काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहालले बोलाएको आफू पक्षीय स्थायी कमिटी सदस्यको भेलामा गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट अनुपस्थित भएपछि उनीहरुले प्रचण्डका साथ छाडेको चर्चा चलेको छ ।
दाहालले सोमबार विहान आफू पक्षीय स्थायी कमिटी सदस्यलाई छलफलका लागि खुमलटार बोलाएका थिए। उक्त छलफलमा थापा र भट्ट भने अपुस्थित रहेका छन्। अन्य स्थायी कमिटी सदस्य भने उक्त छलफलमा सहभागी भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। पछिल्लो समय दाहाल निकट स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीलाई साथ दिन थालेपछि दाहालले आफू पक्षीय सदस्यलाई एकजुट बनाउन छलफलको आयोजना गरेका हुन्। तर थापा र भट्ट भने अनुपस्थित हुँदा दाहालको साथ छोडेको चर्चा भएको छ । यसअघि पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले आफू निकट मन्त्रिपरिषदका सदस्य र स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका हुन् ।
स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । उनले स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए । त्यसको अतिरिक्त दाहालले पनि आफूनिकटका नेताहरुसँग छलफल अघि बढाएका छन् । अर्का अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । प्रचण्डले यसमा सहमति जनाएको चर्चा चलेपछि उनीनिकट स्थायी कमिटी सदस्यहरू असन्तुष्ट रहेको बताइन्छ ।‘ओलीसँग सहमति भएको भनिएको विषयमा केही साथीले संशययुक्त प्रश्न उठाएपछि उहाँ छलफलका लागि डाक्नुभएको हो’, छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यले भने । बैठकमा गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्टसहित केही स्थायी कमिटी सदस्य अनुपस्थित छन् ।
स्थायी कमिटी सदस्य दीनानाथ शर्माले आफूलाई खबर नभएकाले खुमलटार नगएको बताए । ‘टोपबहादुरजी, मणि थापाजीहरू जानुभएको हो, मलाई खबर थिएन र गइनँ’, उनले भने । अहिले पूर्वमाओवादीका कतिपय नेता प्रचण्डको पक्षमा छैनन् । उनीहरूमध्ये केही ओली खेमामा लागेका छन् भने कतिपय वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा उभिएका छन् ।




