ताजा समाचार

राज्यका आधुनिक अङ्ग संस्थागत गर्न वीपीकाे  महत्वपूर्ण योगदान : उपसभापति निधि

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आधुनिक राज्य निर्माणमा संस्थागत संरचनाको स्थापना गरेकाे बताएका छन  ।

काँग्रेसका संस्थापक नेता बिपीको ३८ औँ स्मृति दिवसका अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिकाले मङ्गलबार राति जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रममा उनले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाजस्ता राज्यका आधुनिक अङ्ग संस्थागत गर्न पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाले महत्वपूर्ण योगदान गर्नुभएको बताए ।

पृथ्वीनारायण शाहले भौगोलिकरुपमा गर्नुभएको एकीकरणलाई आधुनिक राज्यका अङ्ग लोकसेवा आयोग लगायतका संवैधानिक संरचनाको निर्माणमा पनि बिपीको भूमिका रहेको नेता निधिले स्मरण गरे । बिपीले भित्र्याउनुभएको राजनीतिक विचार राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधार भूमिमै संविधानसभाबाट संविधान जारी भएको उनको भनाइ थियो ।

काँग्रेस जनसम्पर्क समिति विभाग प्रमुख गोविन्द भट्टराईले सगरमाथाको सीमा विवाद भइरहेका बेला पहिलो जननिर्वाचित प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणका बेला बिपीले त्यहाँका तत्कालीन राष्ट्रपति माओत्सेतुङ र प्रधानमन्त्री चाउएनलाइसँग कूटनीतिक वार्ताकै माध्यमबाट समस्या समाधान गरेको सन्दर्भ अहिले भारतसँगको सीमा विवाद समाधानमा पनि उपयोगी हुने बताए।

योजना आयोगका कार्यालयमा राजा, प्रधानमन्त्रीसँगै हलो जोतिरहेको किसानको तस्वीर राखेर बिपीले निम्नवर्गलाई ध्यानमा राखी विकास निर्माणका योजना बनाउनसमेत प्रेरित गर्नुभएको उनले स्मरण गरे । जनसम्पर्क समितिका सभापति आनन्द विष्ट, महासचिव मुनिन्द्र नेम्वाङलगायतले लोकतन्त्र बिना राष्ट्रियता सुदृढ नहुने विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेकामा जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *