राजनीति

संक्रमण रोक्ने सरकारको तयारी शून्य : कांग्रेस

काठमाडौं । लकडाउन अवधिभर कोरोना संक्रमणको महामारी नियन्त्रण गर्न सरकारले कुनै ध्यान नदिएको आरोप नेपाली कांग्रेसले लगाएको छ । नेपाली कांग्रेस कोभिड–१९ अनुगमनका संयोजक तथा सहमहामन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत् यस्तो आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा संयोजक तथा सहमहामन्त्री डा. महतले भने, ‘सरकारले १ सय २० दिन लामो लकडाउन र सेमी लकडाउनको अवस्थालाई अन्त्य गरी श्रावण ७ गते लकडाउन खोल्ने निर्णय गरेको छ । मुलुकको अर्थतन्त्र, व्यवसाय, जनजीवनलाई सुचारु बनाउन आवश्यक भए पनि लकडाउन खुलाएपछि जनजीवनलाई व्यवस्थित, स्वास्थ्य सजगता र सुरक्षाका उपाय अबलम्बन गरेर मात्र नागरिक जीवनलाई सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा नेपाली कांग्रेसले सरकारलाई पटक–पटक सजग गराउँदै आएको थियो ।’

लकडाउनका कारण नेपालको आर्थिक, सामाजिक क्षेत्रमा देखिएको समस्याहरु कम गर्न यसले सहज गर्छ भन्ने कोणबाट आम जनजीवनले राहत महसुस गरे पनि बढ्दो संक्रमणको बीचमा खोलिएको लकडाउनले संक्रमणको विस्तार हुनसक्ने थप जोखिमतर्फ नेपाली कांग्रेसको गम्भीर चासो र चिन्ता रहेको पत्रकार सम्मेलनमा डा. महतले भने, ‘सरकारले लकडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सुचारु गर्ने तर्फ पर्याप्त ध्यान दिएन । अहिले लकडाउन खोल्दा पनि सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको छ । यसले नागरिक जीवनलाई थप असुरक्षित बनाउने जोखिम बढेको छ ।’

पत्रकार सम्मेलनमा सहमहामन्त्री डा. महतले भने, ‘मूलभूत रुपमा सरकारका हरेक निर्णयहरु हठात र तयारीरहित देखिन्छन् । लकडाउनको लामो अवधि विना तयारी र विना उपलब्धि नै सरकारले सकायो । अहिले लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमण रोक्ने सरकारको तयारी शून्य देखिन्छ । लकडाउन खोल्ने निर्णय गरी राख्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातहरुमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन छ ।’

सरकारको लकडाउन खोल्ने निर्णय पूर्व तयारीका साथ गरेको नभएर राजश्व बढाउने तथा राज्यले निर्वाह गर्नु पर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको देखिन्छ, सहमहामन्त्री डा. महतले भने, ‘कांग्रेस चाहन्छ, आर्थिक–सामाजिक जीवन सहज होस र आर्थिक गतिविधि बढोस् तर साथसाथै संक्रमणको जोखिम घटोस् ।’

कांग्रेसले ५ वटा बुँदामा सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
१. संक्रमणको क्रम नघटेको, वीरगञ्ज, राजविराज लगायतका ठाँउहरुमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको छ । यस्तो अवस्थामा परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक छ ।

२. लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरुमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरु पिपीई (मास्क, स्यानीटाइजर, सावुन पानी लगायत) को प्रयोग र भौतिक दुरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारी तर्फ सरकार गम्भीर देखिएन ।

३. नेपाली कांग्रेसको पटक–पटकको ध्यानाकर्षणको वावजुद होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुरुप संचालन गर्ने र परिक्षणको दायरा फराकिलो पार्नु पर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ लिएन । उल्टो परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ ।

४. सरकारले मुलुकमा उद्योगधन्दा र खासगरी साना, मभ्mयौला र अनौपचारिक क्षेत्रका व्यवसायमा कोभिड–१९ ले सिर्जना गरेका समस्या समाधानमा केही नीतिगत घोषणा बाहेक बन्द उद्योग व्यवसायलाई सहज रुपमा खुलाउन कुनै सार्थक पहल गरेको छैन । अहिलेकै जस्तो अव्यवस्थित र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानीबिनै उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्नेतर्पm सरकारको पटक्कै ध्यान गएको छैन ।

५. लकडाउन खोल्ने निर्णय गरेपछि आम नागरिकहरुलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने र कार्यान्वयन सुनिश्चितता तर्फ सरकारले गम्भीर गृहकार्य गरेको देखिएन । हामी यसप्रति सम्पूर्ण तयारी गर्न र असंवेदनशील र हचुवाशैलीमा काम नगर्न सरकारलाई खबरदारी गर्दछौं ।

पार्टीका सदस्य, शुभचिन्तक, समर्थक र आम नेपाली दिदीबहिनी–दाजुभाइहरुलाई संक्रमण जोखिमप्रति सचेत भई भौतिक दुरी र मास्क लगायतका स्वास्थ्य सुरक्षाका उपायहरुलाई आफू पनि अपनाउने र अरुलाई पनि अपनाउन प्रेरित गर्न नेपाली कांग्रेसले अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *