भीम रावलको नाम सुन्ने बित्तिकै टाउको दुखाउने ओलीले साउन महिनामा दुई पटक रावललाई बोलाएर वालुवाटारमा भेटघाट गरेका थिए । रावलले ओलीको पार्टी र सरकार सञ्चालनमा खरो आलोचना गर्दै आएपछि उनलाई फकाउन वालुवाटारले बोलाएको हो । । साना साना सरकारका कमजोरीमा पनि तथ्यसहित खरो बहस र आलोचनामा उत्रन सक्ने रावल ओलीका लागि कसिंगार जस्तै भैसकेका छन् ।
त्यसमाथी अमेरिकी विकास र सहयोग सम्बन्धी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा रावलले लिएको अडानले ओलीको योजनामा करिव व्रेक नै लागेको थियो । एमसीसीलाई पार्टीभित्रकै रावल, देव गुरुड र लिलामणि पोखरेल कै कारण निक्कै बहसमा पुगेको थियो । सट्कसुटुक्क एमसीसी पारित गर्ने ओलीको योजना त्यसैकारण व्रेक लागेको थियो ।
रावल लगायत नेताहरुले नै एमसीसीलाई राष्टव्यापी बहसमा लाने काम गरे । जुन ओलीका लागि पाच्य थिएन । जसकाकारण ओली र उनको सचिवालयका नेताहरु भीम रावलमाथी खनिन थालेका थिए । त्यही बीच रावल लगायत नेकपाका २० जना स्थायी समिति सदस्यले ओलीको कार्यशैली र उनले गत वैशाख ८ गते अगाडी ल्याएको अध्यादेश प्रकरणमा छलफलका लागि पार्टी स्थायी समिति बैठक बोलाउन माग गरेका थिए ।
त्यही माग अनुसारकै गत १० असारबाट शुरु भएको बैठक अहिले सम्म पनि नेकपाभित्र जारी छ । कुन विन्दुमा पुगेर यो बैठकले पूर्णविराम लगाउला भन्ने कुनै नेताले बताउन सकिरहेका छैनन् । यही बेला रावलले प्रधानमन्त्री ओलीको आलोचनामा २९ बुँदे आरोपसहितको १३ पृष्ठ लामो प्रतिवेदन नै तयार पारेर ओलीको राजीनामा माग गर्ने कुरा २० स्थायी समिति सदस्यको छलफलमा प्रस्तुत गरेका थिए । त्यसलाई मात्रिका यादव लगायत नेताहरुले साथ दिएका थिए । ओलीका खरो आलोचक देखिएका रावललाई समेत ओलीले अहिले फकाउन वालुवाटारमा बोलाएर झण्डै दुई घण्टा छलफल गरेका थिए ।
यस अगाडी पनि पार्टी बैठकका क्रममा रावलसँग छुट्टै छलफल गर्ने बताएका थिए, बालुवाटार रावललाई मात्र होइन, पछिल्ला दिनमा ओलीले सुरेन्द्र पाण्डे, वर्षमान पुन, घनश्याम भुषाल, योगेश भट्टराई लगायतका नेतालाई पनि छुट्टाछुट्टै बोलाएर छलफल गरेका छन् । रावलसँगको छलफलमा भने प्रधानमन्त्रीले विगतको स्मरण गराउदै आफुलाई सहयोग गर्न आग्रह गरेको बालुवाटार स्रोतले बतायो ।
रावलको विद्यार्थी राजनीति देखिका प्रसंग उप्काउदै प्रधानमन्त्री ओलीले नेताहरु जुँधेर होइन, मिलेरै अगाडी बढ्नुपर्ने र लेनदेन एकोहोरो नभई दोहोरो हुने र आफु जुनकुनै मन्त्रालय रोजेर रावललाई दिन तयार रहेको पनि बताएका थिए ।एकोहोरो सम्वाद गरेका प्रधानमन्त्रीले रावललाई आफ्नो कुरा सुनाएर फेरी दुई नेता बसेर अझै छलफल गर्ने बताएर फर्काएका छन् ।




