काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले ओलम्पिमा सहभागी हुने खेलाडीहरुको कोरोना बिमा गरिदिने घोषणा गरेका छन । पूर्व सञ्चारमन्त्री समेत रहेका खेलकुद विभाग प्रमुख बस्नेतले टोकियो ओलम्पिक २०२१ मा नेपालको तर्फबाट सहभागी हुने सम्पूर्ण खेलाडी र प्रशिक्षकहरुको कोरोना विमा गरिदिने घोषणा गरेका हुन ।
खेलकुद विभागको नेतृत्व पाए लगत्तै नेता बस्नेत देशव्यापी विभागमार्फत खेलकुद सञ्चालन गर्ने तयारीमा जुटेको बताउछन । विभाग प्रमुख बस्नेतले वीपी जयन्तीको अवसर पारेर १३ बुँदे खेलकुद विभागका निर्णय सार्वजनिक गरेकाे पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । बस्नेत विभागका गतिविधिलाई औपचारिक रुपमा अघि बढाउने पहिलो व्यक्ति हुन ।
यस्ता छन खेलकुद विभागका १३ निर्णय :
– बैठकले कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई खेलकुद विभाग प्रमुख बनाइ अन्य पदाधिकारी र सदस्यहरुको समेत मनोनय गरेकोमा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिप्रति आभार प्रकट गरेको छ ।
– खेलकुद क्षेत्रको वृहत्तर विकासलाई ध्यानमा राखेर गत १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेतालाई यथाशीघ्र कार्यक्रम गरी नगदसहित सम्मान गर्ने बैठकले निर्णय गरेको छ ।
– टोकियो ओलम्पिक २०२१ मा नेपालको तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकको कारोना विमा गरिदिने बैठकले निर्णय गरेको छ । यसका साथै २०२१ को ओलम्पिक खेलको तयारी र सहभागिता सम्बन्धमा तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुको खेल सहभागिताका लागि गरिने तयारी कोरोनाको सुरक्षा र सावधानी अपनाउँदै प्रशिक्षक सञ्चालन गर्न माग गरेको छ ।
– नेपाली कांगे्रस केन्द्रीय सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरको सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।
– यस्तै नेपाल लोकतान्त्रिक खेलकुद संघले केन्द्रीय कार्यसमितिमा पारित गर्न पेश गरेको विधानलाई आवश्यक कारबाही गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
– नेपाली कांगे्रससँग आबद्ध खेलाडी र खेल क्षेत्रका संघसंस्थाहरुलाई कोराना भाइरस र प्राकृतिक विपत्तिबाट नेपाली दिदी बहिनी, दाजुभाइलाई जोगाउन सहयोग पुग्ने कार्यका लागि परिचालन गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा विभाग प्रमुख बस्नेतले जानकारी दिए ।
– खेल क्षेत्रमा नयाँ प्रतिभा जन्माउन र भएकालाई क्रियाशील गराउन विभिन्न विधाका खेलका प्रशिक्षकको व्यवस्था गरी क्रमशः वडा तहसम्म खेलकुद गतिविधि सञ्चालन गर्ने वातावरण मिलाइ दिने बैठकले निर्णय गरेको छ । यस्तै नेपाल लोकतान्त्रिक खेलकुद आन्दोलनको इतिहासमा नेपाली जनता र राष्ट्रको पक्षमा रगत र पसिना बगाएका प्रजातन्त्रवादी स्वर्गीय नेताहरुको सम्मानमा राष्ट्रियस्तरीय, प्रादेशिकस्तरीय र स्थानीयस्तरी विभिन्न विधाका हरेक वर्ष खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको छ ।
– वीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि, मंगलादेवी सिंह, शैलजा आचार्य, धनमानसिंह परियार, खुमबहादुर खड्का, शेख इन्द्रिस, बलबहादुर राई, बखानसिंह गुरुङ, योगेन्द्रमान शेरचन, भीमबहादुर तामाङ, राधाकृष्ण चौधरी, श्रीमति द्वारिकादेवी ठकुरानी, भूविक्रम नेम्वाङ, सहिद लखन थापामगरको नाममा प्रतियोगिता सञ्चालन गरिने बैठकले निर्णय गरेको छ ।
– राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीको १३ वर्षदेखि २४ वर्षसम्म सेवा अवधि पार गरेका कर्मचारीको पदोन्नति नगरी कर्मचारीको वृत्ति विकासमा आँच पु¥याएका हुनाले उनीहरुको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरेको छ । यस्तै नेपालको संविधानको भावना र मर्मविपरित ओलम्पिक कमिटीले विदेशीहरुको सहायता लिँदा सरकारको स्वीकृति लिनुनपर्ने जुन ऐन ल्याएको छ, त्यसको खारेजीको माग गर्ने निर्णय गरेको छ ।
– यस्तै नेपालमा भएको १३ औं साग खेल र नेपालगन्जमा भएको ८ औं वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको खर्चहरुको हिसाब पारदर्शी गर्न माग गर्ने निर्णय गरेको छ भने नेपाल ओलम्पिक कमिटी र भारतीय टिभी च्यानलहरुबीच भएको १३ औं सागका गतिविधि प्रशारणसम्बन्धी भएको करोडौं रुपैयाँको सम्झौता भएको रकमको हिसाब किताब सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको छ । यस्तै खेलकुद संघ दर्तासम्बन्धी अव्यवहारिक र पक्षपातपूर्ण व्यवहार सच्चाउनुपर्ने अव्यवहारिक सम्बन्धको झन्झन्ट खारेज गर्नुपर्ने माग गर्ने बैठकले निर्णय गरेको छ ।
कोरोना महामारी नियन्त्रणमा अविश्रान्त योगदान गरेका पूर्वमन्त्री बस्नेतले यस अघि सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको कोरोना विमा गरिदिएका छन । यसै गरी बस्नेतले सिन्धुपाल्चोक कांग्रेसका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ताको कोरोना बिमा गरिदिएका छन । नेता बस्नेले केन्द्रीय कार्यालयमा कार्यरत २५ जना कर्मचारीको कोरोना बिमा गरिदिएको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।




