राजनीति

दाहाल–नेपालको अभिव्यक्तिले नेकपा विभाजनको संकट नटरेको संकेत

काठमाडौं । आन्तरिक विवादमा फसेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अर्का अध्यक्ष केपी ओलीकै कारण पार्टी संकटमा परेको बताएका छन् । पार्टी कार्यकर्ताको माझमा भएको एक सार्वजनिक कार्यक्रममा दुवै नेताहरुले पार्टीमा विवाद र संकट उत्पन्न गराउने एक व्यक्ति ओली भएको र उनको अहं र दम्भले पार्टीलाई संकटमा पुर्याएको दावी गरेका छन् ।

शुक्रबार पुष्पलाल मित्रता केन्द्र र नेकपाका संस्थापन नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा कार्यकारी अध्यक्ष र नेता नेपालले पार्टीभित्र कुनै पनि संकट छैन ठिकठाक छ भन्नु सान्दर्भिक नभएको र पार्टीभित्र संकट भएकाले बहुमतको निर्णय मान्दिनँ भन्ने अधिकार कसैलाई पनि नहुने बताएका छन् ।

वरिष्ठ नेता नेपालले तीन तहको सरकारमा नेकपा भएपनि जनताका चाहना अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि जनाए

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति लक्षित गर्दै कार्यकारी अध्यक्ष दाहालले ओलीकै पहलमा बैठक चलिरहेका बेला एमाले नामको पार्टी दर्ता गरेको दावी गरेका थिए । उनले प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्षको पहलमा एमाल नामको पार्टी दर्ता भएको छ, जनवादका कुरा उठेका छन् जबकि महाधिवेशनको बारेमा सामान्य छलफल पनि भएको छैन भन्दै उनले पार्टीभित्र उत्पन्न परिस्थितिले पार्टी एक भए नभएको केही अर्थ नभएको जस्ता आभाष हुने बताएका छन् ।

नेता नेपालले पनि ओलीकै कारण कम्युनिष्ट आन्दोलनलाई नै निराशाजनक अवस्थामा पु¥याएको आरोप लगाए ।पार्टीभित्र बहुमत स्थायी समिति सदस्यले प्रधानमन्त्रीबाट ओलीलाई राजीनामा दिन माग गरेको प्रसंगतर्फ संकेत गर्दै नेपालले भने, ‘पार्टीमा बहुमतको निर्णय नै सर्वोपरी हुन्छ भनेर हामीले स्वीकार गरेका छौं। बहुमतको निर्णय मान्दिन भनेर भन्ने कसैले भन्न पाउँदैन ।’ अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल पक्षले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन भने पनि ओलीले अस्वीकार गर्दै आएका छन्। कार्यक्रमाम नेपालले ओलीको कार्यशैलीको खुलेर आलोचना गरेका छन् ।

‘विधिबाट पार्टी चल्यो भने सबै प्रक्रियामा जान्छ। म नै राज्य हुँ भन्ने ठानियो भने, आफूबाहेक अरु केही होइन भन्ने ठानियो भने त्यस्तो अवस्थामा व्यक्ति र प्रवृत्तिको पतन बाहेक अर्को केही पनि हुँदैन। त्यस्तो विचार प्रवृत्तिमा हामी चुर्लुम्म डुबेका छौं भने त्यसबाट उम्किउँ, बेलैमा सचेत होऔँ। तर समय ढिलो हुन लागिसकेको छ,’ नेता नेपालले भने । वरिष्ठ नेता नेपालले तीन तहको सरकारमा नेकपा भएपनि जनताका चाहना अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि जनाए । चुनावका बेला जनता समक्ष गरेका प्रतिवद्धताहरुको समिक्षा गर्न ढिलो भइसकेको उनको भनाइ थियो।

कार्यक्रममा नेपालले भने, ‘जनताको समस्याका सुनिरहेका छौ कि छैनौं। जनताको समस्या समाधानका लागि पार्टीका निकायहरु सक्रिय भएका छन् कि छैनन? भन्ने अवस्था समिक्षा गर्नुपर्ने बेला भएको छ। तर हामी समिक्षा छलफलबाट भागिरहेका त छैनौं ? आफूले जे सोचेको छ त्यही मात्र सही हो भनेर अरुमा थुपार्न चाहिँ रहेका त छैनौं ?’ नेपालले आफ्नो अनुभवलाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि पनि जनाए । पार्टीभित्रको तिब्र विवादको वीचमा दुई नेताबाट आएको यस्तो अभिव्यक्तिले पार्टीमा विभाजनको संकट नटरेको संकेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *