काठमाडौं।सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादले नयाँ मोड लिइरहेका बेला माधव नेपालले समूहले पुष्पकमल दाहाल प्रचण्डबाट धोका पाएको महशुस गरेको छ । निरन्तर स्थायी कमिटीको बैठक स्थगित हुँदै आएपछि विषय परपर धकेलिने क्रम नरोकिएको र प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग खुसस्क सम्झौता गर्न थालेको आशंकासहित नेपाल समूहले धोका महशुस गरहेको हो ।
प्रधानमन्त्री ओलीलाई स्थायी समिति बैठक धकेलिदै जादा हाइसन्चो भएको छ । उनको राजीनामा मागेका प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुमा पनि एक आपसमा शंका आशंकाले डेरा जमाएको छ । यही बीच १३ साउनसम्म मंगलबार स्थायी समिति बैठक स्थगित गर्ने निर्णय भएपछि वरिष्ठ नेता माधव नेपाल समुहका नेताहरुको कोटेश्वरमा गोप्य बैठक बसेको छ । नेपालको कोटेश्वर निवास नजिकै रहेको वन पैदावार समितिको कार्यालयमा अबेर साँझ चार घण्टा सम्म नेपाल निकट स्थायी समितिका नेताहरुको बैठक बसेको थियो ।
पर्यटनमन्त्री योगेश भट्टराई मात्र अनुपस्थित रहेको नेपाल पक्षिय भेलामा अन्य नेपाल सहित १२ जना स्थायी समिति सदस्यहरुको सहभागिता रहेको स्रोतले जनाएको छ । पार्टी विवाद उत्र्कषमा पुग्दै गर्दा गत शनिबार प्रधानमन्त्री केपी ओलीले पार्टी सचिवालय बैठकमा एक्कासी अर्ली महाधिवेशनको प्रस्ताव ल्याउनु र त्यसैमा प्रचण्डले मौन समर्थन जनाएको घटनामा संशकित भएको नेपाल समुहले अब आफ्नो समुहको रणनीतिक कदम के बनाउने भन्ने विषयमा त्यहाँ गहिरो छलफल गरेको सहभागीले भने । उक्त समुहले अध्यक्ष प्रचण्डले अब कुन स्टेप चाल्छन्, त्यसैका आधारमा प्रचण्डसँगको गठबन्धन रहने या स्वतन्त्र गठबन्धन लैजाने भन्नेमा निश्कर्ष निकाल्ने पनि समझदारी बनाएका छन् । अहिले प्रचण्डलाई पनि शंका र लाभ दुबै दृष्टिकोणले हेर्ने निश्कर्ष पनि उक्त बैठकले निकालेको ति नेताले बताए । प्रधानमन्त्री ओलीले नजानेर होइन, जानेरै सरकार र पार्टीलाई मनमौजी रुपमा चलाउदै आएको र त्यसरी सरकार र पार्टी सञ्चालनले समस्या निम्त्याउने भन्दै नेपाल पक्षका नेताहरु अझै पनि ओलीको राजीनामाकै पक्षमा दृढतापूर्वक उभिने निश्कर्षमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीसँगको यो संर्घषमा प्रचण्ड र उनी पक्षिय नेताहरुले कस्तो स्टेप चाल्छन्, त्यसैका आधारमा सहयोग गर्ने नगर्ने निधो हुने ति नेताको भनाई छ । तर अहिलेलाई पार्टीको महाधिवशेन अघि सम्म प्रचण्डलाई नै साथ दिएर जाने निश्र्कष पनि नेपाल पक्षिय नेताहरुको भेलाले निकालेका छन् । सहभागीहरुले प्रचण्डजीले नै धोका दिएपनि महाधिवेशन अघि सम्म हामी उहाँलाई धोका नदिऔ त्यसपछि हेरौला भन्ने धारणा राखेका थिए । नेपाल पक्षले प्रचण्ड, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सामुहिक पहलमा पार्टीभित्र प्रधानमन्त्री ओलीको मनमौजी र स्वेच्छाचारिताको आवाज उठेको र त्यसलाई बीचमै कुनै नेताले छोडेमा पार्टी इतिहासमा त्यसले गम्भिर संकट ल्याउन सक्ने भएकाले अन्तिम सम्म पार्टीभित्रका खराबीको सामना गरेरै जानुपर्नेमा अडिग हुनुपर्ने निश्र्कष नेपाल पक्षका नेताहरुले निकालेका छन् ।
ओलीले कमजोरी नै स्वीकार नगर्ने, आत्मआलोचना नै गर्न नचाहने हठले पनि पार्टीलाई आगामी चुनावमा गम्भीर धक्का लाग्न सक्ने तर्फ नेपाल पक्षका नेताहरुले सचेत हुनुपर्ने बताएका छन् । ‘पार्टी कुनै एक जना ब्यक्तीको मात्र होइन, यसमा हामी सबै नेता कार्यकर्ताको योगदान परेको छ, त्यस्तो पार्टीलाई एउटै ब्यक्तिका कारण सखाप हुने बाटोमा जान दिनुहुदैन’, नेपाल पक्षका स्थायी समिति सदस्यले भने, ‘पार्टीलाई जोगाउन सबै मिलेर जानुपर्छ ।’ नेपाल निकट नेताहरुले महाधिवशेनमा आफनो पक्षको फरक धारणा र वैचारिक राजनीतिक सोच भएपनि अहिले महाधिवशेनसम्म प्रचण्ड आफुहरुसँगै ओलीको स्वेच्छाचारिता विरुद्द लडेर जान खोजे साथ दिएरै जाने निश्कर्ष निकालेका हुन् ।




