काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरू दाहाल निवास खुमलटारमा जम्मा भएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु पनि वालुवाटारमा भने भएका छन् ।
स्थायी कमिटी बैठकको रणनीति तय गर्न अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीइतरका स्थायी कमिटी सदस्यहरू प्रचण्ड निवासमा भेला भएका हुन्। पार्टीभित्र देखिएको गतिरोधको निकासका विषयमा छलफल गर्न आफूहरू भेला भएको प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले बताए ।
उता वालुवाटारमा पनि स्थायी कमिटीको बैठकमा दाहाल नेपालले समूहलाई कसरी प्रतिकार गर्ने भन्ने बारेमा छलफल भैरहेको छ । गएको १० असारबाट शुरू भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक अवरुद्ध हुँदै आएको छ। बैठक भोलि बिहान ११ बजेका लागि तय भएको छ। स्थायी कमिटी बैठक चलिरहेकै बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजीनामाको विषय प्रवेश भएपछि नेकपाभित्र विवाद चर्किएको छ। दुई अध्यक्षबीच चरण चरणमा छलफल भएपनि ठोस निकास निक्लिएको छैन।
नेताहरूले सार्वजनिक मञ्चबाटै एकअर्काविरुद्ध अभिव्यक्ति दिएपछि विवाद झन् चर्किएको छ। दाहाल–नेपाल समूह अध्यक्ष ओलीलाई दुवै पदबाट हटाउन चाहान्छन् भने ओली कुनैपनि हालतमा राजनीनामा नदिने अडानमा छन्। ओलीले दुवै पदबाट राजिनामा नदिने भएपछि दाहाल नेपालले कस्तो रणनीति लिएर अघि बढ्ने भन्नेबारेमा छलफल गरिरहेका बेला ओलीले पनि वालुवाटरमा सुवास नेम्वांग सहितको टोलीसँग छलफल गरिरहका छन् ।
बालुवाटारमा नेम्वाङ् अतिरिक्त केही मन्त्री र सांसदहरु तथा स्थायी कमिटी सदस्यहरु सहभागी रहेको स्रोतले जनाएको छ । नेकपाभित्रैबाट राजीनाका लागि परेको दबाब एक महिनाको अवधिमा केही समय मत्थर भए पनि पछिल्ला केही दिनयता फेरि सशक्त बन्न थालेको छ। पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले ओलीलाई जसरी पनि प्रधानमन्त्री पदबाट बहिर्गमन गराउने रणनीतिका साथ अघि बढेको उनीहरु निकट दोस्रो तहका नेताहरु बताउँछन्।
दाहाल नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ भने पनि कम्तिमा प्रधानमन्त्री पदबाट छाड्नै पर्ने बाध्यकारी अवस्था आउने नेपाल निकट एक नेताले बताए। सहमतिबाट नभए बहुमतबाट निर्णय गरेर ओलीलाई हटाउने तयारीका साथ दाहाल नेपाल अघि बढेका छन्।




